महेन्द्रनगर/ कञ्चनपुरमा फेरी प्रहरीले आफैलाई हाने गोली ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरि अर्का प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् ।
महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवान वकिल विष्टले डिउटी मै रहेको बेला बुधबार साँझ आफैले बोकेको एसएलआरले आफैमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताएका छन् ।
दाहिने कानको माथि टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
करिब एक महिनाअघि जिल्ला प्रहरी कार्यालयको प्रबन्ध (हातहतियारको रेखदेख गर्ने) शाखामा कार्यरत प्रहरी जवान चक्र न्यौपानेले पनि आफैंमाथि गोली चलाएका थिए । निको भएर अहिले उनी घरमै आराम गरिरहेको डीएसपी जोशीले बताए ।