कुभिण्डोको फाईदा

असल शासन प्रतिनिधि

कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ । तर पछिल्लो समय यसको जुस पनि सेवन गर्न थालिएको छ । कुभिण्डोको जुसको सेवन स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

आयुर्वेदमा औषधिको रूपमा पनि यसलाई प्रयोग गरिन्छ । शरीरलाई शुद्धीकरण गर्नेदेखि यसका अनेक फाइदा छन् । कुभिण्डोको तरकारी र जुस दुवै स्वास्थ्यका लागि फाइदाजनक छ । यसको फाइदा लिन यसलाई कसरी र कुन समयमा खाने भन्नेबारे जान्न आवश्यक छ ।

कुभिण्डोको जुस खाँदाका फाइदा

गर्मीमा शरीरमा पानीको कमी हुने समस्या हुन्छ । यस्तो अवस्थामा कुभिण्डोको रस सेवन गर्नाले शरीरलाई हाइड्रेट राख्छ । यसमा प्रशस्त मात्रामा पानी हुन्छ । साथै, यसको प्रभावले शीतलता प्रदान गर्छ, त्यसैले यसले गर्मीमा शरीरलाई शीतल राख्न मद्दत गर्छ ।

विभिन्न महत्त्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण कुभिण्डोमा सीमित मात्रामा क्यालोरी हुन्छ । यसको तरकारीमा ९६ प्रतिशत पानी हुन्छ । तसर्थ, यसले शरीरलाई डिटक्सिफाई गर्छ र तौल नियन्त्रण प्रोत्साहन गर्छ । यसबाहेक कुभिण्डो फाइबरको राम्रो स्रोत पनि हो, जसले पायल्स जस्ता समस्याबाट छुटकारा दिन फाइदा पु¥याउँछ ।

कुभिण्डोको रस पिउनाले पाचन प्रणालीलाई मजबुत राख्छ । यसमा पाइने फाइबरले पाचन क्रियामा सुधार गर्छ । यसको सेवनले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँछ र पेटसँग सम्बन्धित रोगबाट राहत दिन्छ । यसको नियमित सेवनले ग्यास, कब्जियत, अपच र एसिडिटीबाट आराम मिल्छ ।

कुभिण्डोमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

अहिलेको व्यस्त जीवनशैलीमा तनावका धेरैलाई निद्रा नलाग्ने समस्या छ । यसका लागि कुभिण्डोको जुस नियमित सेवन गर्दा फाइदा मिल्छ ।
कति मात्रामा कुन समयमा खानु उपयुक्त ?

कुभिण्डोको ताजा जुस पिउँदा १० देखि २० एमएल पिउनु उपयुक्त हुन्छ । २० एमएल जुसमा पानी मिसाएर एक गिलास बनाएर खाली पेटमा खानु उपयोगी हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

कुभिण्डोको जुस खाली पेटमा खानु कतिपयका लागि हानिकारक हुन सक्छ । त्यसैले आफ्नो नियमित आहारमा कुभिण्डो समावेश गर्नुअघि शरीरमा यसको प्रभाव कस्तो परेको छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

कुभिण्डोको जुस पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ । तर केही गम्भीर स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाहमा मात्र खानु ठीक हुन्छ ।

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech