बाँके/कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय बर्दहवाको बिद्यालय प्रांगणमा जानु भयो भने एउटा आकर्षक चौतारी देख्न पाईन्छ ।
हाल उक्त चौतारी बिद्यार्थीहरुको खेल्ने स्थान भएको छ भने गर्मिको समयमा सितलता प्रदान गर्ने आश्रय स्थल समेत बनेकोछ । चौतारीको निर्माण लक्ष्मी माबिमा सञ्चालीत वालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय क्लबका बालिकाहरुको पहलमा भएको हो ।
बिद्यालयमा चौतारी निर्माण गर्ने बिद्यालयको कुनै पनि योजना थिएन । चौताराको बिचमा रहेको पिपलको रुख पुरानो भएपछि बिद्यालयले उक्त रुखलाई काट्ने योजना बनाएको थियो । रुख बिद्यालयले काट्दै छ भन्ने थाहा पाएपछि जलवायु न्याय क्लबका किशोरीहरुले बिद्यालयमा प्रधानाध्यापक जय बहादुर बिष्टलाई भेटेर रुख नकाट्न आग्रह गरेका थिए । रुख काट्ने योजना बनाएका प्रधानाध्यापकलाई वालिकाहरुले रुख नकाट्न र उक्त स्थानमा चौतारी निर्माण गरिदिन आग्रह गरेपछि प्रधानाध्यापक बिष्टले निर्णय पूर्नबिचार गरेका थिए । उनीहरुले भनेको कुरामा शुरुमा त प्रधानाध्याक बिष्टले चासो देखाएनन तर वालिकाहरुले भनेको कुरालाई गम्भिर भएर सोचेपछि काटेर फाल्नु भन्दा चौतारी निर्माण गर्नु फाईदाजनक हुने कुराको निक्यौल गर्दै चौतारी निर्माण गर्ने प्रतिबद्धता गरे र निर्माण कार्यलाई अगाडी बढाएका थिए ।
बालिकाहरुसँगको प्रतिबद्धता पछि प्रधानाध्यापक बिष्टले विश्व वातावरण दिवसको दिन जुन ५ मा नगद ५ हजार बिद्यालयबाट नै लगानी गरी रुखको संरक्षणका लागि चौतारी निर्माण गरेका थिए । बिद्यालयमा निर्माण सम्पन्न चौताराका बिषयमा प्रधानाध्यापक जय बहादुर बिष्टले भन्छन “पिपलको रुख काटेर फाल्ने योजना थियो चौतारी बनाउने कुरा सोचेको पनि थिएनौ जलवायु न्याय क्लबका बालिकाहरुले चौतारी बनाउन अनुरोध गरेपछि गर्मीमा धेरै राहत हुने र बिद्यालयको समेत सौन्दर्यता बढ्ने देखेपछि चौताराको निर्माण गरिएको हो ।” चौतारा निर्माणले निकै फाईदा पुगेको बताउदै प्रधानाध्यापक बिष्टले यो कार्य जलवायु न्याय क्लबको पहलमा भएको बताए । उनी थप्छन् यी बालिकाहरुको कुरा सुन्दा साँच्चिकै गहिरिएर सोच्न बाध्य भए र उनीहरुमा देखिएको चेतना र विवेक देख्दा निकै खुसी लागेको छ । बालिका शिक्षा कार्यक्रमका धेरै राम्रा प्रभावहरुमध्ये यो एक उत्कृष्ट उदाहरण रहेको प्रधानाध्यापक बताउछन् । बालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय क्लब मार्फत सरसफाई र वातावरण संरक्षणमा राम्रा कार्यहरु भईरहेकोमा खुसी लागेको बास नेपालका सिनियर सामाजिक परिचालक मेघा रानाले बताए ।
हाल निर्माण भएको चौताराले गर्मीमा धेरै विद्यार्थीहरु, शिक्षकहरुलाई शितलता प्रदान गरेको छ भने विद्यालयको सौन्दर्यता समेत थपिदिएको छ । बिद्यालयले चौतारा निर्माण गरिदिएपछि जलवायु न्याय क्लबका बालिकाहरु निकै खुसी छन् । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालले बाँकेमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।