बर्दिया/बर्दियाको राजापुर नगरपालिकाको लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न भएको छ । राजापुर नगरपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा उक्त लैससास परिक्षण शुक्रबार सम्पन्न भएको हो ।
लैससास परीक्षणमा पालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लैँगिक समानता तथा सामाजिक समावेशिकरणको क्षेत्रमा गरेका सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा गरेका कार्यक्रमको परीक्षण गरिएको हो । स्थानीय तहहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था कस्तो छ, सुधार गर्न पर्ने पक्षहरु के के रहेका छन् र त्यसका लागि के के गर्न अवश्यक छ भनेर विधिवत रुपमा लेखाजोखा गर्न वार्षिकरुपमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण गर्नुपर्ने व्यवस्था रहेको छ ।
चार दिन सम्म गरिएको लैससास परीक्षणमा राजापुर नगरपालिकाले तर्जुमा गर्ने नीति, कार्यक्रम तथा बजेट, बार्षिक योजना तर्जुमा प्रकृया, आयोजना व्यबस्थापन तथा कार्यान्वयन, र अनुगमन तथा मुल्याङ्कन गर्ने क्रममा संघीय, प्रदेश तथा स्थानीय सरकारले अवलम्वन गरेको राष्ट्रिय तथा प्रादेशिक नीति बमोजिम तय भएका लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण सम्बन्धि कार्यक्रमहरुको कार्यावन्यनको अवस्थाको समिक्षा गरिएको थियो ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण दिग्दर्शन, २०७८ ले तोकेका ५ क्षेत्रहरु (मुख्य सूचकहरु) नीति, कानुन, योजना, संस्थागत व्यवस्थापन, मानव संसाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मूल विषय क्षेत्रहरु र यी क्षेत्र भित्र पर्ने २२ वटा उपक्षेत्रहरु नीति र कानूनमा समावेशिता र सहभागिता, योजना तर्जुृमा तथा कार्यन्वयन, बजेट तर्जुमा तथा कार्यान्वयन, कर्मचारी तथा पदाधिकारीको प्रतिनिधित्व, कार्यप्रणाली समावेशिता, समिति उपसमिति र कार्यदलमा प्रतिनिधित्व, वित्त ब्यवस्थापन प्रणालिमा समावेशि, तथ्यांक संकलन तथा ब्यवस्थापन, मानव संसाधन तथा क्षमता विकास, अनौपचारीक मूल्य मान्यता र कुसंस्कार बिरुद्ध जनचेतना, कानूनी साक्षरता, विपत ब्यवस्थापनामा समावेशिता, पूर्वाधार विकास, प्रजनन स्वास्थ्य, शिक्षा कार्यक्रम, खानेपानि तथा सरसफाई, स्वरोजगार तथा आयआर्जन र वजार ब्यवस्थापन, सुशासन, उत्तरदायित्व र जवाफदेहिता, सूचना तथा संचार, अनुुगमन तथा मूल्याङ्कन, समन्वय र सम्बन्ध विस्तार लाइ लैससास परीक्षणको क्षेत्र बनाइएको थियो ।
परिक्षण कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्षहरु, कार्यापालिका सदस्य, विषयगत शाखाका प्रमुख, बिभिन्न संघसंस्था तथा सञ्जालका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । बास नेपालका केन्द्रीय उपाध्याक्ष शिव कुमार वर्माले सञ्चालन गरेको कार्यक्रममाा बासका कार्यक्रम प्रवन्धक तथा लैससास परीक्षक मन भण्डारीले लैससास परीक्षणको नतिजा सहितको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास निरिक्षक रिता कुमारी थारुले स्वागत गरेकी थिइन् ।