उद्योग बिभागमा मैले जे भोगें

मुकुन्द हटवाल

केहि महिना अघिको कुरा हो, म एउटा कम्पनीको भन्सार सुबिधा सम्बन्धि कामको सिलसिलामा उद्योग बिभाग, त्रिपुरेश्वरमा गएको थिएँ । त्यस काममा कम्पनीको परियोजना पत्र समावेश गर्नु पर्ने रहेछ तर मैले ल्याएको कागजातमा त्यो समावेश थिएन तसर्थ कम्पनीको अभिलेख शाखाबाट परियोजना पत्रको प्रतिलिपी उपलव्ध गराइ पाउनको लागि निवदन दर्ता गराएको थिएँ । मलाई आवश्यक थियो, त्यहि परियोजना पत्र । अव के गर्न सकिन्छ भनी मैले फाँटवाला एक महिला कर्मचारीसंग सोधें, वहाँले अभिलेख शाखाबाट फाईल ल्याउन भन्नुभयो । अभिलेख शाखामा रहेको कम्पनीको फाइलमा पनि विभागीय अधिकृतको स्वीकृत नगरिकनै फाईल अभिलेख गरिएको रहेछ ।

मैले फाईल ल्याउँदा त्यहाँ फाँटका अधिकृत आउनु भएको रहेछ, वहाँले मेरो कम्पनीको निवेदन र फाईल हेर्नुभयो । त्यहाँ परियोजना पत्रमा अधिकृतको दस्तखत नदेखेपछि वहाँले मलाई निकै खरो पारामा सोध्नुभयो– “तपाई यो कम्पनीको को हो ?” मैले भने —म कम्पनीको प्रतिनिधिमात्र हुँ ।” वहाँले सोध्नुभयो–“तपाईको परिचयपत्र खै ?” मैले मेरो झोलाबाट आफ्नो नागरिकताको सक्कल पत्र झिकेर देखाएँ ।

वहाँले फेरी सोध्नुभयो–“तपाईको कम्पनीको परिचयपत्र खै ? मैले नागरिकता मागेको हैन” । “सर, मलाई कम्पनीले कुनै परिचयपत्र दिएको छैन तर मलाई कम्पनीले यस कामको लागि अख्तियारी दिएको पत्र छ नि त सर । जहाँ मेरो नागरिकता नं. समेत उल्लेख गरेको छ सर”– मैले भने । तर वहाँले झर्केर तपाईको काम हुँदैन, जानुहोस भन्नुभयो र त्यो कोठाबाट निस्कनुभयो । म त्यहि कोठा मै बसिरहें । मैले त्यस फाँट कै तिनै महिला कर्मचारीलाई सोधें, –“म्याडम, यो त कम्पनीको कमजोरी त हैन, जव कि कम्पनीले आवश्यक कागजात पेश गरेरमात्र त आफ्नो उद्योग दर्ता गरायो । यो त कार्यालयकै कमजोरी हैन र ? किन मलाई वहाँ सरले तपाइको काम हुँदैन भन्नुभो” मैले भने ।

“त्यस समयको अधिकृत अहिले हुनुहुन्न । अब त्यो परियोजना पत्र स्वीकृत गराउन एउटा टिप्पणी उठाउनु पर्छ र अहिले हुनुभएको अधिकृतबाट स्वीकृत गराएर राख्नुपर्छ” – वहाँले भन्नुभयो । “म टिप्पणी उठाइदिन्छु, टिप्पणी उठाएको कति पैसा दिनुहन्छ ?” वहाँले मलाई सोध्नुभयो । मैले भने–“टिप्पणी उठाएको पनि राजश्व लाग्छ र म्याड, मैले वहाँलाई प्रश्न गरें । “राजश्व त लाग्दैन तर मेहनत लाग्छ नि, समय लाग्छ, के गर्नु यसो चिया खर्च त लिनै पर्यो, मैले तपाईको व्यक्तिगत पैसा भनेको हैन, कम्पनीकै तर्फबाट दिनु भनेको” अधवैंसे ती म्याडमले कुनै सङ्कोच नमानी म संग पैसा माग्नु भयो, मैले भनें –“माफ गर्नुहोला म्याडम, म को हुँ भन्ने थाहा नपाइकनै तपाईले सोझै पैसा माग्नु भयो । त्यसरी त म एक पैसा पनि दिन सक्दिन” भनेपछि वहाँले तपाईको काम आज हुँदैन, पर्सी आउनुहोस् (त्यस दिन शुक्रवार थियो) भन्नु भयो । मैले ठिक छ, म्याडम, म पर्सी आउछु भनेर त्यहाँबाट बाहिरिएँ ।

पर्सी पल्ट आइतवार म कार्यालय समयमै उद्योग विभागको उहि फाँटमा पुगें र त्यस समय वहाँ म्याडम अर्कै कोठामा जल्दोबल्दो राजनीतिको कुरामा हो मा हो मिलाएर बसिरहनु भएको थियो उसै समयमा मैले नमस्कार म्याडम, मेरो काम के भो होला ?  भनि सोधें । वहाँले “म एकछिन पछि आउँछु, बस्दै गर्नुहोस्” भन्नुभयो । करिव आधा घण्टा पछि वहाँ आफ्नो कार्यकक्षमा आउनु भयो र भन्नु भयो, तपाईको फाइल मैले अस्तिको दिनमै टिप्पणी उठाएर स्वीकृतिको लागि निर्देशकको टेवुलमा लगेको हुँ, त्यहिँ जानुहोला भन्नुभयो ।

