नेपालगञ्ज/ देशमा बढिरहेकोे बेरोजगारी समस्याले गर्दा बिदेशिने युवाहरुको ताँती लागिरहेका बेला अटोरिक्शा व्यवसायमा महिलाहरुको आकर्षण बढेको छ । जसबाट नेपालगञ्जका स्थानीय महिलाहरुले जिबिकोपार्जन गर्दै आएका छन् ।
काममा सानो ठुलो केही नहुने र मिहेनत गरे आफ्नै ठाउँमा राम्रो हुने बताउँदै सोे पेशामा होमीने महिलाहरुको संख्या शुरुवाती चरणमा न्युन भए पनि हाल नेपालगञ्ज बढेर गएको छ ।
शुरुवाती चरणमा अर्काको अटो भाडामा लिएर चलाउँदै आएका महिलाहरु हाल आएर आफ्नै अटो किनेर चलाउँदै आएका छन् भने केहीले त आफै किनेर बहालमा अरुलाई अटोरिक्शा दिने गरेका छन् ।
आत्मनिर्भरताको बाटो तर्फ अघि बढिरहेका महिलाहरु मध्येकी एक अटो चालक महिला हुन् –रुकुम रातामाटाबाट श्रीमानका साथ बाँकेको नेपालगञ्ज झरेकी बर्ष ४८ की मिना कुमारी खड्का ।
आफ्ना श्रीमान मालपोत कार्यालय बर्दियामा कार्यरत भएपनि आफु खाली बस्नु भन्दा केही न केही काम गरेर आफ्ना सन्तानलाई पाल्नु पर्छ भन्ने हुटहुटी बोकेकि उनी कामको खोजीमा थिईन् । संयोगबस आफ्नै बहिनी ज्वाँईले नेपालगञ्जको बाँके गाउँमा अटो भाडामा दिने ब्यवसाय गर्दै आएको र बहिनीलेनै अन्य काम भन्दा अटो चलाउनु राम्रो हुन्छ भनेपछि आफु सो पेशामा लागेको खड्का बताउँछिन् ।
नेपालगञ्जमा भाडाको बसाई त्यसैमा छोराछोरीहरुलाई पठन पाठन देखी खानपिन र औषधी उपचार सम्म श्रीमान एक्लैको कमाईले जीवन धान्न मुस्किल भएपछि अटो लिएर सडकमा निस्किएकी मिना दैनिक भाडा अटो मालिकलाई बुझाएर पनि राम्रै आम्दानी भएको बताउँछिन् ।
श्रीमान, दुई छोरा, एक बुहारी र एक नाती सहित ६ जनाको परिवारमा छोराहरुलाई भने उनले ईन्जिीनियर पढाईरहेकि छन् । शुरुमा अरुको रिक्शा बहालमा लिएर चलाउने मिनाले यो कार्य शुरु गरेको अढाई बर्षमैं निकै तरकि गरेकि छन् । उनी अहिले अटो रिक्शा चालक मात्रै नभई अटो रिक्शा उद्यमी भएकि छन् ।
उनी अहिले आफै ९ वटा अटो रिक्शाको मालिक बनेकि छन् । उनले अहिले ९ वटा रिक्शाहरु अन्य चालकहरुलाई बहालामा दिने गरेकी छिन् । उनले एक वटा रिक्शा ७ सय रुपैंयाँ दैनिक आफुले पाउने गरि बहालमा दिने गरेकि छन् । जसबाट दैनिक उनले बहालबाटै ६, ७ हजार पैंसा कमाउँछिन् ।
मिनाले आफ्नो अटोमा चढ्ने यात्रुहरुमा कोही जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क सेवा दिदै दिदै आएकी छन् । अटो चलाउँदाका समस्याबारे उनी भन्छिन् –महिला भएकै कारण त समस्या भएन तर एकाध घटना भने झेल्नु परेको छ ।
एक जना प्रहरीले अटो चढे पछि अटो भाडा माग्दा नानाथरी गाली गरेर भाडा नदिएर गएको घटना उनी कहिल्ये बिर्सिदैनन् ।
त्यस्तै दाङको बिजौरीबाट आएर नेपालगञ्ज वडा नम्बर ९ मा बस्दै आएकी गिता पुन सिंह अर्की अटो रिक्शा चालक हुन् । दुई बच्चाकी आमा उनले कोठा भाडामा बस्दै आएको र आर्थिक अवस्था कमजोर भएपछि कामको खोजीमा भौतारीदै गर्दा अटो चलाउन थालिन् । एक बर्ष अगाडी देखी यो पेशामा लागेकी गिता भन्छिन् –साहुसँगबाट दैनिक सात सय भाडा बुझाउने गरी अटो लिएर चलाउँदा भाडा कटाएर दैनिक पन्ध्र सय सम्म कमाई हुन्छ । कहिले रुपैडिया भन्सार नाका त कहिले नेपालगञ्जका बिभिन्न ठाउँहरुमा पुग्ने गिता काममा कुनै अफ्ठेरो नभएपनि कहिले काही कमाईनै नहँु्दा साहुलाई भाडा बुझाउने सम्म नपुग्ने दुःखेसो ब्यक्त गर्छिन् ।
उनीहरु जस्तै नेपालगञ्जमा महिला अटोचालकहरुमा दिपा ढकाल, प्रभा रिमाल लगायत पन्ध्र जना जती रहेका छन् ।
उनीहरुले दैनिक १५ सय देखि २५ सय सम्म पैंसा कमाउने गरेका छन् । जसबाट उनीहरुले घर खर्च मात्रै चलाएका छैनन्, बचत समेत गरिरहेका छन् ।
देशमा गरे के हुँदैन र ? भन्ने भनाईका उत्प्रेरणादायी पात्र हुन् महिला अटो रिक्शा चालकहरु । आफ्नो दैनिक रोजीरोटीका लागि नेपालगञ्जका सडकहरुमा अटो चलाउने महिला दिदी बहिनीहरुलाई एउटै चिन्ता छ नेपालगञ्ज उपमहानगर पालिकाको जोर, बिजोर नम्बर चलाउने नियम । उनीहरु भन्छन्– यसरी जोर बिजोर चलाउँदा हामीहरुलाई निकै मर्का पर्छ । दैनिक काम गरेर छाक टार्ने हामीहरु यसरी चलाउँदा त एक दिन भोकै बस्नु पर्ने हुन्छ त्यसैले त्यस्तो नियम नलगाईयोस् सरकार ।