उहाँ पत्रकार ऋषि धमला अनि म पनि पत्रकार रुपनी जि.एम । उहाँसंग मेरो भेट काठमाण्डौमा एउटा विबाह समारोहमा भएको थियो । त्यो बेला मैले नै ‘तपाईँको रिर्पोटस् क्लबमा प्रेस मिट हुँदा अक्सर तपाईँसंग भेट भई रह्यो ।
तपाईँले विषयवस्तु हेरेर ल है रुपनी आजको प्रेस मिटको समाचारलाई राम्रोसंग सम्प्रेषण गर्नु है, भनेर उत्साह दिनु हुन्थ्यो । तर कहिल्यै फोटो खिचिएन । आज चै खिचौं है दाई ? सम्झना हुन्छ नि । विबाह पार्टीमा आएको भएर होला हाम्रो लुगापनि उस्ता उस्तै रंगको मिलेको छ’ भन्दै ठट्यौली पारामा फोटोका लागि प्रस्ताव गरेकी थिएँ । उहाँले सहजै मेरो प्रस्तावलाई स्वीकार गरेर यो फोटो खिचिएको हो ।
अब मेरो नियत बिग्रीयो र महिला भएकै कारणले फाईदा उठाउनु पर्यो भने त यो तस्वीर मेरोलागी बलियो प्रमाण हुने भएछ । यसैलाई आधार बनाएर मैले पनि उहाँको मानमर्दन गर्न सक्ने भएँ हैन त ? किनभने मँ ‘महिला’ हूँ । मैले यसो किन भनिं रहें भनें हिजोआज कसैसंग रिस उठ्यो भने बदनाम गर्नकालागि संगै खिचेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिदिए पुग्ने रहेछ । पिडक म आफैं, अनि पिडित बनेर आफैले आफैलाई परिभाषित गरिदिए पछि त मँ ‘महिला’ को पक्षमा बोल्नलाई मानव अधिकार, सञ्चारमाध्यम, महिला अधिकार, विभिन्न संघसंस्थाहरु त्यसै जिन्दाबाद नि । आखिर उनीहरुलाई पैसाको खेती गर्नु जो छ ।
बुधबार शर्मिला वाईवा नाम गरेकी एक महिलाले पत्रकार ऋषि धमला माथि लगाएको आरोपको आधार भनेकै संगै खिचिएको फोटो थियो । मैले जस्तै । यस्ता विषयमा अनर्गल र कसैको ईज्जत माथि नै धावा बोल्ने गरी गरिएको भ्रामक कुराले त्यो व्यक्ति र उस्को परिवामा के असर पर्छ भन्ने सम्मको हेक्का नराख्ने महिला होस् या पुरुष जो कसैलाई पनि छाडिनु हुँदैन ।
मानमर्दन हुने गरेर बोल्ने अनि २४ घण्टा नबित्दै ‘माफी मागें त’ भनेर अपराध क्षम्य हुनै सक्दैन । मैले यति लेखिंरहंदा र समाजमा पछिल्लो समय घटिरहेका घटना क्रमलाई केलाउँदा तस्वीर पनि कस्तोसंग खिच्ने ? सामान्य, चिया नास्ता र समय परिस्थित अनुसार बिहान बेलुकाको खाना पनि कोसंग र कस्तोसंग खाने ? भन्ने कुरामा ध्यान दिन आवश्यक देखियो ।
हो, यो लोकतन्त्र हो र लोकतन्त्रको सुन्दर पक्ष भनेको संबिधानले दिएको अभिब्यक्ति स्वतन्त्रता हो । यसको अर्थ संगै हिंडेकै आधारमा, फोनमा बोलेकै आधारमा, संगै फोटो खिचाएकै आधारमा, संगै होटेल तथा रेष्टुरेन्टमा बसेर चिया कफि खाएकै आधारमा, दिनहुँ बाता गरेकै आधारमा आदि ईत्यादि कसैमाथि पनि लान्छना लाउने र अपमान गर्ने अधिकार संविधानले हामीलाई दिएको छैन । अभिब्यक्ति स्वतन्त्रता र लान्छनायुक्त अभिब्यक्ति बीच ठुलो भिन्नता छ । यो कुरा सबैले बुझ्न आवश्यक छ ।
अभिब्यक्ति स्वतन्त्रता अधिकार हो भने कसैको मानमर्दन गर्नु अपराध हो । कानूनको दफा ४ ले भनेको छ,‘कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्ति सँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।’ साथै चरित्र सम्बन्धी गोपनीयताको बारेमा पनि कानूनी ब्यवस्थामा भनिएको छ,‘कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानून बमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन ।
कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने वा निजको बेइज्जती वा अपमान हुनेगरी कुनै पनि प्रकारको काम कारबाही गर्न वा निजको आचरण वा व्यवहार सम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ यस्ता अपराध गर्नेलाई कानूनी व्यवस्था ३ बर्ष सम्म कैद या ३० हजार सम्म जरिवाना तोकिएको छ । कानूनका कुरा वरिष्ठ पत्रकार बबिता बस्नेतको फेसबुक वालबाट साभार गरिएको हो ।
#सचेत रहौं, सजग रहौं ।