ईन्द्रा कसमारी केसी
घोडाघोडी (कैलाली),३० जेठ/
जातीय छुवाछुतको प्रथा अज्ञानताको उपज रहेको सुदुरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बताएका छन । सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरेको जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुुख मियाँले त्यो अज्ञानतालाई हटाउनका लागि सवै लड्नुपर्ने बताए ।
सुदूरपश्चिममा अझै पनि जातीय छुवाछुत कायमै रहेको बताउदै उनले भने, विभेद अन्त्यका लागि सबै भन्दा पहिले सकारात्मक सोचको बिकास हुुन आवश्यक हुन्छ ।
संसारभरि नै छुवाछुत अन्त्यको अभियान भइरहेको बताउदै उनले भने, नेपाली समाजमा पनि त्यो अभियानलाई अझै प्रभावकारी बनाउन आवश्यक छ ।
उनले छुवाछुत विरुद्ध बलियो कानुन रहेकाले त्यसलाई प्रशय दिए कानुनको दायरमा सबै आउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्ने कानुुनमै रहेको बताए ।
कानुुनमै विभेद गर्नेलाई दण्ड रहेपनि छुवाछुत अझै बिद्यमान रहेको बताउदै उनले भने, “दण्ड सजायले मात्रै केहि हुदैन भावनात्मक र मानसिक रुपमा हटाउन सक्नुपर्छ ।”
नगरप्रमुख रावतले आगामि आर्थिक बर्षमा जातीय छुवाछुतको अन्त्यका लागि बिभिन्न कार्यक्रमहरु कार्य योजनामा समेटेको बताए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउदले छुवाछुत सम्बन्धी कानुनी व्यवस्था बारे सहभागीहरूलाई जानकारी गराएका थिए । उहाले बिभिन्न संघ संस्था संग मिलेर घरेलु हिंसा र जातीय छुवाछुत बिरुद्ध समुदाय स्तरमा पुगेर सचेतना मुलक कार्यक्रमहरु गरिरहेको पनि बताए ।
सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिम संयोजक पुष्कर राज अवस्थीले छुवाछुत अन्त्यका लागि युवा वर्ग बढि सचेत रहनु पर्ने बताए । उनले सुदूरपश्चिम प्रदेशका बिभिन्न ९ जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने बताउदै घोडाघोडी नगरपालिका गरिएको यो कार्यक्रम पहिलो रहेको बताए । अन्य जिल्लामा लागू औषध, आत्महत्या, छुवाछुत र छाउपडी प्रथा लगायतका विषयमा अन्तरक्रिया गरिने अवस्थीले बताए ।
कार्यक्रममा सहभागीहरूले प्रदेश प्रमुख मियाँ, नगर प्रमुख रावत र प्रहरी निरीक्षक साउदलाई छुवाछुत अन्त्य सम्बन्धी व्यवस्था र अवस्था बारे जिज्ञासा राखेका थिए ।