म निर्देशकको कोठामा गएँ, त्यहाँ कोहि पनि हुनुहन्थेन । “म्याडम, तहाँ त कोहि हुनुहुन्न फाईल हेरिदिनु पर्यो’ मैले भने, मेरो काम हुनु त कुरै छैन, फाईल नै फेला परेन । कहिले यता र कहिले यता होला भनेर मलाई करिव एक घण्टा अलमल भईसकेपछि मैले तिनै म्याडमलाई अलि जोडले भने,–“म्याडम के मैले अर्को कुनै उपाय लगाउनु पर्ने भयो ?” म्याडमले भन्नुभयो–“कस्तो उपाय?” मैले भने– “पत्रकारहरुलाई खवर गर्ने नि अरु के हुन सक्छ र”? म्याडम म पनि एक असल शासन संस्थामा कार्यरत छु, कि मैले यहाँको गतिविधिमा साथीहरुलाई खवर गर्न नपरोस्”। यति भन्नासाथ वहाँले कतै गएर मेरो फाइल ल्याउनु भयो र मलाई दिनुभयो ।

मैले सम्बन्धित शाखामा चलानी गराएर पूनः सुबिधा शाखामा फाईल लगें र प्रकृया अघि बढाउनका लागि शाखा अधिकृतलाई फाईल दिएँ, वहाँले तपाईको फाईल मैले टिप्पणी उठाएर निर्देशकज्यूकोमा लगेको छु, निर्देशक अहिले बाहिर जानु भएको छ, सायद आज भ्याइदैन, भोली आउनु होला ल भनि पठाउनु भयो । म भोलीपल्ट जान सकिन तर पर्सीपल्ट पत्र लिन त्यसै फाँटमा पुगे, मेरो फाईल कहिंकतै फेला परिएन, पहिले प्रशासन फाँटमा भए झैं नै मेरो फाईल हरायो। कहिने कहाँ कहिले कहाँ भन्दा भन्दा धेरै समय गईसकेको थियो, मैले फाँटमा भएको सबैजनाले सुन्ने गरि भने, –“के भईरहेको छ, यो सव, मेरो मात्र हो कि सवैजनाको यस्तो हुने हो, अस्ती प्रशासन फाँटबाट पनि फाईल भेटाउन झण्डै पत्रकार नै बोलाउनु परेको थियो, आज पनि यहाँ त्यस्तै नै गर्नु पर्ने हो कि कसो ?” भनेपछि नजिकै रहेको एकजना कर्मचारीले भन्नुभयो,–“तपाईंको फाईल भेटिदैन अव, फेरी तपाईले अर्को फाइल बनाएर ल्याउनु होला, हामी पुरानै दर्ता राखेर पूनः टिप्पणी उठाएर अघि बढाइदिनेछौं” मैले भने–“अव त अति नै भयो सरहरु, म असल शासनमा कार्यरत एक कार्यकर्ता पनि हुँ, के मैले साथीहरुलाई यहाँको अवस्था बारेमा जानकारी दिएर बोलाउनै पर्यो त ?” भनेपछि शाखा अधिकृत आफैं उठेर अर्को कोठामा जानुभयो र तुरुन्तै फाईल ल्याउनुभयो र मलाई दिनुभयो ।

मैले सम्बन्धित प्राबिधिक शाखाबाट स्वीकृति गराएर सबै फाँटवालाहरुको दस्तखत गरेपछि पत्र बनाउन सुविधा शाखाको प्रशासन शाखामा जान भन्नुभयो, मैले त्यहाँ गएर पत्र बनाउन भने, तर आज नभ्याउने भन्नुभयो र अर्को दिन आउनु भन्नुभयो । कार्यालय समय पनि सकिन लागेको हुँदा म अर्को दिन आउछु त भनेर त्यहाँबाट बाहिरिएँ ।

अर्को दिन कार्यालय समयमै म फेरी सो पत्र लिन उद्योग बिभागको सुबिधा शाखाको प्रशासन फाँटमा पुगें । पत्र टाइप गरि तयार गरिएको रहेछ, निर्देशकज्यूको दस्तखत बाँकी रहेछ, मदाई निर्देशकको दस्तखत गराएर ल्याउन भन्नुभयो, मैले निर्देशकज्यूको कोठामा गएर दस्तखत गराएर चलानी गर्नका लागि त्यहिं प्रशासन शाखामा गएँ, कहि समय मै चलानी गरेर पत्र मेरो हातमा दिंदै त्यहाँ काम गर्ने महिला कर्मचारीले यसो हामीलाई चियापानी खर्च हुँदैन दाजु, भन्नुभयो ।

मैले यस कामको लागि करिव दुई हप्ता देखि यस बिभागमा कुनकुन फाँट चाहार्नु परेन, मैले झण्डै पत्रकार समेत वोलाउनु परेको थियो । त्यसैले माफ गर्नुहोला, मैले केहि पनि दिन सक्दिन, तपाईहरुको सहयोगको लागि धन्यवाद तर, अरु सेवाग्राहीहरुलाई यतिबिधि दुःख नदिनुहोला, भनी आफ्नो कम्पनीको पत्र लिइ त्यहाँबाट बाहिरिएँ । कस्तो बिडम्वना, यति सानो कामका लागि पनि कति दुःख पाउनु पर्ने ? कहिले सुध्रेलान् सरकारी कर्मचारी ? नागरिकहरुले कहिले सम्म यसरी दुःख पाउने ?

  • ८ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech