नेपालगन्ज । बालिका शिक्षा कार्यक्रमअन्तर्गत कोहलपुरमा अलुम्नाइ मिटअप कार्यक्रम सम्पन्न भएको छ। बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको यो कार्यक्रममा कक्षा १२ पास अर्थात (अलुम्नाइ) बालिकाहरूलाई एकै ठाउँमा भेला गराइएको थियो। रुम टु रिडले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमले बालिकाहरूको प्रगतिबारे जानकारी लिने, सफलताका कथा आदानप्रदान गर्ने तथा आपसी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य राखेको छ।
कोहलपुर र बैजनाथका विभिन्न विद्यालय मार्फत बालिका शिक्षा कार्यक्रमबाट कक्षा १२ उत्तीर्ण गरेर क्याम्पस तथा विभिन्न क्षेत्रमा सक्रिय बालिकाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम उद्घाटन गर्दै रुम टु रिडका वरिष्ठ फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुँवरले ठूलो संख्यामा अलुम्नाइहरूसँग भेटघाट गर्न पाउँदा खुशी लागेको बताए। उनले कार्यक्रमले अलुम्नाइहरूबीच अनुभव आदानप्रदानका लागि विशेष अवसर प्रदान गर्ने उल्लेख गरे।
बास नेपालकी केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले बालिका शिक्षा कार्यक्रमको अलुम्नाइ व्यक्तित्वहरूको कथा सुन्दा गर्व महसुस भएको बताइन्।
कार्यक्रममा क्यारियर काउन्सिलिङ र उत्प्रेरणाका विषयमा कार्यक्रम संयोजक हेमराज भट्टले प्रस्तुति दिएका थिए। वरिष्ठ सामाजिक परिचालक सुस्मिता लामाको सहजीकरणमा भएको कार्यक्रममा सहभागी बालिकाहरूले आफ्नो अनुभव र प्रेरणाका कथा सुनाए।
अनुभव र प्रेरणादायक कथा आदानप्रदान
सिर्जना थारु, नितु सुनार, मिना बुढाथोकी, संगिता सुनार, सिता बुढा, कबिता गुरुङ, एकता भण्डारी र टिका डाँगीलगायत सहभागीहरूले बालिका शिक्षा कार्यक्रमले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे बताए। उनीहरूले जीवन जिउने कला, बोल्ने सीप, निर्णय क्षमताको विकास र समस्यासमाधान गर्न सिकेको अनुभव सुनाए।
कार्यक्रममा अलुम्नाइहरूको प्रतिभा उजागर गर्न ट्यालेन्ट शो पनि गरिएको थियो। कुल ६० जना अलुम्नाइहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बास नेपालले जनाएको छ।