कर्म, धर्म, देश विकास सबै हाम्रो हातमा छ ।
ज्ञान, सीप, जोश, जाँगर युवा हाम्रो हातमा छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा हामीले सुन्दै आएका छौं तर समृद्व नेपाल निर्माणमा हरेक वर्गको आफ्नो भूमिका के हो भन्ने बारे अनविज्ञ छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान यो देशमा केही समय अघि सुरु भएको थियो । समृद्ध नेपाल र सुखी नेपाली भनेको हरेक युवा उत्पादनसँग जोडिनु हो, युवाले आफ्नो क्षमता अनुसार रोजगारीको अवसर पाउनु हो, राजनीतिमा जोडिएर होस् या सामाजिक कार्य गरेर समाज परिवर्तनका लागि योगदान दिन सक्नु हो । लाखौंको संख्यामा कामको खोजीमा विदेशिनु परेको युवा शक्तिलाई आफ्नै देशमा फर्काएर रोजगारीका अवसर सिर्जना गर्नु हो, क्षमता अनुसारको अवसर दिनु र पाउनु हो । कृषि लगायत अन्य व्यवसायमा जोडिन खोज्नेहरुलाई सहयोगसँगै उत्साह दिन सक्नु हो । अनेक कारणले फाटेका नेपाली मनहरुलाई सिलाउँदै एकताको एउटै मालामा गाँसेर यो देशभित्र रहेका विकासका सम्भावनाहरु नियाल्नु हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान यो कुनै एउटा पार्टीको अवधारणा नभएर, सिङ्गो देश र सारा नेपालीहरुको अभियान हो, बन्नु पर्दछ ।
सामान्यतया १६ वर्ष उमेर पुगेका ४० वर्ष ननाघेका, बालापनको चञ्चलताले छाडिसकेका बुढ्यौलीले स्पर्श नगरेका, हातमा सीप र मनमा माया बोकेका, शब्द र विचारमा ज्वालामुखी सरह ऊर्जा भरिएका अनि राष्ट्रियता र इमान्दारिताको अमृतपान गरेका मानिसहरुको जमातनै युवा वर्ग हो । देशको भौतिक, भौगोलिक, सांस्कृतिक, सामाजिक अवस्थालाई विनाशको धरातलबाट विकासको चुचुरोसम्म, कट्टरतावादी सोचबाट उन्नतिप्रिय विचारधारातर्फ अनि विपन्नताको अँध्यारोबाट सम्पन्नताको उज्यालोतर्फ लैजानुलाई देश विकास भनिन्छ । अनि नकार्न नसकिने यथार्थता योवनका असीमित प्रवाहमा प्रवाहित भएर, साहस र उत्साहले तरंगित हुँदै जीवन यात्राको स्वर्णिम भविष्यतर्फ लम्किएका, ललाटमा सुनौलो भाग्यरेखा चम्काउँदै सफलताका सोपानहरु सहज र स्वाभाविक रुपमा चढ्दै, आत्मनिर्भर, स्वावलम्बन, उन्नयन आदिको उज्यालो किरण पुञ्जभित्र आफूलाई समाहित गर्न सकिरहेका युवाहरुलेनै समृद्ध नेपाल सुखी नेपालीको सुन्दर परिकल्पनालाई यथार्थमा परिवर्तन गर्न सक्छन् । युवा आन्दोलनलेनै रद्दीको टोकरीमा फालिएका विकासका नीति र कार्यक्रमहरुका खाकाहरु पुनः केलाउन सक्छन् ।
म युवा र मेरो सपनाको नयाँ नेपाल सोच्ने क्रममा अतः कुरा कोट्याउँछु, तरङ्गित हुन थाल्छु, रङ बद्लिन थाल्छ, कहिले सुनामीको छाल बनेर त कहिले मथिङ्गल मानहिमको पर्वत बनेर । त्यसैले त मलाई सुस्ता र कालापानी दुःख्छ अनि मैले टिस्टा र नालापानी भुल्न सक्दिनँ । जातीय असमानता, लैङ्गिक भेद, वर्गीय भेद आउँदा सडकमा उत्रिने युवानै हुन्छन् । नेपाल लगायत धेरै राष्ट्रमा युवा आन्दोलनले इतिहासको सिलसिलालाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ । कुनै पनि देशको युवा एक उर्जावान र उत्साही शक्ति हो जसले सामूहिक कार्यबाट सकारात्मक परिवर्तन ल्याउन सक्छ । युवाहरुले आन्दोलनबाट महत्वपूर्ण सामाजिक र आर्थिक मुद्दाहरुमा चेतना ल्याएर परिवर्तनको एजेन्टको रुपमा काम गर्न सक्छन् । उदाहरणका लागि “लेट्स डु इट नेपाल” अभियान मार्फत् युवाहरुले देशका विभिन्न भागमा विभिन्न सरसफाइ अभियानहरु आयोजना गरी नेपालको समग्र सरसफाइमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
युवा आन्दोलनले देशको आर्थिक वृद्घि र विकासका लागि फाइदाजनक नीति र सुधारको वकालत गर्न सक्छ । युवाहरुले रोजगारीका अवसरहरु सिर्जना गर्न र उद्यमशीलतालाई बढावा दिने नीतिहरुको लागि लबिङ गर्न सक्छन् । उदाहरणको लागि ‘उद्यमशिल नेपाल’ आन्दोलन एउटा युवा नेतृत्वको पहल हो, जसले नेपालमा उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीतिहरुको वकालत गर्दछ । यो आन्दोलन कर छुट र भर्खरै संचालनमा आएका व्यवसायहरुका लागि ऋणमा सहज पहुँच जस्ता उपायहरु लागु गर्न नीति निर्माताहरुलाई केही हदसम्म प्रभाव पार्न सफल भएको छ ।
समृद्ध नेपाल निर्माणमा युवा आन्दोलनको महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो सामूहिक कार्य मार्फत् युवाहरुले महत्वपूर्ण मुद्दाहरुको बारेमा जनचेतना जगाउन नीति र सुधारहरुको वकालत गर्न, दक्ष र शिक्षित कार्यबल सिर्जना गर्न र सामाजिक न्याय र समावेशिता प्रवद्र्धन गर्न सक्छन् । पछिल्लो समय नेपालमा युवा आन्दोलनले गति लिइरहेको छ । नेपालको अधिकांश जनता युवा भएकोले आफ्नो भूमिका निर्वाह गर्न र देश विकासमा महत्वपूर्ण प्रभाव पार्न तयार छन् । समृद्ध नेपाल निर्माण गर्न एकजुट प्रयास चाहिन्छ र यो लक्ष्य हासिल गर्न युवा आन्दोलनको कार्यदिशाले महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा युवा आन्दोलन शिक्षामा पहुँच, बलात्कार, बैंक ब्याजदर वृद्घि, छुवाछुत, लैङ्गिक हिंसा, स्वास्थ्य सेवा प्रवाहमा सरकारद्वारा भएको लापरबाही, भ्रष्टाचारलगायतका विरुद्ध भएको पाइन्छ भने सुशासन, सामाजिक न्याय, मानव अधिकारका पक्षमा अभियानहरु हुँदै आइरहेका छन् । युवाहरुले नैतिक समाज, समतामूलक राष्ट्रलाई प्रवद्र्धन गर्ने नीतिहरुको लागि पनि वकालत गर्दै आइरहेका छन् भने सिमान्तकृत समुदायहरुका उत्थानका लागि पनि युवाहरुको बलजोड चलेको छ । नेपालमा अझै पनि २३.८% अशिक्षित छन् । युवा आन्दोलनले ध्यान दिन सक्ने अर्काे महत्वपूर्ण क्षेत्र शिक्षा हो । नेपालको शिक्षा प्रणालीले अपर्याप्त पूर्वाधार र योग्य शिक्षकको अभाव लगायतका महत्वपूर्ण चुनौतीको सामना गरिरहेको छ । राम्रो शिक्षा नीतिको वकालत गर्दै गुणस्तरीय शिक्षामा पहुँच प्रवद्र्घन गरेर, युवा आन्दोलनले नेपालको विकासमा योगदान पु¥याउन सक्ने थप शिक्षित र दक्ष जनशक्तिको विकास गर्न मद्दत गर्न सक्छन् । युवा आन्दोलनले वातावरणीय दिगोपनालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ । नेपाल जैविक विविधताले भरिपूर्ण देश हो तर देशले महत्वपूर्ण चुनौतीहरुको सामना गरिरहेको छ । वनविनाश, जलवायु परिवर्तन र प्रदूषण जस्ता चुनौतीहरु सामना गर्नु परिरहेको छ ।
समृद्ध नेपाल निर्माणमा युवा आन्दोलनको कार्यदिशा महत्वपूर्ण छ, उद्यमशीलता, सामाजिक र राजनीतिक परिवर्तन, शिक्षा र वातावरणीय दिगोपनलाई प्रवद्र्घन गर्न मद्दत गरेर युवा आन्दोलनले समृद्घ र दिगो नेपाल निर्माण गर्न सक्छ तर यी लक्ष्यहरु प्राप्त गर्न गर्नका लागि युवाहरुलाई संगठित र विशेष उद्देश्यतर्फ निर्देशित गर्न आवश्यक छ । सहि नेतृत्व, सहयोग र स्रोत साधनले युवा आन्दोलनले नेपालको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छन् तर सबै आन्दोलन समाधान ल्याउन सक्छन् भन्ने चाहिँ होइन । उदाहरणको लागि निर्मला पन्तको न्यायका निम्ति जति आन्दोलन भए पनि अझै अपराधी पत्ता लागेको छैन । समृद्घ नेपाल निर्माणको लागि हरेक तह र तप्काबाट साथ सहयोग हुन जरुरी छ ।
युवा सिर्जनाका खानी हुन् । जोस, जाँगर र उत्साह हुन् । युवा उर्जा हुन्, वर्तमान र भविष्यका आधार हुन् । त्यसैले युवा क्रान्तिका जननी र समृद्घिका संवाहक हुन् । युवा श्रमिक, मजदुर, अन्वेषक, सिद्धान्तकार, अनुसन्धानकर्ता, सर्जक र आविष्कारक हुन् । त्यसैले हरेक कुराको आविष्कार र नयाँ खोज अनुसन्धान पनि युवालेनै गरेका छन् । चिनको द ग्रेट वाल, अमेरिकाको ट्विन टावरका निर्माता पनि युवानै हुन् । जारशाहीविरुद्घ आहूति दिँदा अलेग्जेन्डर हुन् या राणा शासनविरुद्घ हाँसीहाँसी फाँसीमा चढ्ने गंगालाल यी सबै युवानै थिए । रगतको भेटी चढाउन युवा अग्रसर भएका थिए, हुन्छन् र पछि पनि हुनेछन् । श्रमको बलि र पसिनाको भेटी पनि युवा शिवाय कसैले चढाउन सक्दैन । त्यसैले राष्ट्र निमार्णको आधार युवा हुन् । विश्व कम्युनिस्टका महान गुरु कार्लमाक्स कम्युनिस्ट घोषणा पत्र तयार पार्दा ३० वर्षे ठिटो थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पकमल दाहाल २५ वर्षे युवक थिए, नेपाली कांग्रेसको स्थापना गर्दा वीपि कोइराला पनि युवानै थिए । बुद्घले युवा उमेरमानै साधना गरेका थिए । तसर्थ युवाले चाहे भने जे पनि गर्न सक्छन् । त्यसका लागि हरेक युवामा सकरात्मक सोच र मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने भावनाको उजागर गर्नु अति आवश्यक छ । जब १२ वर्षीय बालकले खाडीमा काम गर्दै गर्दा ज्यान गुमायो रे, कामको सिलसिलामामा ऋण काढेर १० दिन अगाडि गएको साने बाकसमा फर्कियो रे भन्ने खबर सुन्छु एकछिन त झस्किन्छु, आतिन्छु, मन खिन्न हुन्छ, एक्लै भक्कानिन्छु । जब फेसबुक खोल्छु धेरै साथीहरु कामको खोजीमा होस् या त उच्च शिक्षाको खोजीमा विदेश पलायन भएको देख्छु, गुणस्तरीय शिक्षा र पर्याप्त रोजगारीका अवसर हाम्रै देशमा पाउने दिन कहिले आउला जस्ता अनेकन प्रश्न मनमा खेल्न थाल्छन् । त्यसैले समृद्घ नेपाल निर्माणको सपना साकार पार्न हामी समग्र नेपालीले हातमा हात जोडी, आफूले गर्न सक्ने भूमिका निर्वाह गर्यौं र सरकारको साथ र सहयोग पायौं भने मात्र सम्भव छ ।