किशोरा अवस्था देखि बासमा

कल्पना अधिकारी

साधारण परिवारमा हुर्कदै भर्खर बिद्यालय स्तरको पढाइ सकेर सामान्य रुपमा घरकै काममा रुमलिएर बसिरहेकी एक किशोरी थिएँ म त्यति बेला । संघ सस्ंथाको बारेमा केही थाहा थिएन मलाई मात्र थाहा थियो त पढाइ स्कुल, घरको काम । यसै क्रममा घरमा परिक्षा दिएर परिक्षाको नतिजा पर्खेर बसेकी मलाई बास भनेको केही थाहा थिएन किनकी मेरो लगभग बाल्यकाल बर्दियामै बित्यो, बाँकेमा भर्खर बसाइ सरेर आएका थियौं हामी त्यति बेला ।

एकदिन गाउँकै एकजना अंकल अध्यक्ष विरेन्द्र शाहीले आज बास नेपालको एउटा तालिम छ नानी केही कुरा सिकिन्छ हाम्रो घर आउनु भनेर जानुभयो, त्यो समयमा वहाँ बनकटवा गाविस स्तरिय उपशाखा हुनुहँुदो रहेछ । उहाँ कै घरमा एक दिने असल शासनका लागी स्थानीय जागरण तालिम २०६३ बैशाख २० गते सम्पन्न भयो । उक्त तालिममा मैले सहभागि हुने अवशर पाएँ, मेरो लागि जीवनको पहिलो तालिम थियो त्यो ।

तालिम निकै प्रभावकारी लाग्यो, धेरै कुराहरु सिक्न पाएँ मैले । त्यो तालिमको अन्तमा परिक्षा पनि लिइएको थियो । जसमा दिनभर आफुलाई मन परेको बिषय र तालिममा सिकाईएका कुराहरुको बारेमा लेख्न लगाइयो । जसमा ३,४ जना ले राम्रो लेखेछौँ । जसको कारण तालिमको सहजर्कता माधव कार्की र इश्वर बि.क. ले त्यस पछि नौवस्ता गाविसमा हुने तालिममा सहजर्कताहरु छान्नु भयो जसमा । म पनि छनौट भएँ, जसबाट म एकदम खुशि भएँ । हरेक तालिमका उत्कृष्ठ सहभागिहरुलाई अर्काे गाविसमा हुने तालिममा सहजकर्ता बनाउने रणनीति रहेछ सायद संस्थाको । जीवनमा पहिलो पटक तालिममा सहभागि भएको मलाई सहजकर्ता बनेर सहजिकरण गर्ने अवसर पाउनु खुसीको कुरा थियो तर चुनौती पनि थियो मेरा लागि । मलाइ त्यो दिन रातभर निन्द्रा लागेन । निन्द्रा नलाग्नुको पनि रमाइलो कारण थियो ।

एक त पहिलो पटक तालिम दिदै थिएँ, तालिम कसरी सहजिकरण गर्ने भन्ने पिरलो थियो । अर्काे बनकटवामा भएको तालिमको अन्तमा बास नेपाल (त्यति बेला बागेश्वरी असल शासन क्लब मात्र भनिन्थ्यो) ले सुशासनका लागि नागरिक सहयोग कार्यक्रम शुरु गरेको थियो । जसका लागि सुशासनको भाँडो लेखिएको भुड्कि (माटोको भाँडो) दिएको थियो । जसमा हरेक दिन २ रुपैयाँ डलर प्रतिदिन हालेर दुई महिना भित्र १२० रुपैयाँ जम्मा गर्नुपर्ने थियो । जुन रकमबाट सुशासनका लागि बिभिन्न कार्यक्रम गर्ने भनिएको थियो । सो भुड्कीमा कसरी १२० रुपैयाँ जम्मा गर्ने भन्ने चिन्ता थियो ।

जे होस पछिल्लो दिन हुने तालिमका लागि साइकलमा १६ किलो मिटर टाढा रहेको नौवस्ताको एउटा स्कुलमा गएँ । मेरो बिषय किन संस्कृति थियो । मैले सो बिषयमा सहजिकरण गरेँ । २६ जना सहभागिको माझमा जीवनको पहिलो सहजिकरणको अनुभव म अहिले बयान गर्नै सक्दिन । मलाइ तालिममा प्रशिक्षकको रुपमा उपस्थित हुनु भएका दाजुहरु ईश्वर बि.क. र माधव कार्कीले सहजिकरण राम्रो भएको भनेर बधाई दिएपछि त झन म त ठुलै मान्छे भएछु जस्तो लाग्यो । यो अवसरका लागि दाजुहरु माधव कार्की र ईश्वर वि.क प्रति सधै आभारी छु । वहाँहरु हाल बास नेपालको जनसम्पर्क अधिकृत र मधेश प्रदेश संयोजक हुनुहुन्छ । वहाँहरुकै कारण आज म यो स्थानमा छु । उहाँहरुकै कारण म बासमा जोडिन पुगेको हुँ ।

त्यस पछि उपशाखामा हुने हरेक कार्यक्रममा सकेसम्म जोडिए । मैले वनकटवा उपशाखाको सदस्य भएर १ वर्ष काम गरें । त्यस पछि २ वर्ष सचिव भएर काम गरें, मेरै घरमा उपशाखा कार्यालय राखियो । मैले उपशाखाको अध्यक्षको जिम्मेवारी नलिए पनि नेतृत्वलाई पुरै सहयोग गरें । यस विषयमा श्रद्धेश्य दाजुहरु नमस्कार शाह, राजु लामिछानेले मलाई उपशाखाको अध्यक्ष भएर काम गर्न भन्नुहुन्थ्यो । म त छदैछँु अरुलाई सक्रिय बनाउने हो, म गरिहाल्छु भनेर मैले अध्यक्षको जिम्मेवारी लिईन ।

यसरी उपशाखामा रहेर पनि स्थानीय स्तरमा स्थानीय निकायसँग सहकार्य गरेर धेरै कार्यक्रमहरु ग¥यांै । बासका बारेमा अरुले जे भने पनि म बास प्रति सधै सकरात्मक रुपमानै लागि रहें । यसै क्रममा मिति २०६९ असोज २७ गते बासको छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएं । त्यसपछि मैले अझ सक्रियताका साथ अघि बढें तालिम, अभिमुखीकरण लगायतका विविध गतिविधिमा सहभागि भएँ । यसै क्रममा २०७० फाल्गुण २ गते भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय भएको भन्दै मलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । जसले अझ केही गर्नु पर्छ भन्ने जोस र जाँगर बढ्यो । यसरी केन्द्रीय सदस्यमा निर्वाचित भएको १ वर्ष नबित्दै रिक्त हुन गएको मध्यपश्चिमाञ्चल उपाध्यक्ष भएर त्यो कार्यकाल पुरा गरेँ ।

निरन्तर अघि बढ्ने क्रममा बासको सातौं महाधिबेशनमा म केन्द्रीय अध्यक्षको उम्मेद्धार भएँ । निर्वाचनमा हार, जित स्वभाविक हो, मूल कुरा संस्थामा लागेर संस्थालाई अघि बढाउने मेरो प्रतिबद्धता थियो । निर्वाचनमा म पराजित भएँ । हामी तीन जना उम्मेद्धार थियौं, रमेश सिटौला, म र मन भण्डारी । मन भण्डारी दाई निर्वाचित हुनु भयो । निर्वाचनमा पराजित भएपनि अभियान र संस्थाबाट म कहिल्यै टाढा भएन, न संस्थाले मलाई टाढा बनायो । एक कार्यकालमा म यसरी टाढा भएँ भने अर्काे कार्यकालको नेतृत्व रमेश सिटौलाले गर्नुभयो, साथीहरुको धेरै अनुरोधका बाबजुत म त्यो कार्यकालमा पनि कार्य समितिमा नबसेरै सहयोग गरें ।

नवौं महाधिबेशनमा म पुनः कार्य समितिमा आएँ, केन्द्रीय कोषाध्यक्ष पदमा मलाई महाधिबेशन प्रतिनिधिहरुले सर्बसम्मत निर्विरोध निर्वाचित गराए । हाल कोषाध्यक्षको पदमा रहेर काम गरेको छु । संस्थामा आवद्ध भए पछि सबै भन्दा ठुलो कुरा त मान्छेहरुको माझमा बोल्न सक्ने भएको छु । आफनो कुरा राख्न सक्ने भएको छु । सबै भन्दा महत्वपुर्ण कुरा त एउटा राम्रो परिवार पाएको छु किन की बास मेरो यस्तो परिवार भएको छ जहाँ म मेरो व्यक्तिगत समस्या होस् वा खुसीको कुरा सबै खुलेर गर्न सक्छु । जसले मलाई मनै देखि आत्म सन्तृष्टी दिन्छ ।

संस्थाबाट अरुले खोस्न नसक्ने कुरा मैले पाएकी छु । हाल सम्म मैले बासबाट बिभिन्न तालिमहरु लिएको छु । असल शासनका लागि स्थानीय जागरण तालिम, सुरक्षित बसाई, सराई सम्बन्धी तालिम, युवा नेतृत्व विकास तालिम, सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण सहजीकरण तालिम, प्रभावकारी सुचना र कार्यान्वयन सम्बन्धी तालिम लगायतका तालिमहरु जब मैले बासबाट पाएँ मलाई अघि बढ्न धेरै सहज भएको छ ।

यसरी बासमा कार्य समितिमा रहेर जिम्मेवारी बहन गर्नुका साथै बिभिन्न तालिमहरुको सहजिकरण गर्नुका साथै बिभिन्न स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण, बिभिन्न पालिकाहरुको लैङ्गीक समानता तथा सामाजिक समाबेशिकरण परीक्षण गर्ने अवसर प्राप्त गरेको छुँ । संस्थाका धेरै सवल पक्षहरु छन्, प्रभावकारी अभियानहरु छन् । त्यस मध्येको सबै भन्दा प्रभावकारी कार्य स्वयंसेवा कार्यक्रम लाग्दछ । किनभने यस कार्यक्रमबाट धेरै युवाहरुले प्रत्यक्ष लाभ लिने अवसर पाउँछन् । अर्काे तर्फ बासले नयाँ देखि पुराना कसैलाई पनि भुल्दैन, यो बासको पहिचान हो । यो पहिचानलाई हामीले सधैं जोगाएर राख्नुपर्ने छ । हाम्रो अभियान जारी छ, आउनुहोस्, सहकार्य गरौं ।
जय बास, जय सुशासन ।
(अधिकारी बास नेपालको केन्द्रीय कोषाध्यक्ष हुन् ।)

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech