सरकारी उपचार सेवाबाट दिर्घरोगी लाभान्वित

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), ८ असार/
कैलालीको घोडाघोडी नगरपालिकाका सरिता देवी चौधरीले एक वर्षअघि घाँटी दुख्न थालेपछि सामान्य औषधिले निको पार्न खोज्नुभयो । दुख्न थालेको एक वर्ष बितिसक्दा पनि उहाँले सोच्नुभएन कि यो साधारण रोग होइन भन्ने कुरा । सुरुमा सामान्य घाँटी दुखाइ जस्तो लागेर स्थानीय मेडिकलबाट औषधि खानुभयो । केही समय दुखाइ कम भयो । तर, फेरि पुरानै घाउ जस्तै पीडा सुरु भयो ।
दुखाइ यति बढ्न थाल्यो कि सामान्य काम गर्न पनि सकस हुन थाल्यो । कहिले घाँटी दुख्ने, कहिले कानसम्म सर्ने । बारम्बार समस्या दोहोरिएपछि उहाँ धनगढीको मायामेट्रो अस्पताल पुग्नुभयो । परीक्षण गर्दा चिकित्सकहरूले क्यान्सर भएको बताए ।
सरिता भन्नुहुन्छ, “एकछिन त विश्वास नै गर्न सकिनँ । घाँटी दुख्ने सामान्य कुरा हो भन्ने लाग्थ्यो । घरका सबैजना चिन्तित भए । पैसा छैन, कहाँ उपचार गर्ने ।”
२०८० भदौमा सरिता भरतपुर क्यान्सर अस्पताल पुग्नुभयो । त्यहाँ शल्यक्रिया भयो । अहिले पनि उहाँ नियमित औषधि सेवन गर्नुहुन्छ ।
उपचारको खर्च महँगो भएपछि सरितालाई थोरै भए पनि सहारा भएको छ नगरपालिकाले उपलब्ध गराउने मासिक पाँच हजार रुपैयाँको औषधि उपचार सहयोग ।
“पाँच हजारले केही रुपमा भएपछि राहत मिलेको छ । केहि औषधि त यसैबाट किनिन्छ,” उहाँले भन्नुभयो ।
सरीता जस्तै घाँटिको अर्को क्यान्सर पिडित हुनुहुन्छ घोडाघोडी नगरपालिका–१ का ५६ बर्षिय कुसुम देबि डगौरा । दुई वर्षअघि घाँटीमा गिर्खा देखिएपछि छोराले उहाँलाई धनगढीको निसर्ग अस्पताल लगेर शल्यक्रिया गराउनुभयो । पछि थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रिफर गरियो ।
उहाँका छोरा अमन चौधरी भन्नुहुन्छ, “ अहिले पनि समय समयमा किमोथेरेपी गराउनुपर्छ । महँगो खर्च धान्न गाह्रो छ । मासिक पाँच हजारले औषधि किन्न भएपनि अलि राहत भएको छ।”
दीर्घरोगीमा अर्को चुनौती बोक्नुभएकि हुनुहुन्छ सिता मगर । घोडाघोडी १ कि सितालाई २०६९ मंसिरमा मिर्गौलामा समस्या भएको पत्ता लाग्यो । काठमाडौँको शिक्षण अस्पताल धाउँदै गर्दै २०८० पुस ४ गते किड्नी प्रत्यारोपण गर्नुप¥यो । श्रीमान्ले आफ्नै किड्नी दिएर जीवनदान गर्नु भयो ।
सिता भन्नुहुन्छ “श्रीमान्ले किड्नी दिनुभयो । आफन्तबाट ऋण लिएर उपचार गराएँ । अझै ऋण तिर्न बाँकी छ । मासिक पाँच हजारले औषधि किन्न केही राहत मिलेको छ । तर, महँगो औषधि अझै आफैं जोहो गर्नुपर्छ।”
सिता जस्तै अन्य मिर्गौला प्रत्यारोपण गरेका बिरामी पनि यही सहयोगमा निर्भर छन् ।

सरकारी योजनाले दिर्घरोगीलाई राहत
नेपाल सरकारले २०७८ सालमा ‘औषधि उपचार खर्च उपलब्ध गराउने कार्यविधि’ जारी गरेर मिर्गौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सर तथा मेरुदण्ड÷पक्षाघातजस्ता दीर्घरोगीलाई लक्षित गरेको छ । यो सेवा कैलाली लगायतका बिभिन्न जिल्लाहरुमा छ ।
यो कार्यविधि अनुसार चिकित्सकको सिफारिस सहित वडा कार्यालयमा निवेदन दिनुपर्छ । स्वीकृत भएपछि मासिक पाँच हजार रुपैयाँका दरले रकम लाभग्राहीको बैंक खातामा त्रैमासिक रूपमा जम्मा गरिदिन्छ ।
तर, सरकारी तलब, पेन्सन वा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेले यो सुविधा पाउँदैनन् । एउटै व्यक्तिले एउटै किसिमको सेवा मात्र लिन पाउने नियम छ ।

घोडाघोडीमा ९० जना दीर्घरोगी लाभान्वित
घोडाघोडी नगरपालिकाका अहिल ९० जना दीर्घरोगी बिरामी यो सेवाबाट लाभान्वित छन् । अघिल्लो आर्थिक बर्षमा ७१ जनाले सेवा लिएका थिए । घोडाघोडीमा २०७९ बाट यो सेवा लागुभएको हो । सुरुको आर्थिक बर्ष २०७९। ८० मा ५८ जनाले यो सुविधा लिईरहेका थिए ।
बिरामिहरुको संख्या बढ्दै जादा हाल घोडाघोडीबाट ९० जनाले उपचार सेवा लिईरहेका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतका अनुसार ती लाभग्राहीमध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेका छन् । हालको तथ्यांकअनुसार ७० जना क्यान्सर पीडित, १७ जना डायलाइसिस गराइरहेका मिर्गौला बिरामी र ३ जना मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी रहेका छन् ।
रावतका अनुसार दीर्घरोगीहरूको उपचार खर्च सामान्य परिवारका लागि ठूलो आर्थिक बोझ बन्ने भएकाले यो योजना गरीब र विपन्न समुदायका लागि केही रुपमा भएपनि राहतदायी छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म मात्रै ३८ लाख ४० हजार रुपैयाँ लाभग्राहीलाई भुक्तानी गरिसकेको छ । यस्तै बैशाखदेखि असारसम्मको भुक्तानी दिने काम प्रक्रियामा रहेको प्रमुख रावतले जानकारी दिनुभयो ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो । अघिल्लो वर्ष मात्रै ५० लाख रुपैयाँभन्दा बढी रकम दीर्घरोगीहरूको उपचारका लागि भुत्तानी गरिएको थियो ।

बढ्दै क्यान्सरको जोखिम
घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रावतका अनुसार पछिल्लो समयमा क्यान्सरका बिरामी बढ्दै गईरहेका छन् । नगरपालिकामा दिर्घ रोगिको उपचार सेवा लिईरहेका ९० मध्य ७० जना क्यान्सर पिडित छन् ।
अघिल्लो आर्थिक बर्षमा ७१ जनाले सेवा लिईरहेका थिए । जसमा ५९ जना क्यान्सर बिरामी थिए । अहिले क्यान्सरका बिरामि बढेर ७० पुगेको रावतले जानकारी दिनुभयो । सेवा लिईरहेका कतीपयको मृत्य भईसकेको छ । उहाँका अनुसार बदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण क्यान्सरको जोखिम बढ्दै गएको छ ।
उहाँ भन्नुहुन्छ, “तरकारी तथा फलफूलमा विषादीको अत्यधिक प्रयोग, बजारमा सजिलै पाइने प्रशोधित (प्रोसेस्ड) खाना, चिल्लो, मसलादार तथा फास्टफूडको बढ्दो प्रयोगले क्यान्सरजस्ता रोग निम्त्याइरहेको छ ।
रावतका अनुसार नगरपालिकाको तथ्यांक हेर्दा चालुआर्थिक बर्षको बैशाखदेखि असार महिनासम्म भुक्तानी वितरण भइरहँदा समेत क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । यसले क्यान्सर नियन्त्रणका लागि आम नागरिकमा सचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता झनै देखिएको उहाँको भनाइ छ ।

औषधि खर्च राहत तर उपचार अझै महँगो
नगरपालिकाबाट पाइने मासिक पाँच हजार रुपैयाँले औषधि किन्ने काममा सहयोग भए पनि दीर्घरोगीका लागि आवश्यक उपचार खर्चको तुलनामा यो रकम थोरै मात्र हो । क्यान्सरको शल्यक्रिया, किमोथेरेपी, रेडिएसन जस्ता उपचार महँगो भएकाले थुप्रै बिरामी अझै ऋणमा डुबिरहेका छन् भने कतीले ज्यान गुमाईरहेका छन् ।
सरिता देवी भन्नुहुन्छ “शल्यक्रिया मात्रै होइन, किमोथेरेपी र अन्य औषधि पनि कति महँगो छ! मासिक पाँच हजारले के नै पुग्छ र । तर, सरकारले दिएको सहयोग नभएको भए सायद औषधि किन्न पनि गाह्रो हुन्थ्यो होला ।”
सिता मगर पनि भन्नुहुन्छ, “मिर्गौला प्रत्यारोपणपछि जीवनभर औषधि खाईरहनुपर्छ । औषधि महँगो छ, अझै ऋण तिर्नुपर्छ । पाँच हजारले केही राहत भने पुगेको छ ।”
उपचार खर्च रकम अझै बढाईदिए हामी जस्ता विपन्न परिवारलाई सहज हुने थियो मगरले भन्नुभयो ।

 

  • ९ असार २०८२, सोमबार प्रकाशित

  • Nabintech