आ-आफ्नो स्थानबाट समाजसेवा गरौं – शाह

माधव कार्की

रमादेबी शाह
अध्यक्ष, दिदीबहिनी समाज, बाँके
१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के-के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०७८ साल पौष १४ गते महिलाहरुको हक, हितका लागि कार्य गर्ने उद्धेश्यले दिदी बहिनीहरु मिलेर दिदी बहिनी समाज बाँके गठन भएको हो । २०७८ फाल्गुण १२ गते बाँके जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको यस संस्थाले संस्थाको स्थापनाकाल देखिनै महिला अधिकारका लागि वकालत गर्ने देखी महिलाहरु माथी हुने सबै प्रकारका हिंसा र बिभेद बिरुद्ध जनचेतना जगाउने काम गर्दै आईरहेको छ । संस्थाले महिलाहरुको समग्र बिकाससँगै मानबिय सेवा, समाज सेवाको भावना अभिबृद्धि गर्दै विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ । संस्थाले नारी दिवस बिशेष, होली मिलन, तिज पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको कुनै दातृ संस्था नभएको अवस्थामा पनि संस्थाका पदाधिकारीहरु बाटै आर्थिक संकलन गरेर क्यान्सर लगायत विभिन्न रोगबाट पीडित बिरामीहरुको उपचारमा संस्थाले आर्थिक सहयोग गरेको छ भने नेपालगञ्ज स्थित निलसागर सेवा आश्रमको भवन निर्माणका लागि संस्थाले २२ हजार आर्थिक सहयोग गरेका थियो । संस्थाद्वारा बनभोज, बार्षिकोत्सव कार्यक्रम हुनुका साथै महिला दिदि बहिनिहरुमा देखिने पाठेघरको मुखको क्यान्सर पहिचान शिबिर एचसिआरसि अस्पतालको सहयोगमा सम्पन्न गरिसकेको छ । स्त्रीरोग विशेषज्ञ डाक्टर मन्जु शाहले चेक जाँच गरेको सो शिबिरबाट ५० बढि महिलाहरुले लाभ लिएका थिए । २०७८ सालमै रामलिला मैदानमा निल सागर सेवाश्रमको भवन निर्माण सहयोगार्थ सञ्चालित महायज्ञमा म आयोजक समितीको उपाध्यक्ष भएरै संस्थाको तर्फबाट सहयोग गरेको थिएँ भने दिदी बहिनीको टिमले स्वयंसेवकको रुपमा महायज्ञमा सहयोग गरेको थियो ।

२. यहाँहरुको सहकार्य कुन-कुन संस्था र निकायहरुसँग रहेको छ ?
– हाम्रो संस्थाको बास नेपाल, एच.सि.आर.सि हस्पिटल र र मन्टेश्वरी एसोसियसन लगायतका संस्थाहरुसँग सहकार्य रहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ-कहाँ काम गर्नु भएको छ ?
– समाजमा पिछडिएका महिलाहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले हाल बाँकेलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के-के हुन ?
– संस्थाकै पदाधिकारीहरुको सहयोगबाट क्यान्सर लगायत रोगबाट पीडित र अन्य सहयोगापेक्षीलाई संस्थाका तर्फबाट भएको आर्थिक सहायता, निलसागर सेवा आश्रमलाई गरिएको सहयोग, २०७८ साल चैत्र महिनामा रामलिला मैदानमा सम्पन्न महायज्ञमा सहयोग, महिलाका लागि शिबिर लगायतका कार्यहरू यस संस्थाले गरेका उल्लेखनीय कार्य हुन् ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– संस्था सञ्चालनार्थ आर्थिक चुनौती देखी हाम्रा कुराहरु सम्बन्धित निकायहरुले नसुन्ने चुनौती एकातर्फ छ भने अर्को तर्फ हाम्रो प्रमुख उद्देश्य महिला अधिकारको वकालत गर्ने बिषय आफैमा चुनौतीपूर्ण छ त्यसका बाबजुत हामी उद्देश्यमा नडगमगाई अघि बढिरहेका छौं ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– महिला अधिकारका लागि वकालत गर्ने, महिला माथि हुने सबै प्रकारका हिंसा र बिभेद बिरुद्ध जनचेतना फैलाउने, महिलाहरुको क्षमता, उद्यमशिलता, सिपबिकास र हकहितका लागि वकालत गर्नुका साथै महिलाहरुको समग्र बिकासका लागि विभिन्न गतिविधिहरु संचालन गर्ने र मानव सेवाका कार्यहरू गर्ने हाम्रो योजना रहेको छ । त्यसैगरी पोषाख, कपी कलमको अभावले बिद्यालय जान नसकेका बिद्यार्थीहरुका लागि आर्थिक सहयोग गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– सँघ सँस्थाहरुको एक-आपसमा समन्वय हुन जरुरी छ । म आफु सानै देखी समाज सेवा भावको व्यक्ति भएको नाताले समाज सेवा गर्ने उद्देश्यले यस संस्थाको नेतृत्व लिएर काम गरिरहेको छु । मलाई सबै पदाधिकारी, सदस्यहरुबाट राम्रो सहयोग प्राप्त भएको छ, यसमा एकदम खुशी छु । अन्तमा सबैलाई आ-आफ्नो स्थानबाट समाजसेवाका कार्य गर्न आग्रह गर्दछु ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech