नेपालको सामान्य सुधार तर भ्रष्टाचार यथावत

हेम राज भट्ट

नेपालगन्ज । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३ को नतिजा सार्वजनिक गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल केही सुधार देखिएको छ ।
सीपीआई २०२३ मा नेपालले १०० मा ३५ अङ्क हासिल गर्दै १०८ औं स्थानमा देखिएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ सहित ११० औं स्थानमा रहेको थियो । सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको टीआईको प्रतिबेदनमा उल्लेख गरिएको छ । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको सार्वजनिक नतिजामा उल्लेख गरिएको छ ।
सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क सहित २६ औं, भारतले ३९ अङ्क सहित ९३ औं, माल्दिभ्सले ३९ अङ्क ९३ औं, नेपालले ३५ अङ्क १०८ औं, श्रीलङ्काले ३४ अङ्क ११५ औं, पाकिस्तानले २९ अङ्क १३३ औं, बङ्गलादेशले २४ अङ्क १४९ औं र अफगानिस्तानले २० अङ्क १६२ औं स्थान प्राप्त गरेका छन् भने छिमेकी मुलुक चीनले ४२ अङ्क सहित ७६ औं स्थान प्राप्त गरेको छ ।
सीपीआई २०२३ सूचकाङ्कमा रहेको नेपालको विषम स्थितिलाई मध्यनजर गर्दै भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशिघ्र अति गम्भीर हुन जरुरी रहेको देखाएको छ । नेपालको संसदमा विचाराधीन रहेका भ्रष्टाचार विरोधी ऐन कानुनलाई फितलो बनाउने प्रयास रोक्न, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न, सार्वजनिक पदाधिकारीहरूको सम्पत्तिको जाँच गरिने सरकारको प्रतिवद्धता कार्यान्वयन गर्न र राजनीतिक पदाधिकारीहरूद्वारा मन्त्रीपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सरकारलाई माग गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारहरूको ध्यानाकर्षण गरेको उल्लेख गरेको छ । सीपीआई २०२३ मा नेपालको स्कोर बर्टेल्सम्यान फाउन्डेशन, ग्लोबल इनसाइट, भी–डीईएम, विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्ट र सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानी तयार गरिएको उल्लेख गरिएको छ ।
१८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech