रमणीय तुर्माखाँद बजार

यहाँहरु पनि तुर्माखाँद भ्रमण गर्ने कि ?

नमस्कार शाह

तुर्माखाँद बजार अछाम जिल्लाको ऐतिहासिक र प्राकृतिक रमणिय स्थल हो । हरियाली, मनमोहक यो बजार साविकको ईलाका नम्वर १३ को सदरमुकाम हो ।

बजारको उत्तर पश्चिममा रमणिय सरस्वती डाँडा, दक्षिणमा काल्सैनी डाँडा, पूर्बमा लुँडा बन, पश्चिममा माथि गंगा बयकको चौर, तल सल्लेरि डाँडा र खोल्टेपानी रहेका छन् । यसको वरिपरि साविकको नाडा गाविसका तिलचौर, कोल्ली, तोल्ली, थोलु, बुदे, भैरवस्थानका लकान्द्र, बुडागडा, तुर्माखाँदका चिसि, गोदे, जुया, जैसुरका गाउँवस्तीहरु छन् ।

मानसरोवरबाट शुरु हुने पवित्र प्राकृतिक कर्णाली नदी तुर्माखाँद बजारको पूर्व रानीवन, भैरवस्थान हुँदै दक्षिण दिशा तुर्माखाँद गाउँपालिका वडा नम्वर ४ को जंगलघाटलाई स्पर्ष गर्दै वडानम्वर ५ नाडा तिर घुम्दै निरन्तर प्रबाहित छ । बजारको उत्तर तिर नथ्खोला छ, जसको उद्गम साविकको तोषी गाविसमा पर्ने बगलदेउ र काला खोला हुन् । यसै खोलामा बिशाल रानी डम्म (ताल) छ । यस रानीताल बारेका किंवदन्ती कथाहरु गाउँ, घरमा सुन्न पाईन्छ । छेउमै अर्काे रिठाको खोला छ, खोलको सिरानमा मनमोहक बासुधार झरना छ ।

यस भेगकै एक मात्र बजारको रुपमा २०३१ साल देखि तुर्माखाँद बजारको शुरुवात भएको पाईन्छ । बजार हुनु भन्दा पहिले यो ठाउँमा बन मात्र रहेको स्थानीय बताउँछन् । एकाध पसलहरु मात्रै रहेको तुर्माखाँद २०५० पछि बिस्तारका साथै बिकसित हुँदै गएको छ ।

हाल यस बजारमा बिभिन्न प्रकारका पसलहरु सञ्चालनमा छन् । दैनिक उपभोगका सबै सामानहरु मात्रै होईन ठूला सहरबाट प्राप्त हुनुपर्ने सामानहरु खरिद गर्न पनि अव यस क्षेत्रका व्यक्तिहरु अन्यत्र जानु पर्दैन ।

२०२४, २५ सालमा तत्कालिन जिल्ला पञ्चायत सभापती हरि प्रसाद भण्डारीको अगुवाईमा स्थानीयको जनश्रमदानबाट कोल्लीमोरा घाट देखि तुर्माखाँद हुँदै सदरमुकाम मंगलसेनसम्म सडक खनिएको थियो । सभापती भण्डारीकै पहलमा काठमाण्डौंबाट प्राप्त रसीयन जीपका पाटपूर्जा बोकेर ल्याईएपछि तुर्माखाँदमा जोडेर उक्त जिप सदरमुकाम मंगलसेन सम्म चलाएर पुर्याईएको थियो ।

जिआईजेट र बेलायत सरकारको सहयोगमा सञ्चालित च्ब्ए लगायत निकायबाट मंगलसेन देखि जंगलघाट, तुर्माखाँद देखि कमलबजार, गैरिटाँड, बिनायक हुँदै बेलखेत, तुर्माखाँदबाट धमाली हुँदै बेलखेत सम्मको सडक निर्माण भएपछि दैनिक रुपमा मालबाहक ट्याक्टर, ट्रक, जीप, मोटरसाईकलहरु आवत जावत गर्न थालेपछि बजार थप बिकसित हुँदै गएको हो ।

यातायातको सुबिधा नहुँदा बर्दियाको राजापुर, कैलालीको कट्टाँसे, बलचौर, चिसापानी र सुर्खेतको गुटुबाट मान्छेले पिठ्युमा भारी बोकेर सामान ल्याउने गर्थे ।

बजारको उत्तरमा अति प्राचिन आश्चर्यपूर्ण बगलदेउ शिव गुफा गौरी पर्वतमा बिद्यमान छ, जसलाई बासुधारा पनि भनिन्छ यसैगरी उच्चश्रृंखला त्रिपुरा पर्वतमा त्रिपुरेश्वरी माईको मन्दिर छ । जसलाई बगलदेउ त्रिपुरासुन्दरी धार्मिक पर्यटकीय क्षेत्र भनिन्छ ।

पश्चिम नाडा नागपर्वतमा श्री बागेश्वरी देवीको प्राचिन धार्मिक महत्व वोकेको मन्दिरका साथै देवस्थलहरु छन् । जसलाई बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भनिन्छ । श्रावण मालिका चतुर्दशीका दिन धुमधामका साथ उक्त मन्दिरमा वैदिक विधि पूर्वक वागेश्वरी देविको पुजाआजा हुने गर्दछ ।

दक्षिण पश्चिम तर्फ कोल्ली मोरा शिवलिंग ज्योती स्थान तथा पश्चिम तर्फ नाडा, ढाँटा, जम्पानी, धुर्गाउँ, बाँगी, मोयाकाँडा, शेरा, मोया तथा थाराका बस्तिहरु रहेका छन् ।

बजारको उत्तर पश्चिममा रहेको रमणिय सरस्वती डाँडामा बजार भरका लागि खानेपानी पुग्ने पानी ट्याँकी छ, जुन ट्याँकीमा कालाखोला र थोलुको रिटाबाट पानी ल्याईएको छ । उक्त डाँडामा सडक सञ्जाल जोडिएकोछ, ठूला, ठूला बिभिन्न भवनहरु निर्माणाधिन छन् । पछि गएर यो स्थानमा बजार बिस्तार हुने सम्भावना छ ।

बजारको दक्षिणमा संरक्षित काल्सैनी सामुदायिक बन रहेको छ, जसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न थालिएको छ । उक्त अग्लो टाकुरामा मस्टो, बण्डाली, काल्सैनी, माटे देवताका ८ वटा थानहरु रहेका छन् भने माईको मन्दिर समेत उक्त क्षेत्रमा रहेको छ । देवी देवता प्रति यस क्षेत्रका बासिन्दाहरुको बिशेष आस्था रहेको छ । उक्त टाकुरामा नेपाल टेलिकमले टावर राखेपछि संचार सुविधा सहज भएकोे छ । यस ठाउँमा जानका लागि वडा नम्वर ४ ले सिढिहरु निर्माण गरेको छ ।

घना जंगल रहेको यस ठाउँमा खरायो, घोडल, बँदेल, स्याल, बाँदर, मृग, दुम्सी र बिभिन्न प्रजातीका चराहरु पाईन्छन् । उक्त ठाउँबाट कालिकोट, दैलेख, बाजुरा, डोटी, सुर्खेत, कैलालीका बिभिन्न गाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

तुर्माखाँद वरिपरि रहेका बनहरु चैत्र, बैशाखमा फुल फुलेर ढकमक्क हुन्छन् भने लालिगुराँशले राताम्य हुन्छन् । बैशाख, जेठमा काफल बनभरि लटरम्म फल्छन् भने तिर्खुला, ऐसेलु, घंघारु जस्ता बनमा पाईने फलहरुको स्वाद सबैले सजिलै लिन पाउँछन् । अग्ला टाकुराबाट मनमोहक चिसी, नाडा, ढाँटा लगायतका गाउँहरु देख्न सकिन्छ ।

भन्ज्याँग जस्तै अवस्थित तुर्माखाँदमा निरन्तर कहिले दक्षिण पश्चिमबाट त कहिले पूर्ब दक्षिणबाट सिरसिरे हावा चलिरहन्छ । गर्मीको महसुस यहाँ बैशाख, जेष्ठमा पनि खासै हुँदैन । तुर्माखाँदबाट अहिले सडक सञ्जाल जताततै जोडिएको छ । कोल्लि मोरा, जंगलघाट, थोलुबुदे, नाडा–ढाँटा–ढुँगाचाल्ना, बाँसकाँडा मंगलसेन, चिसी रानीवन, लकान्द्र असारा लगायतका बाटोहरुले तुर्माखाँदलाई सडक पहुँचसँग जोडेको छ ।

तुर्माखाँद मौसमी र बेमौसमी तरकारी, फलफुलका लागि आत्मनिर्भर छ । यहाँ सुन्तला, केरा, अनार प्रशस्त मात्रामा पाईन्छन् । तुर्माखाँदको चिसी केरा र सुन्तलाका लागि प्रख्यात मानिन्छ । तुर्माखाँद बजारमा अहिले सुबिधा सम्पन्न होटलहरु छन्, अर्गानिक भोजनको व्यवस्था भएका रेष्टुरेण्टहरु छन् ।

कुनैबेला खानेपानीको अभावमा काकाकुल हुने तुर्माखाँदमा अहिले खानेपानीको समस्या छैन, केही गरि खानेपानीको समस्या आएमा बजार भरिलाई उपलब्ध हुने पानीको मुहान भएको पुवा खोला छ, जसलाई पोखला पनि भनिन्छ । चिसो पानी पाईने चिमाली खोलाको मुललाई भने संरक्षण गर्नुपर्ने अवस्था छ । अहिले बजारमा बिद्युत सेवा पनि उपलब्ध छ । बिद्युतको राष्ट्रिय प्रशारण लाईन जोडिएपछि बिद्युत सेवा उपलब्ध भएको हो ।

तुर्माखाँद बजारमा श्री बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समितिको केन्द्रीय कार्यालय रहेको छ भने बिभिन्न संघ, संस्थाका कार्यालयहरु पनि यहाँ रहेका छन् ।

बजारमा श्री कालिकेश्वरी माध्यमिक बिद्यालय रहेको छ । जसको स्थापना २०१८ साल भाद्र १ गते भएको थियो । श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको नामबाट स्थापना भएको उक्त बिद्यालय २०३० सालमा श्री बागेश्वरी निम्न माध्यमिक बिद्यालयका नाममा सञ्चालन भएको पाईन्छ भने २०३२ साल बैशाख १५ गते यस बिध्यालयको नाम श्री कालिकेश्वरी निम्न माध्यमिक बिद्यालय रहन गएको पाईन्छ ।

२०४० साल फाल्गुण ११ गते देखि माध्यमिक बिद्यालय भएको उक्त बिद्यालयमा २०६४ साउन १० गते देखि कक्षा १२ सम्म पठन, पाठन हुने गरेको छ । उक्त बिद्यालयबाट सयौं बालबालिकाहरुको उज्वल भविष्य कोरिएको छ । अहिले तुर्माखाँदमा बहुमुखि क्याम्पस सञ्चालन गर्ने तयारी भईरहेको छ ।

तुर्माखाँदमा तीन दशक अघि बनेको पहिलो आधुनिक कृषि सेवा केन्द्र रहेको छ भने बजारमा तुर्माखाँद अस्पताल पनि रहेको छ जसबाट यस क्षेत्रका नागरिकहरुले स्वास्थ्य सेवा लिईरहेका छन् । तुर्माखाँद गाउँपालिकामा शिक्षा, कृषि, पशु सेवा लगायतका बिभिन्न शाखाहरु रहेका छन् । जसबाट स्थानीयहरुले सेवा लिईरहेका छन् ।

बजारमा परापूर्व काल देखि बैशाख १ गते, भाद्र २४ गते र असोज १ गते रात्रीकालिन जात्रा लाग्ने गर्थे हाल ति सबै जात्राहरु बन्द छन् ।

बर्षको चार पटक हुने पूर्णिमाको अवसरमा पर्व हुने गर्दछ । जेठ, साउन, मंसिर र पौषको पूर्णिमामा देवताका मन्दिरहरुमा बिशेष पूजा हुने गर्दछ । आ–आफ्नो देवताका मन्दिरहरुमा पूजा गर्न जाने क्रममा धामीहरु सामुहिक रुपमा नाच्ने र परेड खेल्ने गर्दछन् ।

तुर्माखाँद सुदुरपश्चिम प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । यो गाउँपालिका २३२.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

समुन्द्री सतहको करिब ५५० मिटर देखि १९०० मिटर सम्मको उचाईमा रहेको तुर्माखाँद गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ४४ मिनेट ४० सेकेण्ड देखि २९ डिग्री १ मिनेट ३९ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री १७ मिनेट ५४ सेकेण्ड देखि ८१ डिग्री ३५ मिनेट ५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५५ किमी पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्ला, पश्चिममा ढकारी गाउँपालिका, उत्तरमा कमल बजार नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ ।

नव गठित स्थानीय तह तुर्माखाँद साविकका ७ वटा गाविसहरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली मिलेर वनेको हो । यो गाउँपालिका ऐतिहासिक रुपले दैलेखसँग सामिप्यता राखेको पाइन्छ । यहाँका स्थानीयहरु अछामी भाषा बोल्दछन् ।

तुर्माखाँदको नामाकरणको सन्दर्भमा आधिकारिक दस्तावेज पाईंदैन, यस बारे फरक, फरक भनाईहरु रहेका छन् । तथापी बिभिन्न किंबदन्तीका अनुसार यस ठाउँको नाम बारे सार एउटै, एउटै पाईन्छ ।

तुर्माखाँद बजार स्थापना हुनुपूर्ब देखि बसोबास गर्दै आएका श्री कालिकेश्वरी मा.बि.का पूर्ब प्राचार्य लोकेन्द्र बहादुर शाहले स्थानीय बईदार स्वर्गीय धनपति बयकलाई उद्यृत गर्दै दिएको जानकारी अनुसार चिसीका चंखे बयक र नाडाका राम शाहीको भेट हुने ठाउँलाई तँ र म बस्ने ठाउँबाट तँ र म हुँदै तुर्म भएको र पछि त्यहि तुर्मबाट तुर्माखाँद भन्ने गरिएको हो ।

स्थानीय जानकार व्यक्तिहरुका अनुसार हाल बजार रहेको यस तुर्माखाँद क्षेत्रमा धेरै समय पहिला तम्माखु खाने मानिसहरुको जमघट हुने गर्दथ्यो । डाँडाको वरिपरिबाट थाकेर आएका मानिसहरु थकाई मार्दै तम्माखु खाने गर्दथे । अछामी भाषामा तम्माखुलाई तम्मु भनिने र डाँडामाथी सम्म परेको स्थानलाई काँद पछि अपभ्रंस हुँदै खाँद भनिने हुनाले तम्मा र खाँद मिलेर तुर्माखाँद रहन गएको हो ।

यहि स्थानको नामबाट तुर्माखाँद गाविसको नामाकरण भएको र स्थानीय तह पुर्नसंरचना हुँदा गाउँपालिकाको नामाकरण समेत तुर्माखाँद हुन गएको देखिन्छ । तुर्माखाँद गाविस हुनु भन्दा पहिले यसलाई बागेपानी भनिन्थ्यो ।

यो ठाउँबाट बिहान सूर्याेदय देखि सुर्यास्त सम्म घाम रहने तुर्माखाँद बजार साँच्चिकै रमणीय छ । बिहानीको पहिलो झुल्का घाम र पश्चिम कर्णाली नदि माथि सुर्यास्तको मनोहक दृश्य हेर्न लायक हुन्छ ।

यहाँहरु पनि तुर्माखाँद भ्रमण गर्ने कि ? तुर्माखाँद बजार सवैलाई स्वागत गर्न आतुर छ ।

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech