सन्तोष के.सी.
अध्यक्ष, राष्ट्रिय बहिरा महासंघ नेपाल
१) तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के के काम गर्दै आइ रहेको छ ?
– राष्ट्रिय बाहिरा महासंघ नेपाल सुनाइ सम्वन्धि अपाङ्गता भएका बहिरा व्यक्तिहरुको हकअधिकार, बिकास, संजालीकरण तथा प्रतिनिधित्वका लागि गठित राष्ट्रिय स्तरको छाता संगठन हो । सन् १९९५ मा ८ जिल्ला बहिरा संघहरुको पहलकदमीमा स्थापना भएको यस महासंघमा हालसम्म ५४ जिल्ला बहिरा संघहरु आबध्द रहेका छन् देशको संघिय संरचना अनुसार महासंघ अन्तर्गत ७ वटै प्रदेश समितिहरु गठन भै क्रियासिल रहेका छन् ।
यस महासंघले बहिरा नागरिकहरुको संचारको पहिलो भाषा नेपाली सांकेतिक भाषाको संकलन, अनुसन्धान, विकास र विस्तार गर्नुका साथै नेपाली सांकेतिक भाषाका बिभिन्न सामग्रीहरुको निर्माण गरी बहिरा विशेष बिद्यालय, बहिरा श्रोत कक्षा, बहिरा समुदाय एवं सम्बन्धित सरोकारवालाहरुलाई बितरण गर्दै आएको छ । महासंघले नेपाली सांकेतिक भाषा तालिम संचालन, सांकेतिक भाषा दोभाषे तालिम, दोभाषेहरुको पेशागत विकास, जिल्ला बहिरा संघहरुको स्थापना तथा क्षमता विकास गर्दै आएको छ । बहिरा बालबालिकाहरुको गुणस्तरीय शिक्षा, श्रवणदृष्टिविहिन बालबालिकाहरुको पहिचान, श्रोत केन्द्रको स्थापना गरी शैक्षिक विकास, शिक्षक तालिम, स्वास्थ्यसेवामा पहुँच, बहिरा नागरिकहरुलाई रोजगार तालिम तथा रोजगारी प्रदान गर्नका लागि पहलकदमी गर्दै आएको छ ।
महासंघले प्राकृतिक प्रकोप, जनस्वास्थ्य, समसामयिक सुचना तथा जानकारीहरुलाई नेपाली सांकेतिक भाषामा भिडियो निर्माण गरी निरन्तर बहिरा समुदाय समक्ष सुचना तथा जानकारी प्रवाह गर्ने गर्दै आएको छ । संघिय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरि संविधान र ऐन कानुनमा व्यवस्था गरीएका मौलिक मानव अधिकारहरु कार्यान्वयन गर्न गराउन एवम कानुनहरुमा बहिरा समुदायका पहिचान, हक अधिकार समावेशीकरण गर्नका लागि राज्यका नीति निर्माण तहमा निरन्तर वकालत र पैरवी गर्दै आइरहेको छ ।
२) यहाँहरुले कुन कुन निकाय संस्थासँग काम गरिरहनु भएको छ ?
– यस संस्थाले स्थापना कालदेखि नै सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संघसंस्था एवं विभिन्न दातृनिकायसँग मिलेर बहिरा समुदायको पहिचान एवं अधिकारका सवालहरुमा काम गर्दै आइरहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय, सुचना तथा संचार प्रबिधि मन्त्रालय एवं माताहतका निकायहरु, भाषा आयोगसंग समेत बहिरा नागरिकहरुको गुणस्तरीय शिक्षामा पहुँच, नेपाली सांकेतिक भाषाको बिकाश, सांकेतिक भाषाको तालिम, दोभाषे सेवा प्रदान गर्नका लागि समन्वय गरी कार्य गर्दै आएको छ । हालैका दिनहरुमा महासंघले युकेएड, माइराइट, अपाङ्गता अधिकार कोष, नेपाल सरकार, विश्व ब्यांक, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेशनल, द एशिया फाउन्डेसन, संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रम, ओपन सोसाइटी फाउन्डेसन, निलोम्बो, युएसएड लगायतका साझेदारहरुसंग बहिरा नागरिकहरुको अधिकारका लागि बिभिन्न सवालहरुमा कार्य गर्दै आएको छ ।
३) यहाँहरुले कसका लागी केके काम गरिरहनु भएको छ ?
– महासंघले समग्र बहिरा समुदायको हकहित, संजालीकरण, क्षमता बिकास, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा आदि सवालमा काम गर्दै आएको छ । बहिरा समुदायहरुलाई एकतावद्द गर्ने, सांकेतिक भाषाको तालिम संचालन गर्ने, बहिरा संघ गठन गर्ने, उनीहरुको संस्थागत, वकालत पैरवी क्षमता बिकास गर्ने काम गर्दै आएको छ । जिल्ला जिल्लामा बहिरा महिला समिति गठन गर्ने तथा बहिरा महिलाहरुलाई जनचेतनामुलक तथा क्षमता बिकास तालिम प्रदान गर्ने काम गर्दै आएको छ ।
बहिरा युवाहरुलाई स्व÷रोजगारी तालिम प्रदान गर्ने, बिभिन्न प्रकृतिका त्यस्ता तालिम गर्नका लागि बिभिन्न तालिम प्रदायक कम्पनिहरुसंग समन्वय तथा बहिरा नागरिकहरुलाई रोजगारी प्रदान गर्नका लागि आवश्यक समन्वय र पहलकदमी गर्दै आएको छ । सांकेतिक भाषा बहिरा नागरिकहरुको पहिलो भाषा हो । सांकेतिक भाषाको विकासबिना बहिरा समुदायको संचार, शिक्षा तथा सामाजिक सहभागिता हुन सक्दैन । तसर्थ महासंघले हरेक वर्ष देशको बिभिन्न स्थानमा छरिएर रहेका बहिरा समुदाय समक्ष पुगेर नयाँ संकेतहरु संकलन गर्ने, संकलित संकेतहरुको अनुमोदन गर्ने एवं सांकेतिक भाषाका शब्दकोश, चार्ट, भिडियो, मोबाइल एप लगायतका सामग्री निर्माण गरी उपलब्ध गराउने गरेको छ ।
महासंघले बहिरा समुदायलाई प्राकृतिक प्रकोप सम्बन्धि सचेतना, सुरक्षा, जानकारीमुलक सामग्री निर्माण गर्ने, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहलकदमी लिदै आएको छ । बहिरा नागरिकहरुको राजनैतिक तथा निर्वाचन अधिकारसम्बधि जनचेतना, क्षमता बिकास एवं सुचनामुलक सामग्री निर्माण गर्दै आएको छ । झन्डै २ दशक देखी महासंघले विभेदकारी सवारीचालक ऐन संशोधन गरी बहिरा नागरिकहरुलाई सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न निरन्तर नेपाल सरकारसंग पहलकदमी गर्दै आएको छ । तथापि आजका दिनसम्म पनि सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने अधिकारवाट बहिरा नागरिक वन्चित भैरहनुपरेको छ ।
बहिरा तथा श्रवणदृष्टिविहीन बालबालिका हरुको गुणस्तरीय शिक्षा, सांकेतिक भाषाको विकास, तालिम र दोभाषे उत्पादन, संविधान र ऐन कानुनमा व्यवस्था भएका नीतिगत व्यवस्था हरुको कार्यन्वयन र परिमार्जनको लागी नेपाल सरकार सँग वकालत र पैरवीका साथै अपाङ्गता भएका व्यक्तिहरुको सूचना र संचारमा पहुँच, अपाङ्गता अधिकार र आन्दोलनबाट प्राप्त उपलव्धि संस्थागत गर्न लागीपरेको छ, साथै अपाङ्गता अधिकारका साझा सवालहरुमा अपाङ्गता भएका व्यक्तिका बिभिन्न संस्थाहरुसंग सहकार्य र समन्वय समेत गर्दै आएको छ ।
४) सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतिहरुको सामना गर्नुपरेको छ ?
– यस क्षेत्रमा काम गर्न पक्कै पनि सोचे जस्तो सजिलो छैन । बहिरा समुदायलाई अझै पनि लाटो भनेर हेप्ने खराब प्रवृत्तिको अन्त्य भएको छैन । बहिरा नागरिक अन्य नागरिक सरह सक्षम छन् भन्ने बुझाइको बिकास समेत हुन सकेको छैन, भाषिक अल्पसंख्यकका रुपमा रहेका बहिरा समुदायको संचारको पहिलो माध्यम सांकेतिक भाषाको बिकासका लागि सरकारले अझै पनि आवश्यक ध्यान दिन सकेको छैन, अहिले सम्म सांकेतिक भाषामा झन्डै ५ हजार सङ्केत मात्र प्रयोगमा रहेका छन् , फलस्वरूप बहिरा समुदायको शब्द भण्डार निकै कम छ, देख्दा सक्षम देखिने बहिरा समुदाय सांकेतिक भाषा बिना कुनै संचार गर्न सक्दैनन् , पहुँचयुक्तता भन्नाले भौतिक संरचनामा पहुँच भन्ने बुझाई अद्यावधि रहेको छ । सूचना तथा संचारमा पहुँचका सवाल छायामा परेका छन् ।
नेपाल अपाङ्गता भएका व्यक्ति हरुको अधिकार सम्वन्धि संयुक्त राष्ट्रसंघिय महासन्धि अनुमोदन गर्ने पक्ष राष्ट्र हो । त्यस अन्तर्गत जति पनि कानुन ऐन, नियम, नियमावली बनेका छन तर खासै कार्यन्वयन गरिंदैन छिन छिनमा सरकार परिवर्तन भइरहने, कर्मचारी सरुवा भैरहने कारणले बन्दै गरेका ऐन, नियम, कार्यविधि परिवर्तन हुने, समय पछाडी धकेलिने, केहि अगाडी बढेको कार्य पुन शुन्यवाट सुरु गर्नुपर्ने जस्ता समस्याले हामीले मेहनत साथ गरेका वकालत र पैरविहरु खेर गइरहेका छन । नेपाल सरकारसँग समन्वय गरेर संचालन गरिने प्रोजेक्ट हरु नतिजामुखी र उपलब्धिमुलक भइ सरकार मातहत रहंदा पनि नेपाल सरकारले खासै चासो दिएको देखिदैन ।
बिकास तथा अधिकारको हरेक क्षेत्रमा बहिरा समुदाय पछाडी पारिएका छन् । सिमित साधन श्रोतका बाबजुद धेरै काम गर्नुपर्ने बाध्यता छ । सबै जिल्लामा बहिरा संघ तथा बहिरा महिला समिति गठन हुन सकेका छैनन । बहिरा समुदायको शिक्षामा पहुँच निकै कमजोर भएका कारण गठन भएका बहिरा संघहरुको क्षमता समेत कमजोर छ । साधन श्रोत, कार्यालय, दोभाषे तथा कर्मचारी अभावका कारण अधिकाँस बहिरा संघहरुले प्रभावकारी रुपमा कम गर्न पाएक छैनन ।
५ आगामी योजना र कार्यक्रमहरु के के छन ?
– अन्य नागरिक सरह बहिरा नागरिकहरुलाई समेत सक्षम र स्वाभिमान नागरिकका रुपमा बिकास गर्नु महासंघको उद्देश्य रहेको छ । त्यसका लागि राष्ट्रिय बहिरा महासंघ नेपालले सिआरपिडि अन्तर्गत कानुन निर्माण र कार्यन्वयन गर्न, दिगो विकासका लक्ष्यहरु अपाङ्गताको आवश्यकताको आधारमा हासिल हुने गरि काम गर्न अपाङ्गता अधिकार ऐन २०७४ मा सिमान्तिकृत र छुटेका वर्गहरुको सवाल समावेस गर्ने योजना अनुसार काम गरिरहेको छ ।
संविधान र ऐन कानुनले निर्दिष्ट गरेका अधिकारहरु कार्यन्वयन गरि लागु गर्न, बहिरा नागरिक हरुको लागी भिडियो रिले सेवा स्थापना गर्न, नेपाली सांकेतिक भाषा अनुसन्धान केन्द्र र दोभाषे तालिम केन्द्र स्थापना गर्ने, दोभाषे उत्पादनको लागी तालिम पाठ्यक्रम विकास, दोभाषे सेवा प्रदान, गुणस्तरीय शिक्षाको व्यवस्था र बहिरामैत्री शिक्षण बिधि तथा पाठ्यसामग्रीको व्यवस्था गर्ने, लैंगिक समानता र न्यायको प्रत्याभूति गराउने, युवा लक्षित सिपमुलक तालिम संचालन गरि स्वरोजगार बनाउने, दोभाषेलाई लाइसेन्सको व्यवस्था गर्ने, महिला हिंसा तथा भेदभाव उन्मुलन गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचत तथा राजनीतिक अधिकार सुनिश्चित गराउने, समुन्नत र समावेशी समुदाय निर्माण गर्ने योजना अनुसार महासंघ अघि बढिरहेको छ ।
६) अन्तमा के भन्न चाहनु हुन्छ ?
हामीले अपाङ्गता अधिकार प्राप्ति संविधान अनुसार सबै नागरिकको समान पहुँचको लागि धेरै काम गर्न बाँकी नै छ । भएका प्राबधानहरुको कार्यान्वयन गर्नु एवम कानुनमा नसमेटिका ब्यबस्था समेट्नु र विभेदपूर्ण कानुनलाई संशोधन गर्नका लागि महासंघ निरन्तर लागिरहेको छ । घर एवं समाजमा संचार अवरोधमा बाँचिरहेका, बिकासको मुल प्रवाहवाट वन्चितिकरणमा पारिएका बहिरा समुदायको देशका हरेक नागरिक सरह अधिकार र क्षमता छ । अपाङ्गता व्यक्तिहरुले केहि गर्न सक्दैनन् भनी सोच नितान्त गलत छ । यस तथ्यलाइ मनन गरी यसको लागी देशभित्र अध्याँरोमा बाँच्न विवश अपाङ्गता भएका समुदायलाई विकासको मूल प्रवाहमा समाहित गर्नका लागि आवश्यक पहलकदमी लिन एवं सम्बन्धित संघसंस्थाहरुसंग अर्थपूर्ण सहकार्य गर्नका लागि म नेपालका तिनै तहका सरकार, नागरिक समाज, संचार माध्यम, दातृनिकाय एवं आम जनसमुदाय समक्ष अपील गर्दछु ।