हुम्ला/ नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागु गर्दा कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएका छन् ।
हिमाली जिल्लाका विभिन्न विमानस्थलको उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित हुँदै आएका हुन् ।
हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण एक सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको बताउनुभयो । उहाँले प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गरेपछि उडान प्रभावित हुने गरेको बताउँदै उडान नहुने चिन्ता थपिएको बताउनुभयो ।
प्राधिकरणले साउन दोस्रो साताबाट आन्तरिक हवाई उडानका लागि उडान तालिकाको समयबाहेक अन्य समयमा उडान भर्न नपाउने नियम लागु गरेको छ । उहाँले बर्खाको मौसममा बिहान ११/१२ बजेसम्म मौसम बिग्रिने र १२ बजेपछि मौसममा सुधार आउने भए पनि नयाँ हवाई उडान नियम अनुसार सिमकोट विमानस्थलका लागि १२:३० बजेपछि उडान भर्न नपाउने भएकै कारण समस्या देखिएको बताउनुभयो ।
हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि यो नियम व्यावहारिक नभएकोसमेत उहाँले बताउनुभयो । उहाँले बाध्यता र अवस्था नबुझेर नयाँ कार्यतालिका लागु गर्दा कर्णालीका बासिन्दा मर्कामा परेको बताउनुभयो ।
कर्णालीका हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको दुनै, सुदूरपश्चिमको बाजुराको कोल्टी विमानस्थलका लागि बिहान ६ बजेबाट दिउँसो १२:३० बजेसम्म उडान भर्ने नयाँ कार्यतालिका रहेको छ । यी विमानस्थलमा चार दिनदेखि लगातार उडान हुन सकेको छैन । समिट एयर सिमकोट स्टेसनका प्रबन्धक गोविन्द लामाले प्राधिकरणको नयाँ नियम हिमाली जिल्लामा उडान भर्न समस्या देखिएको गुनासो सुनाउनुभयो ।
सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि हवाई सेवाभन्दा यात्रुलाई अन्य विकल्प नभएका कारण पनि अहिले लागु भएको नियममा संशोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । समिट र तारा एयरले चार दिनदेखि सिमकोटका लागि उडान भर्न सकेका छैनन् । उहाँले बर्खामा ११/१२ बजेपछि मात्र मौसममा सुधार आएर उडान भर्न सकिने अवस्था रहेको बताउँदै उडान भर्ने तालिकामा मौसम सुध्रिन लाग्ने र मौसममा सुधार आएको समयमा उडान तालिका सकिने भएको कारण महिनौँसम्म उडान नहुने सम्भावना बढी रहेको बताउनुभयो ।
नयाँ उडान तालिका कार्यान्वयनमा आएसँगै उडान प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् भने कार्गो सामानसमेत ढुवानी हुन नसक्ने अवस्था आएको छ । सीता एयर नेपालगन्जका बजार प्रबन्धक सन्दीप भण्डारीले कर्णालीका हिमाली जिल्लामा अहिलेको नयाँ उडान नियम उपयुक्त नभएको बताउनुभयो । उहाँले हवाई सुरक्षाका लागि नियम आफ्ना ठाउँमा ठिक भए पनि हिमाली जिल्लामा १२:३० बजेपछि मात्र मौसम सुधार भएर उडान हुने भएका कारण समस्या देखिएको बताउनुभयो । अहिलेको नियमले कर्णालीका जुम्ला र सुर्खेत जिल्लामा मात्र उडान हुने देखिएको छ ।
जुम्लाको उडान तालिका बिहान ६ बजेबाट बेलुका ४ बजेसम्म रहेको छ । उहाँले यस हिसाबले कर्णालीका हिमाली जिल्लामध्ये जुम्लाबाहेक अन्य विमानस्थलमा उडान प्रभावित भइरहेको बताउनुभयो । हवाई सुरक्षालाई सुरक्षित बनाउनका लागि प्राधिकरणले नयाँ नियम कार्यान्वयन ल्याएको र यसलाई केही समयसम्म कार्यान्वयनमा रहने परिपत्र आएको सिमकोट विमानस्थलले जनाएको छ ।