बालबालिकामा लगानी गरौँ

माधव कार्की

मोहन राज भट्ट, अध्यक्ष

एपोष्टल बालगृह नेपाल

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हाल सम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– नेपालको वर्तमान सामाजिक विकृति, पछौटेपन, अशिक्षा, चेतनाको अभाव, आर्थिक कमजोरी र प्राकृतिक प्रकोप जस्ता विभिन्न परिस्थितीबाट पीडित भई आमा बाबु विहिन, गरिब, असहाय, सडक बालिकाहरुलाई माया, स्नेहका साथ उनीहरुको उचित शिक्षा, पालनपोषण, स्वास्थ्य जीवन दिनुका साथै उनीहरुलाई देशका असल नागरिक तथा स्वरोजगार गराई आत्म निर्भर बनाउँदै लैजाने उद्देश्य राखी यस एपोष्टल बालगृह नेपाल संस्थाले वि.सं. २०६९ सालमा स्थापना भई लक्षित वर्गका बालबालिकाहरुबिच काम गर्दै आइरहेको छ ।
यस एपोष्टल बालगृह नेपालले विभिन्न जिल्लाहरुका विभिन्न भाषाभाषी जातजाती र वर्ग र समुदायका आमा बाबु नभएका अनाथ, असहाय, गरिब, परिवारका बालबालिकाहरुलाई यस बालगृहमा राखी उनीहरुको गास, बास, कपास, स्वास्थ्य र शिक्षाको व्यवस्था गर्र्दै आएको छ ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– एपोष्टल बालगृह नेपाल ले जिल्ला प्रशासन कार्यालय बाँके, समाजकल्याण परिषद र राष्ट्रिय बाल अधिकार परिषद साथै नेपालगञ्ज उप–महानगरपालिकाको अभिभावकत्व र विभिन्न व्यक्ति तथा गैरसरकारी संस्थाहरुको सहयोग तथा सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– हामीहरुले समाजमा भएको विभिन्न जातजाती, वर्ग र समुदायका आमा बुबा विहिन अनाथ, असहाय, गरिब, परिवारका बालबालिकाहरुका लागि काम गरिरहेको छ । हाम्रो नेपालगञ्ज उप महा नगरपालिका वडा नं ४ मा प्रधान कार्यलय रहेको छ र हाल यस एपोष्टल बालगृह नेपालले यसको शाखा विस्तार गरि कर्णाली प्रदेशको पश्चिम रुकुममा रहेको चौरजहारी नगरपालिका वडा नं १ मा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

४. हालसम्म गरिएको उल्लेखित कार्यहरु के के हुन् ?
– यस एपोष्टल बालगृह नेपालले हालसम्म ३४ जना बालबालिकाहरुलाई बालबालिकाहरुलाई पालनपोषण, आवास र शिक्षा तथा खेलकुद प्रदान गर्दै आएको छ । जसमध्ये ६ जना बालबालिकाहरुलाई आफ्नो परिवारसँग पुर्नस्थापना गरिएको छ ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नु परेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्दै गर्दा आर्थिकको चुनौतीका बावजुत अन्य धेरै चुनौतिहरुको सामना गर्नुपरेको छ जस मध्ये जनमानसमा सामाजिक सेवा भावनाको कमि हुँदा अपेक्षा गरेको सहयोग मिल्न नसक्नु, अनाथ तथा असहाय बालबालिकाहरुप्रति स्वयं परिवार र समाज समेत सेवामा पछि हट्नुका साथै राज्यले त्यति उत्तरदायित्व नहुँदा सामाजिक काम गर्न निकै चुनौती रहेका छन् ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– यस बालगृहको भावी लक्ष्यहरु अझ अनाथ बालबालिकाहरुको साथै गरिब तथा अपाङ्ग बालबािलकाहरुको लागि छुट्टै सुविधासम्पन्न आवास र शिक्षाको लागि पहल गर्ने रहेको छ । साथै तिन प्रदेशमा शाखा सञ्चालन गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– आजका बालबालिकाहरु भोलिका आधार स्तम्भहरु र देशका भविष्य हुन् । बालबालिकाहरु माथि लगानी गर्नु राज्य र व्यक्ति दुवैको त्यति नै महत्वपूर्ण जिम्मेवारी छ । समाजका हरेक वर्ग मिलेर विभिन्न कारणले पिछडिएका बालबालिकाहरुको अधिकारको संरक्षण र संबद्र्धधन गरि आत्मनिर्भर समाजप्रति उत्तरदायी बनाउन यस्ता परोपकारी काममा हातेमालो गर्न आवश्यक छ । आऔ हामी मिलेर बालबालिकामा लगानी गरौँ र हाम्रो देशको भविष्यलाई सुरक्षित गरौँ ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech