आन्दोलनको मेला किन लागेको छ काठमाडौँमा ?

गणेश धामी

महँगा तारे होटलमा तामझामपूर्ण कार्यक्रम छैन। कोही कसैलाई स्वागतका खादा र माला लगाइरहेको छैन। झकिझकाउपूर्ण स्वागतद्वार, तुल र ब्यान छैनन्। राज्यका कोही ठूला ओहोदावाललाई उद्घाटनको दियो बाल्न लगाइएको छैन। सरकारी उपदेशवाला भाषण पनि छैनन् ।

कोही कर्पोरेट संस्थाको प्रायोजन छैन। कोही ठूला दातृ निकायहरूका ब्यानर छैनन्। प्रतिनिधिमण्डलका सदस्यहरू काठमाडौँका ठमेल, सुन्धारा, बसपार्क र कलंकीका बजेट होटल तथा गेस्ट हाउसका कोठा सीमित स्रोतसाधन ‘सेयर’ गरेर बसेका छौँ। हामीमध्ये केहीचाहिँ गौशालाको धर्मशालामा छौँ ।

हाम्रा कार्यक्रम हामी भृकुटीमण्डपका खुला चौर र मण्डपमा भइरहेका छन्। नेपाल ल क्याम्पस, वाल्मीकि क्याम्पस र रत्नराज्य क्याम्पसका विद्यार्थीले बस्ने बेन्च र डेस्कमा छलफल र बहस चलिरहेका छन्।

९२ देशका करिब ३ हजार प्रतिनिधिको यो काठमाडौँ भेला विश्वभरिका आन्दोलनहरूको मेला हो। यी यस्ता आन्दोलन हुन्, जसले समाजको किनारीकृत वर्गको आवाज बोल्छन्। शक्तिशाली होइन, शक्तिहीनको पक्षबाट पैरवी गर्छन्। एकाध प्रतिशतले कब्जा गरेको स्रोतमा बहुसंख्यकको अधिकारको दाबा गर्छन्।

यो नै विश्व सामाजिक मञ्च हो। यसले खोजिरहेको छ, एउटा वैकल्पिक विश्वको। यस मञ्चको १६ औँ संस्करण काठमाडौँमा भइरहेको हो। फागुन ३ देखि ७ सम्म करिब ४ सयवटा सत्रमा छलफल र बहसका कार्यक्रम चल्दै छन्।

हाम्रो दृढ विश्वास छ कि त्यस्तो वैकल्पिक विश्व सम्भव छ, जहाँ भावी पुस्ताले आजको भन्दा उन्नत पृथ्वी पाउने सुनिश्चितता आजकै पुस्ताले गर्न सकोस्। त्यस्तो विश्व, जहाँ स्रोतसाधनमा केही शक्तिसम्पन्नहरूको एकलौटी कब्जा हुने छैन। बजारमा एकाधिकार हुने छैन। सम्पन्न, विशाल र शक्तिशालीहरूको विकास अनि शक्ति प्रदर्शनको होडमा साना र कमजोर राष्ट्र अनि वर्ग मिच्याइँमा पर्ने छैनन्। विकसित र औद्योगिक राष्ट्रहरूले गरिरहेको स्रोतको दोहनको मूल्य सानाहरूले चुकाउनु पर्ने छैन।

अब बहुराष्ट्रिय कर्पोरेट संस्था र बहुराष्ट्रिय सामाजिक मञ्चहरूको अघोषित साँटगाँठ भत्किनुपर्छ। ठूलाको प्रगतिसँगै सानाको हक सुनिश्चित हुनुपर्छ। प्यालेस्टिनी निर्दोष बालबालिकामाथि बम बर्साउनु कुनै बहादुरी होइन, त्यो आतंकवादविरोधी लडाइँ पनि होइन। त्यो त शक्ति र दम्भको आततायी प्रदर्शन हो।

श्रम आप्रवासन दासत्वको नयाँ संस्करण बनिरहेको छ। खाडी र मलेसियामा श्रम गर्ने ती तेस्रो विश्वका नागरिक, जसलाई न्यूनतम मानव अधिकार छैन। ट्रेड युनियन अधिकार छैन। राहदानीलगायत आफ्ना आधारभूत कागजात र पहिचानसमेत ती आधुनिक साहुहरूलाई जिम्मा लगाएर बँधुवा मजदुरजसरी काममा लगाइएको छ। पराईको भूमिमा युवाको त्यो हालत देशलाई दुख्दैन। देशका शासकहरू रेमिट्यान्सको लतमा मदमस्त छन्। यी युवा श्रमिकको न्यूनतम अधिकार हाम्रो अर्को चासो हो।

भारतको किसान आन्दोलन होस् कि हाम्रै देशको दलितमाथिको विभेद र जनजातिमाथिको वञ्चितीकरण, प्राकृतिक स्रोतको सन्तुलित अनि समन्यायिक प्रयोगको आवाजमा बल भर्नुपर्नेछ। मानव अधिकारको नारासँगै विध्वंशक हतियार निर्यात गर्नेहरूसँग विश्वलाई सावधान गराउनुपर्नेछ। रैथाने बाली र बीउहरूलाई उजाड बनाएर, रैथाने किसानहरूलाई रित्याएर सारा बालीप्रणाली केही थान कर्पोरेट कम्पनीहरूको कब्जामा पुर्‍याइँदैछ, त्यसपछि विश्वलाई जागरुक बनाउनुपर्नेछ। रैथाने किसानको मल, बीउ र डोकोसमेत नचल्ने र त्यसको ठेक्का कुनै कम्पनीले लिने अवस्थाको अन्त्य गर्न पनि हामीलाई वैकल्पिक विश्व चाहिएको छ।

प्रविधिले आज जीवनलाई सहज माात्र बनाइरहेको छैन, तपाईं–हाम्रो निजत्वहरण पनि गरिरहेको छ। नयाँ प्रकारको दासत्वको सिर्जना गरिरहेको छ। सुरक्षामा चुनौती थपिरहेको छ। त्यसैले प्रविधिको विकासमा पनि सामाजिक न्यायका ‘फिचर’ र उपकरण जडान गर्दै जानुपर्नेछ।

शिक्षा र स्वास्थ्य नाफाखोर व्यापारीलाई जिम्मा लगाएर हात टकटक्याइरहेका राज्य र शासकहरू त हामीले फेर्ने प्रत्येक श्वासमा पनि कर र शुल्क उठाउन उत्सुक छन्। तर, तिनीहरूलाई हामीले सोध्नु छ, तिम्रो राज्य र शासनचाहिँ केका लागि हो? नागरिकबाट उठाइएको कर कहाँ खपत भइरहेको छ ?

जुम्लाबाट उठाइएको मालपोतको पैसा कतै बानेश्वरमा खाल्डो परिरहने सडकमा मात्र बर्सेनि बगिरहेको छ कि? सुदूरका विकट बस्तीमा उपचार नपाएर सुत्केरी व्यथासँगै ज्यान गुमाउनुपर्ने महिलाको अवस्था एकातिर छ, अर्कोतिर राज्यको सुविधा अपच भएर सरकारी निवासभित्रै व्यायामशाला निर्माणको बिल प्रधानमन्त्री कार्यालयबाट भुक्तान गर्नुपरेको छ। यी विरोधाभास मेटाउनु छ।

यस्तै र यिनै सवाल र आवाजमा बल दिन विश्व सामाजिक मञ्चमा छौँ। यो कुनै सरकारी आयोजना होइन। विशुद्ध नागरिक तहका आन्दोलनहरूको समष्टि मेला हो। निर्धन र निहत्थाहरूको पक्षको आवाज हो। विकास र शक्ति आर्जनको होडमा निमोठिएका र दबाइएका आवाजहरूको आवाज हो। त्यसैले प्रत्येक नागरिकको स्वाभिमान र सुरक्षा हाम्रो मूलभूत चासो र आधारभूत अडान हो।

काठमाडौँमा यो मञ्च हुनु थप अर्थपूर्ण छ। हामी सांस्कृतिक विविधतामा विश्वास गर्छौँ। रैथाने ज्ञान, अल्पसंख्यकको स्वाभिमान, किनारीकृतको मूलप्रवाहीकरण आजका हाम्रा मुख्य मुद्दा हुन्। युवा पलायनको कहालीलाग्दो क्रम अनि खुला विश्वले उपलब्ध गराएका सबै खालका अवसरमा दाबी गर्न पाउने अधिकारको बीचमा सन्तुलन ल्याउनु छ। पुँजीवादीकरण र विश्वव्यापीकरणको भेलमा लपेटिएको सामाजिक न्यायको मुद्दा पुनः स्थापित गराउनु छ।

हामी त्यसैले भेला भएका हौँ, भृकुटीमण्डपमा।

(युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामी विश्व सामाजिक मञ्च-२०२४ मा युवा परिचालन समितिका संयोजक छन्।)

– नेपाल खबरबाट

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech