भर्ना हुँदा बिद्यार्थी सस्ता, पढ्न आउँदा हालत खस्ता

तीस बर्ष पुरानो बिद्यालयको कन्तबिजोग, स्थापना देखि हाल सम्म प्राथमिकमै सिमित

मन भण्डारी

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका मधेशी समुदायमा पर्ने धेरै सामुदायिक विद्यालयमा अहिले पनि बालबालिका बिद्यालय जाँदैनन् । वर्ष दिनमा दुई चार दिन भर्ना अभियानका क्रममा घर घरमै पुगेर विद्यार्थीलाई भर्ना गरिएनि भर्ना भएका बिद्यार्थी बिद्यालय जाँदैनन् । बिद्यालयको हाजिरमा नाम दर्ता भएका बालबालिकाहरुमध्ये कोहि निजी विद्यालयमा पढ्न जान्छन भने कोहि घरमा र बाटोमा खेलिरहेको भेटिन्छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ मा रहेको लाला भुवनेस्वरी प्राथामिक बिद्यालयसुर्यपुरको अवस्था यस्तै छ । २०४८ सालमा स्थापनना भएको सो बिद्यालय त्यो क्षेत्रको एक मात्रै बिकल्प हो । उक्त क्षेत्रमा अरु विद्यालय छैनन् ।

करिव २०० घरधुरी भएको उक्त समुदायकै एउटा मात्रै बिद्यालयभएपनि दैनिक बिद्यार्थीको उपस्थिती भने न्युन देखिन्छ । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालय हाजिरी रजिष्टरमा हाल जम्मा १४९ जना विद्यार्थी भर्ना भएको देखिन्छ । तर दैनिक ३५/४० जनाको हाराहारीमा मात्र विद्यार्थी उपस्थित हुने गरेको स्थानीय अभिभावक बताउँछन् । बिद्यालयमा बालबालिकालाई पढौँ पढौँ लाग्ने र जाउँजाउँ लाग्ने वातावरण नभएको र राम्रो पढाइ नहुने भएकाले पनि विद्यार्थीहरु बिद्यालयजान नमान्ने गरेको अभिभावकहरु बताउँछन् ।

बुधबार दिउसो २ बजेको समयमा असल शासन प्रतिनिधि उक्त बिद्यालयमा पुग्दा १४९ विद्यार्थी मध्ये जम्मा ४७ जना मात्रै उपस्थित थिए । जुन जम्मा संख्याको ३१ प्रतिशत हुन्छ । बालविकास केन्द्रमा भर्ना भएका ५० जना रहेकोमा ६ जना, कक्षा १ मा २४ जना रहेकोमा ३ जना, कक्षा २ र ३ मा गरी ४६ जना रहेकामा २७ जना, कक्षा ४ मा १० जना रहेकामा ५ जना र कक्षा ५ मा १९ जना रहेकोमा ६ जना विद्यार्थी उक्त दिन उपस्थित थिए ।

छात्रबुत्तीको रकम पाउने आसले समेत नाम लेखाउने र छात्रबृत्तीको रकम बुझ्ने समयमा जाने अरु समयमा बिद्यालय नजाने गरेको शिक्षकहरुको भनाइ छ । छात्रबृत्तीको आशले सामुदायिक बिद्यालयमा नाम लेखाउने तर पढ्न निजि विद्यालय जाने गरेको एक जना अभिभावकले बताए । हाल उक्त विद्यालयमा ८१ जना छात्रा र ५१ जना दलित विद्यार्थीको लागि वार्षिक ४०० का दरले छात्रबृद्धी आउने गरेको प्रअ शशिनाथ भट्टराइले बताए ।

धेरै जसो सरकारी बिद्यालयमा छात्रबृत्ती वापत आउने रकम हिनामिना हुने गरेको आरोप लाग्ने गरेको छ । अभिभावक र बालबालिकाको चेतनास्तर नभएकाले नाम लेखेका विद्यार्थी पनि बिद्यालय आउन मन नगर्ने गरेको बिद्यालयका प्रधानाध्यापक सशीनाथ भट्टराइले बताए ।

जबर्जस्ती विद्यालयमा ल्याएर पढाउन सकिंदैन, छोराछोरीलाई नियमित विद्यालय पठाउनुपर्छ भन्ने चेतना अभिभावको पनि छैन उनले भने । शिक्षकहरुको अनियमित उपस्थित र लापर्वाहीको कारण पनि विद्यालयमा विद्यार्थीको उपस्थिति कम रहेको स्थानीय अभिभावक बताउँछन् ।

सो बिद्यालयमा २ जना बालविकास केन्द्र र ४ जना प्रा.बि. को दरबन्दि गरी जम्मा ६ जना शिक्षक कार्यरत छन् । बुधबार भने २ जना शिक्षक अनुपस्थित थिए । बिद्यालयको शैक्षिक गुर्णस्तर बिद्यार्थीको अनियमित उपस्थितीको कारण बिद्यालयको कक्षा बृद्धी हुन सकेको छैन । बिद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारको समेत ध्यान गएको दखिन्न ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सुरेश सिंह ठाकुरले गरिबी र चेतनास्तरको कारण विद्यार्थीहरु बिद्यालय नजानुको कारण भएको बताए । अलि सम्पन्न परिवारका बालबालिका निजी विद्यालयमा पठाउनुले पनि सामुदायिक बिद्यालयमा कम उपस्थित देखिने गरेको उनको भनाइ छ ।

नेपालगन्ज उप–महानगरपालिका शिक्षा, खेल्कुद तथा युवा शाखा प्रमुख गोर्ख बहादुर थापाले उप–महानगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुलाई आवश्यक ब्यवस्थापन र सुधारका लागि नियमित अनुगमन, छलफल गर्ने गरेको सम्बन्धित बिद्यालयलाई निर्देशन दिने गरेको भएपनि समुदायको चेतनास्तरको कारण यस्तो समस्या कायमै रहेको बताए ।

सामुदायिक बिद्यालयको शिक्षाको अवस्था खस्किदै गएको र बिद्यार्थिहरु पनि घट्दै गएकाले आवश्यक्ताको आधारमा मिल्ने गरि बिद्यालय मर्ज गर्ने योजनामा रहेको थापाको भनाइ छ ।

 

 

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech