तलवी प्रतिवेदन पारित नगरी तलब भुक्तानी गर्ने १६९ स्थानीय तह कार्बाहीमा

लुम्बिनी प्रदेशका मात्रै १७ स्थानीय तह

असल शासन प्रतिनिधि

नेपालगन्ज शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने १६९ स्थानीय तह कार्वाहिमा परेका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) ले बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम सार्वजनिक गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कार्वाहिको लागि पठाएको छ ।

राष्ट्रिय किताबखाना (शिक्षक) ले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने स्थानीय तहलाई प्रचलित कानुन बमोजिम आवश्यक कार्वाही गर्न भनिएको छ । शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताब खानाको काम कर्तव्य र अधिकार अन्तर्गत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गर्ने गराउने व्यवस्था गरिएको छ । उक्त नियम अनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त नियम विपरित ५८ जिल्लाका १६९ स्थानीय तहले तलवी प्रतिवेदन पारित नराइ तलब भुक्तानी गरेको पाइएको छ ।

तलवी प्रतिवेदन पारित बिना तलब भत्ता भुक्तानी गर्ने १६९ स्थानीय तहमध्ये लुम्बिनी प्रदेशका ११ जिल्लाका १७ वटा स्थानीय तह कार्बाहीमा परेका छन् । शैक्षिक सत्र २०७९ मा तलबी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गरेको कारण कार्बाहीको लागि सिफारिसमा परेका लुम्बिनी प्रदेशका स्थानीय तहहरुमा गुल्मि जिल्लाका छत्रदेव गाउँपालिका र मालिका गाउँपालिका, पाल्पाका रामपुर नगरपालिका र निस्दि गाउँपालिका रहेका छन् । त्यसै गरी रुपन्देहि जिल्लाको ग्रडहवा गाउँपालिका, कपिल्वस्तुको शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका कारबाहीको सिफारिसमा परेका छन् ।

त्यस्तै तलवी प्रतिवेदन पारित बिना तलब भत्ता भुक्तानी गरी कार्बाहीको लागि सिफारिसमा पर्ने पालिकाहरुमा प्युठानको स्वर्गदवारी नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र थवाङ्ग गाउँपालिका, दाङ्गको लमही नगरपालिका, बाँकेको नरैनापुर गाउँपालिका, बर्दियाको मधुवन नगरपालिका, राजापुर नगरपालिका र बाँसगढी नगरपालिका, नवलपरासी बद्रघाटपश्चिमको सुनवल नगरपालिका रहेका छन् । १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशको रुकुम पुर्वका भने सबै स्थानीय तह कार्वाहीबाट बचेका छन् ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech