ईन्सपाईरिंगबाट उत्प्रेरित मेरो यात्रा

तपेन्द्र बहादुर मलाती (अवशेष)

बिश्वका धेरै देशहरु मध्ये पूर्व, पश्चिम, दक्षिण सिमाना भारत र उत्तर सिमाना चिन रहेको, कैयौं मठमन्दिर, ताल, नदि, छहरा र सुन्दरताले भरिएको ७ प्रदेश ७७ जिल्लाले बनेको, बिश्वमै अग्लो स्थानमा रहेको तिलिचो ताल र बिश्वकै अग्लो सगरमाथा, शान्तिका प्रतिक गौतम बुद्ध र सिताको जन्म भूमि नेपालमा जन्मीन पाएकोमा म गौरवान्बित छु ।
मेरो जन्म सुन्दर सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ बेलखेतमा भएको थियो । पहाडी जिल्ला अछाममा कहिले डाँडा, कहिले पाखा, कहिले उकाली कहिले ओरालीसँग लुकामारी खेल्दै मेरो बाल्यकाल जन्म स्थानमानै बित्यो । बि.सं. २०६९ सालमा गाउँकै श्री महेन्द्र माध्यामिक विद्यालयबाट एस.एल.सी पास गरेर उच्च माद्यामिक तहको अध्ययनको लागि म बाँकेको नेपालगन्ज आईपुगें ।
घर देखि कहिल्यै बाहिर नबसेको मेरा लागि नेपालगन्ज आएर बस्नु निकै अप्ठ्यारो थियो । टाढाको यात्रा, गाउँघर छोडेर शहरको बसाई मेरो पहिलो पटक भएका कारण मलाई नेपालगन्जका शुरुवाती दिनहरु त्यती सहज भएनन् । सानै देखि अध्ययनमा रुचि भएका कारण मैले कक्षा १० सम्मको अध्ययनमा उत्कृष्ट नतिजा ल्याएको थिएँ । बिद्यालयकै उत्कृष्ट बिद्यार्थीको रुपमा म परिचित थिए । म माथि मेरो घर परिवार र शिक्षकहरुले ठुलो विश्वास र भरोसा गरेका थिए । कुनै पनि बस्तु जति मुल्यवान हुन्छ त्यसलाई जोगाउन उत्तिकै मेहेनत गर्नुपर्छ भन्ने कुरा मैले बुझेको थिए । मैले मेरो परिवार र गुरुहरुको भरोशा र बिश्वासलाई कायम गर्नुपर्ने थियो त्यसैले नेपालगन्ज आएपछि के पढ्ने भन्ने बिषय मेरा लागि चुनौती बनेर आयो । केही समय आफन्त र चिनेजानेकाहरुसँगको सल्लाह पछि मैले नेपालगन्ज स्थित मंगलप्रसाद माध्यामिक बिद्यालयमा बिज्ञान बिषयमा भर्ना भएर अध्ययनलाई अगाडी बढाएँ ।
नेपालगन्जमा मेरो पढाई राम्रोसँग चलिरहेको थियो । मैले कक्षा १२ पास गरे स्नातक तहको अध्ययनको बारेमा सोच्दै गर्दा म बिरामी परें । नेपालगन्जमा उपचारका लागि निकै प्रयास गरें तर सन्चो भएन अन्ततः मैले उपचारका लागि भारत जानु प¥यो । केही समय मेरो पढाई रोकियो लामो समय सम्म भएको उपचार पछि म निको भएर म भारतबाट नेपाल फर्किए । म पुरानै अवस्थामा फर्किदै थिए घरमा सघाउने लगायत आफ्नो पढाईका बारेमा सोचिरहेको थिए त्यही बेला मेरो जीवनमा अर्को ठुलो बज्रपात पर्यो ।
भनिन्छ हुने कुरालाई कसैले रोक्न सक्दैन । कुरा २०७४ साल चैत १ गते को हो त्यो दिन मेरा लागि जीवनकै अन्धकार दिन हो । त्यो दिन मेरो बाबालाई मैले गुमाएँ । धेरै पीडा बोध भयो, आँखाका आँशु सुके, आफुलाई एक्लो महसुस गरे, धर्तिनै फाटे जस्तो लाग्यो । आफुलाई टुहुरो महसुस गरें ।  तर बुवा फर्किनु भएन । भर्खरै परिवार, समाज र आफुलाई बुझ्दै गरेको मेरो जीवनमा सबै भन्दा ठुलो बज्रपात प¥यो तर जे भयो त्यसलाई स्विकार्नु बाहेक मेरो हातमा अरु केही पनि थिएन ।
त्यसपछि मलाई झन घरको जिम्मेवारी बोध भयो मैले अब पुनः केही गर्नुपर्छ भन्ने सोचका साथ पुनः नेपालगन्ज फर्किने निधो गरे । त्यो समय मेरा लागि जीवनकै सबै भन्दा कठिन समय थियो एकातिर मेरो स्वास्थ्य बिग्रिएको थियो भने अर्को तर्फ बुवाको निधनको शोक । जसो तसो मनलाई सम्हालेर अगाडी बढेको थिएँ त्यो समयमा मेरा आफन्त, साथीहरुको साथ र हौसलाले मलाई बाच्न सिकाएको थियो ।
म नेपालगन्ज भएपनि मानसिक रुपमा पूर्ण ठिक अवस्थामा थिएन । एक दिनको कुरा हो मेरो नजिकको एक जना साथी हिमराज बडुवालले मलाई एउटा कार्यक्रममा जान प्रश्ताव गरे । एउटै कुरा दिमागमा सोचिरहेका कारण म त्यो कुरा भुल्न चाहन्थे जसका लागि मैले बाहिर निस्किनु पर्ने थियो तर मैले त्यो अवसर पाईरहेको थिएन । मैले कार्यक्रमको बारेमा जानकारी लिएँ उनले बास नेपालको आयोजनामा हुने इन्स्पाईरिंग युथ कार्यक्रमको बारेमा जानकारी गराए । उक्त कार्यक्रम शुक्रबार दिउसो ३ बजे देखि ४ बजे सम्म हुने रहेछ । मलाई पनि सहभागिता जनाउने उत्सुकता जाग्यो । बि.सं. २०७५ साल साउन ११ गतेको श्रृंखलामा म पहिलो पटक सहभागि भएँ ।
उक्त श्रृंखला उत्प्रेरणात्मक प्रबचनको थियो जसमा शशी सिंहको उपस्थिती थियो । उक्त कार्यक्रममा सहभागि भईसकेपछि मैले जीवनलाई बुझ्ने अवसर प्राप्त गरें । पहिलो कार्यक्रमनै मलाई असाध्यै मन प¥यो । त्यसपछि मलाई कहिले हप्ता सकिएला र अर्काे कार्यक्रममा जान पाइएला भन्ने सोच्दै त्यसपछिका दिनमा मैले कहिले पनि इन्स्पाईरिंग युथ कार्यक्रम छुटाएन ।
मलाई अहिले पनि स्मरण छ म पहिलो कार्यक्रममा सहभागि भएपछि मेरा मित्र हिमराजले मलाई कार्यक्रमको बारेमा सोधेका थिए मैले जवाफ दिएको थिए मैले मेरो जीवनको सहि खुट्किला भेटाए । त्यही कार्यक्रमबाट मैले बासका कार्यकारी निर्देशक नमस्कार शाहको बारेमा जानकारी पाए जो अछाम कै हुनुहुँदोरहेछ । त्यसपछि मैले बाससँग कसरी जोडिन सकिन्छ भन्ने तिर लागे । मलाई स्मरण भए अनुसार म गएको तेस्रो श्रृंखलामा इन्स्पाईरिंग युथको नयाँ समिति गठन गर्ने कार्यक्रम थियो म नयाँ थिए मेरो समितिमा बस्ने तिब्र चाहना थियो तर म भन्दा धेरै युवाहरु पहिले देखिनै काम गरिरहेका थिए मैले इच्छा मात्रै राखेर समितिमा बस्न सक्ने अवस्था थिएन । मेरो मनमा जसरी पनि मैले समितिमा बस्नु पर्ने भन्ने थियो मैले आफु पनि समितिमा बस्ने इच्छा जाहेर गरे । शुरुमा कसैबाट पनि मैले सहमति पाएन तर अन्तत बासका निर्देशक हेमराज भट्ट सरले मलाई सहयोग गर्नुभयो र अन्ततः मलाई समितिमा स्थान दिईयो । त्यो दिन म निकै खुसी भएँ इन्स्पाईरिंग युथ कार्यक्रममा मेरो सहभागितासँगै बास नेपालमा आवद्ध युवाहरु र बास केन्द्रीय कार्यालयमा मेरो आवत जावत निकै बढ्न थाल्यो ।
विस्तारै मैले बासका हरेक कार्यक्रममा सहभागिता जनाउन थालें । मेरो गजल र अभिनयमा समेत रुचि भएका कारण इन्स्पाईरिंग युथ कार्यक्रमको श्रृंखलामा आयोजना गरिने विभिन्न प्रतियोगिताहरुमा सहभागि हुन थालें र कयौ पुरस्कारहरु समेत हात पार्न सफल भएँ । बासले विभिन्न समयमा सडक नाटकहरु गरिरहने भएका कारण मैले नाटकमा समेत भाग लिने अवसर पाउन थालें यसले मलाई बासमा छोटो समयमा नै स्थापीत गराउन सहज बनायो ।
मान्छे परिस्थितिको दास हो । म पनि समय र परिस्थितीकै कारण भन्नु पर्छ अध्ययनसँगै नौकरी शुरुवात गरे । बुवाको निधन पछि पारिवारिक रुपमा आर्थिक समस्या आईपर्यो र जानकी गाउँपालिका वडा नम्बर ३ मा रहेको जनसेवा बोर्डिग स्कुलमा अध्यापनको काम शुरु गरें । नौकरी र अध्ययन दुबैलाईसँगै लैजादा मलाई निकै अप्ठ्यारो भयो । बिहान ९ः३० बजे देखि साँझ ५ बजे सम्म मैले बिद्यालयमा काम गर्नुु पर्दथ्यो भने त्यसबाट बचेको समय अध्ययनमा खर्चिरहेको थिए । म सँग बाहिर अन्य कार्यक्रममा जान समय थिएन तर पनि बासले गर्ने कार्यक्रममा भने म जसो तसो समय ब्यवस्थापन गरेर जाने गर्दथें । मान्छेको लगनशिलता र अनुशासनले उसको भावी बाटो तय गर्छ भन्ने कुरा सुनेको थिएँ कुरा २०७७ सालको हो बासले नेपलागन्जमा एउटा इन्स्पाईरिंग युथ कार्यक्रमको बिशेष श्रृंखला गरेको थियो म बिद्यालयमा समय ब्यवस्थापन गरेर उक्त कार्यक्रममा सहभागि भएको थिए कार्यक्रम सकिएपछि चिया खाँदै गर्दा बासका कार्यकारी निर्देशक नमस्कार शाह सरले मलाई बासकै कामको लागि अफर गर्नुभयो ।
म बिद्यालयको शिक्षक भएको वहाँलाई जानकारी थियो तर मेरो रुचि सामाजिक क्षेत्रमा देखेर होला उहाँले बिद्यालय छाडेर बासमा काम गर्ने हो भन्नु भयो, धेरै छलफल भएन, मैले उत्तर दिन नपाउँदै कुरा अन्तै मोडियो त्यहाँबाट म घरतिर लागें । मान्छेले जे चाहेको हुन्छ कहिले काहीं त्यही भईदिन्छ केही दिन पछि पुनः बासमा कार्यरत रबिन्द्र बोहराले मलाई साँझ फोन गरेरे अरु ठाउँमा काम पाएमा बिद्यालय छोड्नु हुन्छ भनेर वहाँले सोध्नु भयो ? मैले उहाँको कुरामा बिस्तृत बुझ्दा उहाँले बासमा नै कर्मचारी चाहिएको भनेपछि म केहि समय लाग्ने तर आउने ईच्छा जाहेर गरेँ । त्यसपछिका दिनहरुमा नियमित रुपमा कुराकानी भईनै रहन्थ्यो तर म दोधारमा थिएँ । निर्णय गर्न सकिरहेको थिएन । मलाई नमस्कार शाह सरले फोन गरेर सोधिरहनु भएको थियो । मैले निर्णय नदिएपछि एक दिन साँझ वहाँले फोन गरेर सोध्दा मैले प्रष्ट जवाफ नदिएपछि वहाँले तिमी बिद्यालयमै काम गर ठिकै छ भन्नु भयो । वहाँ अलि रिसाए जस्तो पनि लाग्यो । मैले त्यसपछि बिद्यालय छाडेर बासका काम गर्न आउने बाचा गरेर त्यसकै पछिल्लो दिन बासमा गएँ ।
मैले गरिरहेको काम छाडेर बासमा जाने ठुलो निर्णय गरेको थिए मलाई थाहा थिएन बासमा कस्तो सेवा सुविधा पाइन्छ भन्ने त्यसैले मलाई भित्र भित्र केही चिन्ता पनि थियो तर बासले बोलाएपछि मेरो क्षमता र योग्यता अुनसारको काम पाउँछु भन्नेमा ढुक्क थिए । म २०७७ साल माघ १ गते बास नेपालमा पहिलो पटक कर्मचारीको रुपमा हाजिर भएँ । म यस्तो भाग्यमानी थिएँ कि जहाँ मैले अन्तवार्ता नदिएरै काम गर्ने अवसर पाएको
थिएँ ।
बास नेपालमा पहिलो दिन आउदा कर्मचारीहरुसँग भेटघाट र चिनजान भयो दिन भरी नै म बास केन्द्रीय कार्यालयमा बसे बिद्यालयको ब्यस्त सेड्युलमा रहेको मलाई त्यो दिन निकै स्वतन्त्र भएको महशुस भयो, मन हलुका भयो, मनले खोजेको कुरा पाएको महसुस भयो । कार्यालयमा कर्मचारीहरु कम्प्युटरमा बसेर मजाले काम गरिरहेको देख्दा मनमा मैले पनि त्यस्तै काम गर्न पाए त कति राम्रो होला भन्ने सोचें । दोश्रो, तेस्रो दिन गर्दै दिनहरु बिते मलाई के काम गर्ने हो, कुन पदमा काम गर्ने हो, सेवा सुबिधा कस्तो हुने हो केही नभन्दा मलाई अन्यौल भयो, त्यसो त मेरो कामको परीक्षण गर्नकाख लागि गरिएको रहेछ । केही दिन पछि मलाई कार्यालयले जिम्मेवारीको बारेमा प्रष्ट गर्दै मलाई काममा खटाउन थाल्यो । मलाई बास केन्द्रीय कार्यालयको बातावरण निकै मन प¥यो सबै कर्मचारीहरु ब्यवहारिक र सहयोगी पाउँदा म निकै खुसी थिए ।
दिनमा कर्मचारीहरु आ–आफ्नो काममा, कहिले फिल्डमा त कहिले अफिसमा ब्यस्त रहन्थे त्यो बेला अफिसमानै बसिरहने रिसेप्सनिष्ट श्रुती चौधरीसँग मेरो बसाई र कुराकानी बढी हुन्थ्यो उहाँले सबै कुराहरु मलाई राम्रोसँग भन्नुहुन्थ्यो जसले मलाई कार्यालयमा घुलमिल हुन समय लागेन । केही दिन पछि मलाई कार्यालयले असल शासन मिडियाको जिम्मेवारी प्रदान गर्यो । मिडिया अन्तरगत प्रकाशन हुने असल शासन पोष्ट र असल शासन डटकमको लागि बजार ब्यवस्थापनको जिम्मेवारी मैले प्राप्त गरे ।
बिद्यालयको कक्षा कोठामा गएर पढाउने मेरो लागि बजार व्यवस्थापन निकै नौलो र कठिन काम थियो । शुरुका केही दिन मलाई बजारको बारेमा बुझ्न समय लाग्यो मैले दिनमा एक दुई ठाउँ पुग्दै दिन बित्ने गर्दथ्यो । बजारमा जाँदा कहिले त मैले यो काम रोजेर गल्ति गरेकी भन्ने लाग्थ्यो र बिद्यालयको याद आउँथ्यो तर मैले समस्या र चुनौती राम्रो सँग बुझेको थिए यसमानै भविष्य छ मैले केही गर्नुपर्छ भन्ने अठोटका साथ मैले कामलाई निरन्तरता दिए । केही समय पछि मिडियामा कर्मचारी थप गरियो जसले मलाई सहज भयो ।
असल शासन मिडियाको दायरा फराकिलो बनाउने निर्णय पछि अलग्गै कार्यालय सञ्चालन गरियो । जिल्ला प्रशासन कार्यालय अगाडी कार्यालय हुँदा मेरो दिन भरीको समय मिडियामा बित्दथ्यो भने बिहान र साँझको समय बास केन्द्रीय कार्यालय र कार्यक्रमहरुमा जाने गर्दथे । काम गर्दै गर्दा २०७८ साल श्रावणमा बास स्वयम् सेवकको २१ औं समूहको भेला आव्हान गरियो उक्त भेलाले मलाई सर्व सम्मत स्वयम्स्ेवक संयोजकको रुपमा चयन ग¥यो । स्वयंसेवक संयोजक भएपछि म बासका हरेक क्रियाकलापहरुमा झन नजिकिदै गएँ । बास केन्द्रीय पदाधिकारीहरु, कर्मचारीहरु र स्वयम्सेवाहरुसँगको भेटघाट र उठबस बढ्दै गयो । बासले दैनिक जसो कार्यक्रहरु भईनै रहन्थे मेरो रुचि साहित्य तिर भएका कारण ति कार्यक्रमहरुमा मैले आफ्ना गजलहरु प्रश्तुत गर्ने मौका पाउन थालँे ।
२०७८ पौष १६ गते इन्स्पाईरिंग युथ कार्यक्रमको २३४औं श्रृखलामा मैले बासका तत्कालिन जनसम्पर्क अधिकृत मुना बिष्ट दिदिसँग कार्यक्रम सञ्चालन गर्ने मौका पाएँ जसले मलाई सबै माझ लोकप्रीय बनायो । त्यसपछिका दिनहरु मेरा लागि कहिले पनि निराशाका रहेनन् । २०७८ फाल्गुन २८ गते बाँके शाखाको जिल्ला अधिबेशन भयो जसमा म कार्यसमिति सदस्य चयन भए । म लगायत ५ जना श्रष्टाहरुको संयुक्त गजल संग्रह संखनाद पनि बासबाटै प्रकाशन भयो, जुन मेरो पहिलो कृति थियो । मैले लेखेको कुरा कहिल्यै पत्रिकामा प्रकाशन हुन्छ जस्तो लागेको थिएन, अहिले साप्ताहिक रुपमा मेरा लेख, रचनाहरु प्रकाशन भएका छन्, अनलाईनमा प्रकाशन भईरहेका छन् । यो भन्दा खुसी मेरा लागि अरु के होला र ?
कर्म गर फलको आश नगर भनेझै मैले निश्वार्थ रुपमा पाएको जिम्मेवारी र अवसरहरु पुरा गर्दै गए २०७८ चैत्र १९ र २० गते बास नेपालको ९औं केन्द्रीय महाधिबेशनमा मैले प्रतिनिधिको रुपमा सहभागिता जनाउने अवसर पाएँ उक्त महाधिबेशनमा श्रद्धेय नमस्कार शाह र मन भण्डारीले मलाई केन्द्रीय सदस्यको लागि प्रस्ताज गर्नु भयो । म केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित भए । मलाई अहिले पनि त्यो दिन अविष्मरणीय लाग्छ यति छोटो समयमा बास नेपालको केन्द्रीय सदस्य हुने म सम्भवतः पहिलो ब्यक्ति थिए होला म निकै खुसी भए मैले जीवनमा ठुलो सफलता हासिल गरेको महशुस गरे ।
बास नेपाल देशभरी सञ्जाल भएको संस्था भएका कारण केन्द्रीय सदस्य भएपछि मैले अग्रज ब्यक्तिहरु र बासको सञ्जालसँग सम्बन्ध विस्तार गर्ने मौका पाएँ । अहिले म बास नेपालको केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी बहन गरिरहेको छु मैले यो क्रममा देशका विभिन्न जिल्लाहरुम प्रत्यक्ष गई त्यहाका युवाहरुका सदस्याहरु बुझ्ने मौका पाएको छु जसले मलाई थप जिम्मेवार बनाएको छ । मैले यस अघि बासको स्वयंसेवक संयोजकको जिम्मेवारी पुरा गरिसकेका कारण मलाई केन्द्रीय कार्यसमितिले स्वयंसेवक विभागको जिम्मेवारी प्रदान गर्यो  जसले मलाई देशभरका शाखाहरुसँग जोडिने थप अवसर प्रदान ग¥यो ।
मैले विभाग प्रमुख, केन्द्रीय सदस्य, सचिवालय सदस्यको हैसियतामा विभिन्न ठाउँहरुमा जाँदा बोल्नु पर्ने भएकाले मैले आफ्नो ब्यक्तित्व सँगै ज्ञानलाई समेत बृद्धी गर्दै गए । अहिले बास नेपालमा भएकै कारण मलाई जस्तो सुकै चुनौतीमा समेत काम गर्न सक्ने उच्च आत्म विश्वास छ । मैले यहाँसम्म आईपुग्दा प्रत्याक्ष र अप्रत्यक्ष रुपमा मलाई सहयोग गर्नुहुने मेरा मित्र लौटन थारु र दिदि मुना बिष्ट, शर्मिला थापा, दिपा चौधरी, बहिनीहरु जश्मिन शाह र श्रुती चौधरी प्रति धेरै सम्मान छ । मिडियामा काम गर्ने क्रममा मलाई पूर्ण सहयोग गर्ने शुष्मा चौधरी र हालका सहकर्मीहरु जानकी बिक र दिनेश चौधरी सँगै न्यूज लेखन तथा ब्यवस्थापनमा सहयोग गर्ने रमण वलीलाई धन्यबाद । बासमा रहँदा हरदम सहयोग गर्ने रेश्मा महतो, सरिता बिक, नानिमाया जैसि, मिना घर्तिमगर, निशा बिक, प्रदिप बोहरा, अशोक रावल, रमिता शाहको निरन्तर सहयोग र साथ पाएकोमा खुसी छु ।
बासका लेखा अधिकृत निकै सहयोगी दिदि रास्टी बुढामगरको सहयोगका लागि आभारी छु । मलाइ क्यामरा चलाउन, कम्प्युटरमा ईडिटिङ्ग गर्न मात्र होइन मेरो भविष्यको बारेमा बेलाबेला मलाई सम्झाउनु हुने प्रीय दाई लोक बहादुर घर्ती,  हरेक समय सहयोग गर्नु हुने आदरणीय दाई शुद्ध प्रसाद चौधरी, माधव कार्की (काका) प्रति सधैं माया स्नेहछ । रबिन्द्र बोहरा जसको उर्जाका कारण म उत्प्रेरित हुन्छु उहाँको उत्प्रेरणा र हौसलाका लागि धन्यबाद ।
नाटक लगायत विभिन्न स्थानमा सहयोग गर्नुहुने मन भण्डारी सर, मलाई धेरै चिन्ता वा समस्या भएमा उहाँसँगको बसाईले म मा सितलता र शान्ती प्राप्त हुन्छ मौन तर महत्वपूर्ण ब्यक्तित्व बासका निर्देशक हेमराज भट्टसर र मेरो प्रिय दिदि शोभा थापा मगरको मायाले मलाई अगाडी बढ्न उत्प्ररित गरेको छ यस्तै माया र स्नेहको अपेक्षा सहित आभार ब्यक्त गर्दछु । कार्यसमितीका सम्पुर्ण पदाधिकारिहरु शिव कुमार वर्मा दाजुको अभिभावकत्व मेरा लागि अबिष्मरणीय छ । एक आदर्श र हौसला प्रदान गर्ने आदरणिय ब्यक्तित्व नमस्कार शाहसर संगको यात्राले मलाई मान्छे बन्न सिकाएको छ ।
उल्लेखित ब्यक्तिहरुले मेरा लागि गर्नुभएको सहयोग र गुन प्रति नतमस्तक छु । धेरै मानिसहरु ढुङ्ग्लाई मुर्ती सम्झेर भगवान मान्दछन् मन्दिर जान्छन आफुलाई समस्या परेको बेला ती भगवान सम्झिन्छ्न, तर मेरा लागि आदरणीय नमस्कार शाह सर भगवान हुनुहुन्छ र मलाई दुःख सुख जस्तो सुकै अवस्थामा समेत उहाँलाई सम्झिरहनेछु । जीवनको यात्रामा भर्खर बामे सर्दैछु मलाई थाह छ मेरो जीवनलाई सार्थक बनाउन सबैको माया, साथ र सहयोग अगामी दिनमा समेत पाईरहेने अपेक्षा गर्दछु ।
धन्यबाद ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech