नेपालगञ्ज/ दोश्रो नेपाल कल्चर फेस्टिवल नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ ।
बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, रितिरिवाज र संस्कृति भएको नेपालमा उच्चतम संस्कृति, भेषभुषा, भाषा, गीतसंगीत, नृत्य र कलालाई संरक्षण गर्ने उद्धेश्यले फेस्टिवल सम्पन्न भएको हो ।
अन्तराल र बास नेपालको आयोजनामा सो फेस्टिवल सम्पन्न भएको हो । कार्यक्रममा पर्यटन डिभिजन कार्यालय, बाँकेले सहकार्य गरेको थियो ।
स्थानीय फरक, फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले कला, संस्कृतिको संरक्षण गर्नका लागि नेपाल कल्चर फेस्टिवलको आयोजना गर्नु महत्वपूर्ण भएको बताईन् ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, पर्यटन डिभिजन बाँकका प्रमुख टंकनाथ खनालले सामाजिक सद्भाव प्रबद्र्धनका लागि नेपाल कल्चर फेस्टिवल जस्ता कार्यक्रमहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।
कार्यक्रमका परिकल्पनाकार अन्तराल नेपालगञ्जका प्रमुख कार्यकारी जयनारायण शाहले नेपाल कल्चर फेस्टिवल सबै खाले संस्कृति झल्किने साँस्कृतिक इभेन्ट भएको बताए ।
नेपाली कला संगीत भेषभूषा र नृत्यको साझा फोरम हो –उनले भने –गत बर्ष देखि शुरु भएको यो फेस्टिवलमा गत बर्ष सुदुरपश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको च्यांबु्रङ्ग र पालाम सम्म तराईको थारु नृत्य देखी पहाडको पञ्चे बाजा र काठमाण्डौं उपत्यकाको धिमे बाजा र लाखे नाचसम्म एउटै स्टेजमा प्रस्तुत गरिएको थियो ।
उनले भने –बिभिन्न भाषभाषीका गीत, नृत्य प्रश्तुत गरिने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिईएको छ ।
फेस्विटलमा बाँकेको राधापुरमा रहेको नौमति बाजा समूहको प्रश्तुतिकरण सँगै थारु नाच, टप्पा, कौडा नाच, अवधि नाच प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा जेएस ईंगलिश मिडियम स्कुलका बिद्यार्थीहरुले बिभिन्न साँगितिक प्रश्तुति गरेका थिए भने कशौधन महिला मञ्चको तर्फबाट अवधि नाच प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा बरिष्ठ कलाकार श्यामानन्द सिंह, गायक महेन्द्र सेढाई लगायतले प्रश्तुतिकरण गरेको कार्यक्रममा सिम नेपाल २०१५ की बिजेता सुमन थापाको नेतृत्वमा संस्कृति झल्किने फेशन शो समेत प्रश्तुत गरिएको थियो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह र असल शासन मिडियाका प्रबन्धक तपेन्द्र मलातीले सञ्चालन गरेको कार्यक्रममा ३०० बढिको सहभागिता रहेको थियो ।