देशमा रोजगारीको वातावरण नभएको र उच्च शिक्षाका लागि भन्दै बिदेशिने नेपाली युवाको संख्या हरेक बर्ष बढ्दो छ । पछिल्लो समय अध्यागमन विभागले प्रकाशन गरेको तथ्यांक अनुसार एक बर्षमा महिला र पुरुष गरि १६ लाख ३ हजार ८ सय ३६ जना नेपाली विदेशिएका छन् ।
अधिकांश युुवाहरु रोजगारीको लागि विदेशिनुका साथै केहि युवाहरु भने उच्च शिक्षाको लागि बिदेशिएको पाईन्छ । रोजगारीको लागि खाडि मुलुक गएका नेपाली युवाहरु केहि बर्ष दुःख गरेर केहि सम्पति जोडेर नेपाल फर्कन्छन् तर अहिले अधिकांश युवाहरुको पहिलो रोजाई खाडि मुलुक नभई युरोपियन देशहरु हुने गरेका छन् । युरोपियन देशहरु पहिलो रोजाईमा हुनुको कारण भनेको राम्रोे कमाईका साथै केहि बर्ष पश्चात त्यस देशको पि.आर. प्राप्त गरि स्थायी रुपमा सोहि देशमा आफ्ना परिवार सहित स्थानान्तरण हुनु हो । यसरी हेर्दा झन उच्च शिक्षाको लागि गएका युवाहरु यो देशमा फर्किन्छन भन्नु दिवा सपना देख्नु जस्तै हो ।
मेरो देश कृषि प्रधान देशको नामले चिनिन्छ तर कृषकलाई उत्पादनका लागि प्रर्याप्त मल खाद छैन, सिचाईको सुबिधा छैन, आधुनिक उपकरण र प्रविधि छैन र पनि किसानले निकै मेहनत गरेर बर्षभरि उत्पादन गर्छ तर बिडम्बना उसले उत्पादनको मुल्य पाउँदैन, राज्यले कृषकका लागि अनुदानका कार्यक्रम चलाउँछ तर बास्तबिक किसानले नपाई कागजि किसानले प्राप्त गर्दछ, एउटा व्यापारिले लगानि गरेर व्यापार गर्छ तर उसले नाफा भन्दा बढि राज्यलाई कर बुझाउँछ, बिद्यार्थीहरुले निकै मेहनतका साथ पढ्छन् तर उसको दक्षताको आधारमा रोजगारिको ग्यारेन्टि हुँदैन । अधिकांश सरकारी तह र तप्काहरु भ्रष्टाचारले जेलिएका छन् । स्थानीय तहहरुले नागरिकलाई स्वरोजगार बनाउनको लागि सिप विकास भन्दा पनि कमिशनको खेलो हुनसक्ने भौतिक पुर्वाधारको विकासमा खर्च गर्न चासो राख्दछन् । दिगो र दिर्घकालिन योजना कहि कतै गरेको देखिदैन ।
जब एउटा युवाले उसको बुवाले मेहनत गरेर उत्पादन गरेको धानको मुल्य नपाएको देख्छ, उसको दाईले बैंकबाट क्रण लिई व्यापार गर्छ र राज्यलाई करका साथै बैंकको व्याज तिर्न नसकेर बैंकमा राखेको जग्गा लिलाम भएको देख्छ, सरकारी कार्यालयहरुमा पटक पटक धाउँदा पनि घुस बिना काम नभएको देख्छ, पद र शक्तिको आधारमा नाताबाद र कृपाबाद हाबि भएको देख्छ, पैसावालाको अगाडि कानुन कमजोर भएको देख्छ, शक्तिकै आधारमा न्यायालय मौन भएको देख्छ, जताततै हत्या हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढदो देख्छ, यहि देशमा केहि गर्नुपर्छ भन्दै बैंक तथा बित्तिय संंस्था, गैरसरकारी संस्था लगायत विभिन्न सरकारी सेवामा जागिर गर्ने कर्मचारीले ओहो यहाँ कमाएको पैसालेत घरनै धान्न गाह्रो भयो अब अरु बिकल्प खोज्नुपर्छ भन्दै जब हरेक क्षेत्र धमिलो देख्छ तब हरेक युवाको सपना मर्दछ र अन्नतः आफ्नो परिवारको सुन्दर भबिष्यको लागि सोच्दै बिदेशिने निर्णय गर्दछ ।
यो देशमा ठुला ठुला व्यवस्था परिवर्तन भए तर आम नागरिकको अवस्था परिवर्तन भएन । आजसम्म राजनैतिक दल र ति दलका नेताहरुले नागरिकको सपना माथि खेल मात्र खेलिरहे, दिवा सपना बाहेक अरु केहि देखाउन सकेनन् । हरेक राजनैतिक दल र ति दलका नेता प्रति नागरिकको विश्वास घट्नुका साथै वितृष्णा बढिरहेकोछ त्यसैले हरेक युवाले अब देश बनोस या नबनोस म र मेरो परिवारको भविष्य बनाउनुपर्छ भन्दै बिदेशि रहेका छन् ।
केहि प्रश्नहरु उब्जिएका छन्, के साच्चिकै यो देशमा युवाहरुको भबिष्य सुनिश्चित नहुनेनै हो त ? यदि अवस्था आज भन्दा भोलि राम्रो नहुने हो भने अरु युवा जस्तै म पनि विदेशिनु पर्नेत होईन ? म जसोतसो यस देशमा रहुँला तर के मेरो सन्ततिलाई मैले भोलिको दिनमा रोक्न सकँुला ? आखिर यो देश कहिलेसम्म रेमिट्यान्सले धानियला ? यो देशका राज नेताहरुको बुद्धि कहिले फिर्ने होला ?
मेरो लाचार सरकार आज पनि थप बिदेशि राष्ट्रहरुमा श्रम सम्झौता गर्छ तर नयाँ र ठुला उद्योग स्थापना गर्न सक्दैन । यसको अर्थ यो देशको अर्थ व्यवस्थालाई धान्नको लागि नेपालि युवाहरुलाई बैदेशिक रोजगारमा जाउ भन्न बाहेक अन्य कुनै बिकल्प यो राज्यले दिन सकेको छैन । गत एक बर्षमा जति युवाहरु बिदेशियका छन् त्यसको दोब्बर युवाहरु आगामि दिनमा बाहिरिने निश्चित छ । अन्ततः दक्ष जनशक्ति बाहिरिदै एकदिन मेरो देश युवा बिहिन हुनेछ । यस तर्फ कसले सोचिदिने ?