नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न, आर्यन धिमालको तस्बिर “फोटो अफ द इयर”

अमित रावलको तस्बिरलाई "पिपुल्स च्वाइस अवार्ड"

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अन्तरालले आयोजना गरेको चौथो नेपालगन्ज फोटो फेस्टिवलमा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर भएको छ ।
उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट आएका दुई हजार १ सय बढी फोटोहरुबाट प्रदर्शनीमा राखिएका एक सय ११ फोटो मध्य पनि उत्कृष्ट ३१ मा पर्न सफल फोटोहरुमध्ये अमित रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इ–सेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै पिपुल्स च्वाइस अवार्ड जित्न सफल भएको छ । उक्त तस्बिरले ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कारसहित अवार्ड प्राप्त गरेको छ ।
अर्वाड प्राप्त गरेपछि फोटोग्राफर रावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफुलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशीबाट परोपकारी काममा लगाउने बताउदै उनले भने ‘कोहलपुरका मृगौला रोग पिडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिने उद्घोष गर्दछु ।’
फेस्टिवलमा नेपालगन्जका तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधामा, कृषि विधामा बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामा रोमिन थारु, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् । विधागत उत्कृष्ट तस्बिर विजेतालाई जनही पाँच हजार रुपैँयाको पुरस्कार प्रदान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
यसैगरी अन्तरालको आयोजनामा संचालन भएको दुई दिने फोटोग्राफी तालिम पनि समापन गरिएको छ । तालिममा सहभागि ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको छ ।

  • ६ असार २०८२, शुक्रबार प्रकाशित

  • Nabintech