मैले देखे, बुझेको सुर्खेत

भगवती बि.सी.

‘सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल‘.’ नेपाली लोकगीतको क्षेत्रमा चर्चित यसै गीतले हो बुलबुले ताललाई नेपालभर चिनाएको ।

यो गीतले प्रेमका कुरा मात्रै नभएर यसले सुर्खेतको वर्णन पनि गरेको छ । बुलबुले ताल सुर्खेत जिल्लाको मात्र नभई कर्णाली प्रदेशकै पहिचानको रुपमा रहेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएर रहेकोछ । जमिनमुनीबाट बुलबुल गर्दै निस्कने पानीलाई संकलन गरी कृतिम ?पमा बनाइएको ताल हो । यो तालमा पु?ष र महिलाकालागि स्नान गर्नकालागि ५/५ वटा धारा रहेका छन् । यही धाराबाट बगेको पानी उद्यानको तल्लो भागमा पानीको ठूलो ताल बनी बसेको छ । ताल वरिपरी बनाइएको आर्कषक उद्यानले पर्यटकको मन लोभ्याउँछ । एकान्तमा बगैचामा आनन्दसँग बस्न चाहनेहरुका लागि यो बँगैचा उपयुक्त थलो हो ।

यहाँ विभिन्न संघसंस्था तथा विद्यार्थीहरु पिकनिक लागि पनि आउने गर्दछन् । यसै तालको पानीले सुख्खायामको समयमा केदी हद सम्म खानेपानीको समस्या पनि टार्ने गर्दछ । बि.स. २०३० सालमा तत्कालिन राजा बीरेन्द्रको सुर्खेत भ्रमणका क्रममा उनकै निर्देशनमा उक्त उद्यान निर्माण गरिएको हो ।

कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरिएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल गुरुयोजना अनुरुप तालको क्षेत्रफल फराकिलो बनाइएको हो । पहिले ११ हजार वर्गमिटर रहेको ताल विस्तारपछि २८ हजार वर्ग मिटरमा फैलिएको छ । ताल वरिपरि २० वटा सोलार बत्ती जडान गरिएको छ । जसले गर्दा तालको अवलोकन रात्रीकालीन समयमा पनि गर्न सकिने छ ।

तालमा माछा मार्नका लागि फिसिङ डाइक र डुँगा सवारीका लागि बोडिङ डाइक पनि निर्माण गरिएको छ । पहिलो चरणको कार्य सम्पन्न गर्न १ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ ।

वीरेन्द्रनगरमा छोटो समयको कामको शिलसिलामा होस् वा घुम्न आउँदा घुम्ने प्रमुख पर्यटकीयस्थल बुलबुले ताल हो । यहाँ तालका साथै बुलबुले उद्यान क्षेत्र पनि भएकाले मानिसहरू बाहिर जिल्लाबाट समेत पिक्निक खान आउने गर्दछन् । स्थानीय मानिससमेत उद्यानको आनन्द लिनका लािग त्यहाँ पुग्ने हुनाले विशेषगरी बिदाको दिन र अन्य दिनसमेत पर्यटकको घुइँचो हुने गर्दछ । बुलबुले तालको नामले रचिएका विभिन्न गीतले समेत राष्ट्रिय रूपमा चिनिएको बुलबुले तालमा घुम्न आउने पर्यटकले यसअघि सोचे अनुरुप पाउँदा मन खिन्न बनाउने गरेकोमा पछिल्लो समय भने यसलाई व्यवस्थित गर्दै लगिएको छ । यो ताल पर्यटन वर्षका सन्दर्भमा उत्कृष्टमध्येको एक स्थानका रूपमा राखिएको थियो ।

जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको यहाँका स्थानीयहरुको भनाई छ । समुन्द्र सतहबाट लगभग ६५७ मिटर को उचाइमा अवस्थित यो तालमा पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुरदेखि उत्तरतर्फको रत्न राजमार्ग हुँदै करिब ८७ किलोमिटरको यात्रापछि सुर्खेत उपत्यका वीरेन्द्रनगर बजार पुगिन्छ । बजार क्षेत्रमै बुलबुले ताल रहेको हुँदा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्दछ ।

प्रदेश राजधानीको मुख्य भागमा रहेको बुलबुले उद्यानमा पिकनिक क्षेत्र, डुंगा सवारी, रंगीन बगैचा, बाल उद्यान, सुन्दर फुलहरु, धार्मिक स्थल लगायतका संरचनाहरु रहेका छन् । वीरेन्द्रनगरको मुटुमै पर्ने बुलबुले ताल मुख्य पर्यटकीयस्थलको ?पमा रहेपनी सरकारले सार्वजनिक गरेका सयवटा पर्यटकीय गन्तव्यस्थलको सूचीमा बुलबुले ताल नपर्नाले ओझेलमा पर्ने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो ।

सुर्खेत पुगेपछि पर्यटकहरू बुलबुले ताल नपुग्ने कोहि हुदैनन् । सुर्खेतको वीरेन्द्रनगर सदरमुकाम मात्र होइन अहिले कर्णाली प्रदेशको राजधानी पनि हो । सानो तालले चर्चा हुन थालेपछि बुलबुले ताललाई ठूलो बनाइएको छ । अहिले बुलबुले ताल सानो रहेको छ भने यो तालभन्दा तल अर्को ठूलो ताल रहेको छ । बुलबुले उद्यानभित्र चिल्ड्रेन पार्क, डुङ्गा, पिपलपानी हाल्ने स्थान, र पिकनिक स्थल निर्माण भएको छ ।

एकान्त बगैचामा आनन्दसँग बस्न चाहने पर्यटकहरूका लागि बुलबुलेको बगैंचा रोजाइमा पर्दछ । पर्यटनको विकासको लागि सुर्खेतका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्न पर्दछ । सुर्खेतका प्राकृतिक, साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी तिनको संरक्षण र सम्वद्र्धन गरी प्रचारप्रसार गर्न जरूरी छ । त्यसैगरी जाजरकोट खलंगाको रिम्नादेखि सुर्खेतको राकमसम्म भेरी नदीमा ¥याफटिङ सञ्चालन गरी साहसी पर्यटकहरूलाई सुर्खेतमा प्रबेश गराउन सकिन्छ ।

सुर्खेतको बुलबुले तालपछि पर्यटकहरू घुमफिर गर्ने कांक्रेविहार, देउतीबज्यै मन्दिर, घण्टाघर, बराहताल, गढी बयलकाँडा मुख्य गन्तव्य हुन् । काँक्रेविहारको अनौठो कलात्मक शैलीले पर्यटकलाई भिन्न अध्ययन गराउँछ । लाटीकोईलीको जंगलभित्र रहेको काक्रीबिहार ऐतिहासिक स्थल हो । काक्रीबिहारमा रहेको शिखरशैलीको भग्नावशेष सम्भवतः नेपालको सबैभन्दा ठूलो बौद्ध बिहारको भग्नावशेष मानिन्छ । यो सुर्खेत जिल्लाको मात्रै नभएर नेपालकै ऐतिहासिक पुरातात्विक सम्पदा मानिन्छ ।

पुरातात्विक स्थानहरू मन पराउने पर्यटकहरूका लागि काँक्रेबिहार खुला संग्राहालय हो । यो बौद्ध धर्मावलम्बीका लागि बिहार हो भने हिन्दूका लागि मन्दिर । काँक्रेबिहार हजारौं वर्ष पुराना मूर्ति तथा कला कुदिएका ठूला–ठूला ढुङ्गाहरू छन् । जहाँ खस राजाहरूको इतिहास रहेको छ । बुद्ध शिक्षा अध्ययन गर्नेका लागि यो अनुसन्धानको थलो बनेको छ ।

सुर्खेत घुमफिर गर्ने पर्यटकहरू मात्र होइन समय मिलाउन सके कर्णालीका अन्य जिल्लामा जाने पर्यटकहरूका लागि पनि यी स्थानहरू घुमफिर गर्न सकिन्छ । कर्णाली प्रदेश घुमफिरका गर्न जाने पर्यटकहरूका लागि सुर्खेत ट्रान्जिट प्वाइन्ट पनि हो । सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजना अवलोकन गर्न पनि पर्यटहरू सुर्खेत पुग्ने गर्दछन् । नेपालमै पहिलोपटक सुरूङ निर्माणका लागि टनेल बोरिङ मेसिन टिबीएमले सुरूङ खनेर एउटा नदीको पानी अर्कोमा पानी खसाल्ने बहुउद्देश्यीय आयोजना सुर्खेतमा निर्माण भएको छ ।

बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्मको १२ किलोमिटर सुरूङमार्फत् भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिंचाई सुविधा र ४८ मेगावाट विद्युत उत्पादनसमेत हुनेछ । आजभोलि भेरी–बबई डाइभर्सन हेर्नकै लागि विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।

नेपालमा उपत्यका दुई प्रकारका रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका र भित्री मधेश अर्थात् तराई क्षेत्र र पहाडी क्षेत्रबीचको उपत्यकालाई उपत्यका भनिएता पनि साना पहाडी उपत्यकालाई टार, पाटन, बेसी र माडी पनि भनिन्छ । कतिपय माडी र टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत फैलिएर छन् ।

सुर्खेत उपत्यका कर्णाली प्रदेशमा पर्दछ । सुर्खेत उपत्यका पहाडी क्षेत्रका काठमाडाँै र पोखरा उपत्यकापछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ । वीरेन्द्रनगर शहरी क्षेत्र र ग्रामीण क्षेत्रसहितको सुर्खेत उपत्यकाबाट बग्ने खोलानालाको पानी निकास खोलामा मिसिएर उपत्यका बाहिर भेरी नदीमा मिल्दछ । सुर्खेत उपत्यका उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाब्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको छ । सुर्खेत उपत्यकामा न धेरै जाडो न धेरै गर्मी हुन्छ । सुर्खेत उपत्यकाको प्रवेशद्वार सुव्बाकुना हो ।

विभिन्न संस्कृतिको संगमस्थलका रूपमा परिचित सुर्खेत पर्यटनका धेरै सम्भावनाहरू रहेका छन् । संस्कृति, पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले सुर्खेत धनी छ । सुर्खेतमा साँस्कृतिक तथा ऐतिहासिक सम्पदाका रूपमा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने चौकुने कुवाँ, कोट भञ्जाङ, पञ्चपरीमाई, बाँदरेगुफालगायत दर्जनभन्दा बढी पर्यटक रमाउने सम्पदा छन् । यसैगरी भेरी र कर्णालीको संगमस्थल घाटगाउँमा पर्ने दोमिल्ला, विद्यापुरमा पर्ने दहताल, चमेरे गुफा, बराहताल लगायत सम्पदाहरू सुर्खेत पुगेपछि पर्यटकहरू पुग्नै पर्ने स्थल हुन् ।

वीरेन्द्रनगरदेखि ६० किलोमिटर टाढा रहेका प्रसिद्ध पञ्चपुरीमाईको मन्दिरदेखि अछाम, दैलेख, सुर्खेत र कैलालीका करीव ५० भन्दा बढी सुन्दर गाउँका सम्पदा पर्यटकले अवलोकन गर्न सक्दछन् । त्यस्तै चौकुने डाँडाको कुँवादेखि कर्णाली नदीको मनोरम दृश्यावलोकन, लालीगुराँसका सुन्दर वनलगायत सुर्खेतका दर्जनौ पर्यटकीय सम्पदा अवलोकन गर्न सकिन्छ ।

सुर्खेतको देउती बज्यैको प्रसँग राजी जातिसँग जोडिएको छ । यो मन्दिर वीरेन्द्रनगर बजारदेखि २ किलोमिटर पूर्व रत्नराजमार्ग दक्षिण लाटीकोईलीमा पर्दछ । राजी जातका पुजारी रहेको देउती बज्यैको मन्दिरमा दैनिक पूजा अर्चना गर्नुका अतिरिक्त नयाँ वर्ष, विजयादशमी, रामनवमी, शनिबारका दिन विशेष भीड लाग्ने गर्दछ । राजी जाति सुर्खेतको आदिवासी जनजाति हुन् । सातौँ शताब्दीतिर यस जिल्लामा यिनीहरूको राज्य थियो भनिन्छ ।

बाह्य मुलुकबाट आक्रमण गरेर पराजित भएपछि जंगल पसेर कन्दमूलले जीवन निर्वाह गरेर बस्न थालेका राजीको माछा मार्ने जालमा नदीमा बग्दै आएकी कन्या परेको प्रशंग देउती बज्यैको मन्दिरसँग जोडिएको छ । नदीमा जाल खेलिरहेका बखत कन्या नदीले बगाएर ल्याएको जालमा परेर तिनलाई राजीले उद्धार गरी आफ्नो घरमै पालेर हुर्काए । ठूलो भएपछि बिहे गरिदिन लाग्दा नमानेर अग्नीमा प्रवेश गरेर देह त्याग गरेको इतिहास रहेको छ । राजीलाई सपनामा आफू गंगामाला देवीको रूपधारणा गरेको बताइन् ।

सुर्खेत पुग्ने पर्यटक गढी सिद्धपाइला पुगेन भने सुर्खेत उपत्यका सबै अवलोकन गर्न सक्दैन । वीरेन्द्रनगर–१४ स्थित ऐतिहासिक गढी, रातानांग्ला, सिद्धपाइला मन्दिर, लादे भ्यू–टावर, भोटेगढी, बटुक भैरव मन्दिरजस्ता स्थल घुमफिर गर्न छुट्यो भने पर्यटकहरू पछुताउनु पर्दछ । बयलकाँडादेखि सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । बयलकाँडा पुरतात्विक तथा ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण स्थल हो । बयलकाँडा गढी समुन्द्री सतहदेखि एक हजार ५२२ मिटर उचाइमा छ । कुनै कालखण्डमा शासकहरूले रेकी गर्नका लागि निर्माण गरेका गढी अहिले भग्नावषेश मात्र देख्न सकिन्छ ।

पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण अर्थात् घुमफिर हो । एक स्थलबाट अर्को स्थलहरूमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी घुमफिरले महत्वपूर्ण स्थलहरूको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । घुमफिरबाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरूको अध्ययन अनुसन्धान गर्न सकिन्छ । पर्यटकहरूको लागि सुर्खेतका गाउँघरमा घुमफिर गर्ने धेरै स्थलहरू भएपनि ती सबैस्थानको पहिचान हुन् सकेको छैन भने अर्कातिर पहिचान भएका स्थलको बारेमा पनि प्रचारप्रसारको अभाव रहेको छ ।

(बिसी बास नेपालकी सामाजिक परिचालक हुन् ।)

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech