बाजुरा — यस वर्ष साउन १४ गतेदेखि २३ गतेसम्म बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका भगवती माताको दर्शन गर्न करिब ४५–५० हजार भक्तजन पुगेका छन् ।
नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाका अनुसार, नयाँ मन्दिर निर्माणको अवसरमा यसपटक साउन १४ गतेदेखि नै नवाह पूजा सुरु गरिएको हो। नौ दिनसम्म नौ जना ब्राह्मणले दैनिक तीन आवृत्ति पठाएर पूजा सम्पन्न गरेका थिए। विगतमा भने जनैपूर्णिमाको अघिल्लो दिन मात्रै मुख्य पूजा हुने गर्थ्यो।
देशका विभिन्न जिल्लासहित भारतबाट समेत दर्शनार्थीको सहभागिता रह्यो। भीडका कारण कतिपय भक्तजनले दिनरातभर लाइनमा बसेर देवीको दर्शन गरेका थिए।
यस वर्ष नेपाली सेनाले करिब दुई करोड रुपैयाँमा निर्माण गरेको प्यागोडा शैलीको कलात्मक मन्दिर मेलाको मुख्य आकर्षण बन्यो। मन्दिर परिसरमा धामी–झाँक्रीको सांस्कृतिक प्रदर्शन, परम्परागत बाजागाजा र भक्तजनको उत्साहपूर्ण सहभागिताले मेला जीवंत बनेको थियो।
४,२०० मिटर उचाइमा अवस्थित बडीमालिका क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्वितीय संगम मानिन्छ। त्रिवेणी, २२ पाटन, विष्णुपानी, धर्मद्वारजस्ता स्थल, रङ्गीचङ्गी फूलका फाँट, दुर्लभ चराचुरुङ्गी र सफा मौसममा देखिने हिमश्रृंखलाले पर्यटकलाई लोभ्याउँछन्।
तर पूर्वाधारको कमीले भक्तजनलाई कठिनाइ भोग्नुपर्ने अवस्था अझै कायम छ। सहज पैदल मार्ग, खानेपानी, शौचालय, धर्मशाला र बासस्थानको अभाव, संकेत चिह्नको कमी, तथा सुरक्षाको न्यून व्यवस्थाका कारण दुर्घटना हुने जोखिम पनि उच्च रहेको स्थानीयले बताएका छन्।









