निकुञ्जका कर्मचारीको मनपरी

खुमेश सुवेदी

बर्दिया/बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धाराको अम्रेनी देखि कर्णालि चिसापनि सम्म आवत, जावत गर्नेहरुलाई टाईम कार्ड दिने गरिन्छ । सवारी साधनको गति ४० कि.मि प्रति घण्टा हुनुपर्ने व्यवस्था छ त्यसको अर्थ सवारी साधनको गति नियन्त्रण गर्नु र निकुञ्ज भित्र रहेका जनावरहरुलाई सुरक्षित राख्नु हो ।

निकुञ्ज भित्र सवारी साधनको गति मापन गर्नका निम्ति राडर स्पिड गन (Rader Speed Gun) को प्रयोग गरिन्छ । निकुञ्जमा नेपाली सेना र निकुञ्जका कर्मचारीले कुनैपनि समयमा छडके चेकजाँच गर्न सक्छन् र प्रतिघण्टा ४० कि.मि. भन्दा बढि गति भएको खण्डमा कारबाही स्वरुप जरिवाना गर्ने नियम राष्ट्रिय निकुञ्जले लगाएको छ ।

पौष २ गते कर्णाली देखि अमे्रनी फर्कने क्रममा हामीले टाईम कार्ड लिएका थियौं, उक्त कार्डमा अर्को ट्रकको पनि नम्बर राखिएको थियो । हामी पछाडी र सो ट्रक अगाडि थियो, चेकपोष्टको नजिकै पुग्ने क्रममा सो ट्रकले हामीलाई टाईम कार्ड लिएर अगाडि जाने ईसारा दिएपछि, टाईम कार्ड लिएकै कारणले हामी उक्त गाडिलाई ओभरटेक गर्नको लागि केही गति बढायौ सोहि क्रममा निकुञ्जका कर्मचारी र नेपाली सेनाको टिमले राडर स्पिड गन लिएर हाम्रो स्पिड जाँच गर्याे । हाम्रो स्पिड ५५ कि.मि. प्रतिघण्टाको गतिमा रहेछ, हामीलाई राडर स्पिड गनमा हाम्रो स्पिड देखाईयो र हामिलाई दिएको कार्डको पछाडि स्पिड र दुईवटा गाडिको नम्बर उल्लेख गरियो र अगाडि बढ्न भनियो ।

हामीले नियमको उल्लंघन गरेका थियौं त्यसैले हामीलाई कारबाही हुन्छ भन्ने कुरामा हामि विश्वस्त थियौ । जब चेकपोष्टमा पुग्यौं तब जरिवाना तिर्नको लागि निकुञ्जको कार्यालय तिर पठाईयो तर सोहि क्रममा कारबाहीमा परेको अर्को ट्रक उ त्यो हो भन्दा भन्दै सुटुक्क उक्त चेकपोेष्टबाट बाहिरियो । त्यहाँ डियुटिमा रहेका नेपाली सेनाका जवानले उसलाई हामी सैनवारको चेकपोष्टमा समात्छौं । तपाईहरु जरिवाना तिर्नुस् र जानुस् भने । रोचक कुरा त के भने हामी कार्यालय तिर लाग्यौं, हामीलाई कति जरिवाना तिर्नु पर्छ भन्ने कुरामा अनभिज्ञ थियौं ।

कार्यालयमा महिला कर्मचारी थिईन, हामीले कार्ड दिएपछि हामीलाई जरिवाना स्वरुप दुई हजार मागियो । उनी हरेक गाडिको दुई हजारको दरले हो भन्दै मनोमानि ढंगले जरिवाना माग्दै थिईन् । हामीले यति धेरै जरिवाना हुनै सक्दैन भनेर प्रतिवाद गरेपछि उनले पुनः हामीलाई एक हजार पाँच सय मागिन्, उनी हामीसंग बार्गेनिङ गर्दै थिईन् । हामीले उनलाई शुल्क निर्धारण कसरी भएको छ त्यसको कार्यविधि देखाउनुस् यदि कार्यविधिमा उल्लेख गरेको छ भने हामी रु दुई हजारनै जरिवाना तिर्न तयार छौं भनेर भन्यौं । उनले कुनै कार्यविधि नभएको, हामीलाई यसरीनै लिन भनिएको भन्दै जवाफ दिईन् ।

अझ रोचक त के भने हामी भन्दा पछाडि आएका केहि व्यक्तिसंग पहिलो पटकमै एक हजारको नगदी रसिद काटेको देखेपछि पुनः हामीले प्रतिवाद गर्याैं हाम्रो उक्त प्रतिवाद र कार्यविधिको कुरा पश्चात पुनः हामिलाई पनि एक हजारको नगदी रसिद काट्न भनिन् र हामीले पनि धेरै विवाद नगर्ने मनसायले एक हजारको नगदी रसिद काटेर त्यहाबाट बाहिरियौं ।

कुरा नियम उल्लंघन गरेर तिर्नुपर्ने जरिवानाको होईन, कुरा एउटै प्रकृतिको गल्तिमा लिईने जरिवानामा हुनुपर्ने एकरुपताको हो । किन हरेक व्यक्तिसंग समान जरिवाना लिईदैन ? जरिवाना जस्तो कुरामा पनि मनोमानि ढंगले असुल गर्न पाईने व्यवस्था छ ? कार्यालयको परिसरमा यो नियम उल्लंघन गरेमा यति जरिवाना हुन्छ भनेर किन नागरिक बडापत्र राखिदैन ? हामीले गल्ति गर्दा के, कति र कस्तो सजायको भागिदार हुन्छौं  भन्ने जान्न पाउने हाम्रो अधिकार होईन र ? यसरी कहिले काहिं भुलबस हुनसक्ने गल्तिको कारणले यात्रा गर्ने यात्रुले हरेक दिन दुःख पाउन सक्ने आँकलन गर्न सकिन्छ ।

साँच्चिकै उक्त कार्यालयको मात्र नियम फरक हो वा त्यहाँका कर्मचारीले बदमासि गर्दैछन्, सम्बन्धित निकायको ध्यान जाओस् र यथासिघ्र नागरिक बडापत्रको व्यवस्था गरियोस् ताकि हरेक बिषयको जानकारी कार्यालय पुगेर सिधै हेर्न पाईयोस् । त्यसो गर्नाले यात्रुले कर्मचारीसंग विवाद गर्नुपर्ने अवस्था र कर्मचारीले मनोमानि गर्ने अवस्था रहँदैन ।

 

 

 

 

 

 

 

 

 

 

  • ३ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech