शिक्षकहरुलाई यस्तो छ खुराक !

प्रभात सुवेदी

१. विद्यार्थीहरूले पढेनन् रे ?
———-
किन पढ्छन् त
हामीले चाँही पढेको छौँ त ?
कतिवटा नयाँ किताब पढ्छौ हामी, हप्तामा, महिनामा वा वर्षमा ? ल भन्नुस् त ?
पाठ्यपुस्तक बाहेक पढ्ने सामग्रीहरू पाएका छन्, विद्यार्थीहरूले ?
विद्यालयमा पुस्तकालय छ ? भएपनि त्यसको सदुपयोग छ त ?
वर्षमा कत्ति नयाँ किताब थप्छौ त्यहाँ ? कि एकपटक किनेर राखेपछि खुसुखुसु हराएर सकिएका छन् ? र्याकमा माकुराका जाला अनि छेपाराका बिष्टा भरिएका त छैनन्?
हामीले पठन संस्कृतिको विकास गरेका छौ त ?

२. विद्यार्थीहरूले लेखेनन् रे ?
———–
किन लेखुन् त ?
हामीले चाँही के लेखेका छौ त ?
कतिवटा लेख लेख्छौ, हप्तामा, महिनामा वा बर्षमा ? अहिलेसम्म कुनै पुस्तक लेखेर प्रकाशन गरेका छाैँ ? कुनै राष्ट्रिय वा स्थानीय पत्रपत्रिकामा लेख रचना प्रकाशित गरेका छाैँ त ? छातीमा हात राखेर भन्नुस् त ? गफकाे खेतीले मात्रै ज्ञानकाे भकारी भरिँदैन ।
शिक्षकले बाेर्डमा मात्रै लेखेर हुन्छ त ?
हामीसँग लेखन कला र सीप छ त ?
हामी विद्यार्थीहरूसँगै बसेर कहिले लेख्छौ त ? उनीहरूकै कपि मागेर लेखिदिएका छाैँ त ? कपि परीक्षण गरेर मिति सहितकाे हस्ताक्षर गर्ने गरेका छाैँ त ?
पुङ् न पुच्छरको बिषयमा तिमीहरूले लेख्नै पर्छ भने पछि के गरुन् त कलिला नानीबाबुहरूले ?

३. विद्यार्थीहरू पढाईमा ध्यान दिन्नन् रे ?
——-
किन दिन्छन् त ?
हामीले चाँही शिक्षण र पढाईमा कति ध्यान दिएका छौ त ?
आफ्नो शिक्षण अभ्यास र सिकाइको बारेमा स्व-मूल्यांकन कहिले गरेको छौ ? कक्षामा उठेर पढाउँछाैँ कि, डेक्समा बसेर अनि दुई गाेडाहरू बेन्चमा राखेर ? यही हाे हाम्रो अनुशासन ? कहिल्यै आत्म आलोचना गर्ने गरेका छाैँ ?
हामीले बिद्यार्थीहरूलाई मेरो शिक्षण अभ्यास कस्तो भो के सुधार गर्नु पर्छ भनेर कहिल्यै सोधेका छौ ?
शिक्षालयभित्र र बाहिर कति समय आफ्नो पेसागत विकासको बारेमा चिन्तन गर्छौ र समय दिन्छौँ ?

४. विद्यार्थीहरू अल्छी भए रे ?
————–
किन नहुन् त ?
हामी चाँही कत्तिको जोशीलो छौ त ? घरमा बालबालिकासँगै बसेर पढ्ने गरेका छाैँ त ?
हामीमा नयाँ विधि , विचार र रचनात्मक ज्ञानहरूको खोजी र प्रयोग गर्न कत्तिको जोश छ ?
अल्छी भएरै पास हुने प्रणाली भए पछि किन दु:ख गर्नु ?
सास फेर्ने समय नहुने गरेर होमवर्क दिए पछि अल्छी नभएर के हुनु त ? परियाेजना कार्य दिउँ न ! कति हाैसिएर गर्छन् ! के यसमा कहिल्यै साेचेका छाैँ ? भकाभक अभ्यासका प्रश्न टिक लगाएर याे-याे गरेर आउ भनेपछि दिक्क मान्दैनन् त ?
अनि किताबका शब्दहरू रट्नु पर्छ भने पछि अल्छी नभएर के हुन्छन् ? कहिल्यै जिन्दगी सिकाएका छाैँ त ?
आफु, आफ्नो परिवार, समाजकाे भाषा नबुझी, संस्कृति र संस्कार नसिकिकन आकाशको तारा खसाल्ने सपना मात्रै देखाएर मात्रै A+ कहाँबाट आउँछ ? कागजी हैन स्तरीय जीवनकाे A+ त्यसै आकाशबाट बर्रबरर्र झर्ने हाे र ?

५. बिद्यार्थीहरूले माेबाइलले बिग्रए रे ?
————–
किन नबिग्रिनु त ?
उनीहरूले १०/१५ देखि २०/३० हजारकाे माेबाइल किन्ने सामर्थ्य राख्छन् र ? तपाईं हामीले नै दिने अनि बिग्रिए भन्ने ? याे त आफै धामी आफै …… भएन र ?
के हामीले कहिल्यै यसकाे गलत प्रयाेगबारे सिकाएका छाैँ त ?
के घरमा उनहरू पढिरहेकाे ठाउँमा हामी गएर कहिल्यै पुस्तक समाएर पढ्ने गरेका छाैँ त ?
अनि माेबाइलमा के-के हेर्ने कति समयसम्म हेर्ने भनेर समय तालिका बनाइदिएका छा‌ैँ त ? अनि माेबाइलकाे समयलाई सिमित गरेका छाैँ ? एकपटक हातमा परेपछि लाइन, नेट नगएसम्म दलेको दल्यै हामी आफै गर्ने अनि छाेराछाेरीलाई दाेष दिने किन ?

निष्कर्ष :-
——
हामीले निरन्तर पढ्यौँ भने मात्रै विद्यार्थीहरूले पनि पढ्छन् ।
हामीले केही लेख्यौँ भने बिद्यार्थीहरूले पनि लेख्छन् ।
हामी अनुसन्धानमुखी भयौँ भने उनीहरू पनि नवप्रवर्तनमा आकर्षित हुन्छन् ।
हामी आफैले नयाँ सिक्न थाल्यौ भने उनीहरू अल्छि हुँदैनन् ।
आफैले केही नगरेर विद्यार्थीहरूलाई यसो गर उसो गर मात्र भन्यौँ भने हामी त केवल चर्काे चर्काे बाेलेर अरूका कुराकाे वेवास्ता गरी विश्वविजेता बन्न खाेज्ने महान गफाडी मात्र हुन्छाैँ ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech