दैनिक प्रयोग हुने खाद्यान्न हानिकारक, सचेत रहन आग्रह

असल शासन प्रतिनिधि

नेपालगन्ज/  दैनिक रुपमा प्रयोग हुँदै आएको खाद्यान्न ९५ प्रतिशत स्वास्थ्यका लागि हानिकारक भएको बताइएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका केन्द्रीय अध्यक्ष डा. अतुल उपाध्यायले शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

बजारको अस्वस्थ्य प्रतिस्पर्धाका कारण दैनिक उपभोग्य वस्तुको उत्पादन बढाउन आवश्यकता भन्दा बढी मात्रामा विषादीको प्रयोग भइरहेको भन्दै त्यस्ता उत्पादनको निगरानी सरकारी निकायबाट हुन नसकेको उनको भनाइ थियो । सरकारी निकायमा हुने जनशक्ति अभावका कारण उत्पादित खाद्य वस्तुमा भएको मिसावट पर्याप्त मात्रामा जाँच हुन नसक्दा खाद्य पदार्थ स्वास्थ्यका लागि हानिकारक बन्दै गएको उनले बताए । उनले बजारमा पाइने मिठाइमा प्रयोग गरिएको रङ्गीविरङ्गी खाद्य पदार्थले पनि मानव जीवनलाई दीर्घकालीन रुपमा असर गर्ने भएकाले राज्य स्तरबाट नै त्यस्ता खाद्य पदार्थको बिक्री वितरणमा रोक लगाउनुपर्नेमा उनको जोड थियो । त्यस्तै खाने तेल, दूध, मह, प्याकेजिङ गरिएका खाद्यान्न, विस्कुट, चाउचाउलगायतका वस्तुमा पनि दीर्घकालीन रुपमा स्वास्थ्यलाई असर गर्ने विषादी प्रयोग भइरहेको भन्दै त्यस्ता वस्तुलाई स्थानीय सरकारले चेकजाँच गरी नागरिकलाई स्वस्थ खाद्यान्न प्रयोग गर्ने गरी उपभोक्ता अधिकारको सुनिश्चितता गर्नु पर्ने बताए । ‘खाद्य पदार्थमा हर्मोन, पेस्टिसाइडलगायतका मिसावट ठूलो समस्याको रुपमा आइरहेको छ । राज्यका विभिन्न निकायले आफ्नो तर्फबाट चेकजाँच गरे पनि त्यो पर्याप्त छैन । संघीय सरकार, स्थानीय सरकारले आफ्नो क्षमता, स्रोत साधनलाई प्रयोग गरेर खाद्य प्रविधि खाद्य विज्ञानलाई अगाडि ल्याउनु पर्छ,’ डा. उपाध्यायले भने ।

डा. उपाध्यायले ४/५ वर्ष अघि गरिएको एक परीक्षणमा बाँकेका ९५ प्रतिशत गर्भवती महिलाको रगत र दूधमा एफ्ला टक्सिन भेटिएको जानकारी दिए । उक्त टक्सिन लिभर सम्बन्धी समस्या ल्याउने कारक तत्वका रुपमा लिइन्छ । यद्यपि ती गर्भवती आमामा भेटिएको टक्सिनले के कस्तो असर गर्‍यो त्यो परीक्षण हुन नसकेता पनि विशेष गरी गर्भवती आमाले सेवन गरेको मकै, बदाम, खुर्सानीलगायतका अखाद्य पदार्थको सेवनबाट त्यो टक्सिन उनीहरुको रगत र दूधमा देखिएकोे बताए ।

नेपाल सरकारको तथ्यांक हेर्ने हो भने दैनिक रुपमा प्रयोग हुँदै आएका खाद्यान्न मध्ये ८ प्रतिशत अस्वस्थ रहेको देखिन्छ । तर दैनिक प्रयोग हुने खाद्य पदार्थमा मिसावट हुने भएकाले त्यसतर्फ उपभोक्ता समेत सचेत हुन उनले आग्रह गरे । यस्ता अखाद्य बस्तुहरु ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई सेवन गर्न नदिन उनको अनुरोध थियो ।

दैनिक प्रयोग हुने खाद्यान्न स्वस्थकर हुनु पर्छ भन्ने विषयलाई वकालत गर्नका लागि शनिबारनै बाँकेमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको शाखा, नेपालगन्ज च्याप्टर गठन भएको छ । शाखामा नेपालगन्जका व्यवसायीहरुको सहभागिता रहेको छ । व्यवसायी सन्तोष पोख्रेलको अध्यक्षतामा गठित शाखाको सचिवमा पदम बराल, कोषाध्यक्षमा सुनिता खुलान रहेका छन् भने सदस्यमा क्रमशः विवेक कुमार सुवेदी, गौरी हमाल, राजेश कुमार चौधरी र पूजा शर्मा रहेका छन् ।

गठित समितिले बजारमा पाइने खाद्यान्न खान योग्य छ कि छैन भन्ने कुराको चेकजाँच गर्नका लागि स्थानीय निकाय र सरकारी पक्षलाई झक्झक्याउने छ रउपभोक्ताको स्वस्थ्यकर खाना खान पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक अभियान सञ्चालन गर्ने बताएको छ ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech