ल्याण्डफिल साईटमा फोहोरको डंगुर

गन्ध गाउँ-गाँउ सम्म ठसठसी

माधव कार्की

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ल्याण्डफिल साईटको गन्ध नजिकका गाउँ गाउँसम्म पर्न थालेको छ । जसले गर्दा भबिष्यमा बातावरणीय असर पर्न सक्ने सम्भावना बढेर गएकोछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर २३ को हिरमिनियामा करिब १३ बिघा जग्गामा एसियाली विकास बैंकको ३८ करोडको आर्थिक सहयोगमा निर्माण गरिएको ल्यान्डफिल साइट २०७६ सालदेखी सञ्चालनमा आएको छ ।

सुन्दर नेपालगञ्जको परिकल्पनाका साथ उपमहानगर भित्रको फोहोरलाई मोहोरमा परिणत गरी उपमहानगरको सरसफाई र आर्थिक अवस्थामा सुधार ल्याउन नेपालगञ्जका बिभिन्न वडाबाट फोहोर संकलन गरी उक्त स्थानमा डम्पिङ गर्नुका साथै त्यहीँबाट अत्याधुनिक मेसिनले फोहोर बर्गिकरण गरेर काम नलाग्ने फोहोरलाई खाडलमा पुर्नुपर्ने भएता पनि हाल फोहोर बर्गिकरण नगरी फोहोर सिधै डम्पिङ गरिंदा ब्यापक रुपमा दुर्गन्ध फैलिरहेको स्थनीयहरुले गुनासो गरेका छन् ।

कुहिने र नकुहिने सबै फोहोर एकै ठाउँमा फाल्दा खाल्डो भरिएर फोहोरकै चुचुरो बन्न पुगेको छ । उक्त स्थानमा कुकुर, स्याल, चराचुरुङ्गीहरुले फोहोर जथाभाबी खोस्रेर निकाल्दा वाताबरण झनै दुर्गन्धीत बन्ने गरेको छ । जस्ले गर्दा नजिकका गाउँ टोलहरु लोहारण पुरुवा, उदयपुर र तेलियनपुरुवामा बसोबास गर्ने स्थानियबासीहरुमा पछि गएर श्वासप्रश्वाषको समस्या, एलर्जी जस्ता समस्या आउन सक्ने ल्याण्डफिल साईट अबलोकन गरी फर्केका नाईस नेपालगञ्जका सचिव कमल बहादुर शाही बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको घर–घरको डस्टबिनबाट फोहर संकलन गरी उपमहानगरपालिकाको गाडीले हरेक दिन ल्याण्डफिल साईटमा पुर्याईन्छ भने ल्याण्डफिल साईटमा हरेक दिन २६ टन सम्म फोहोर संकलन हुने गरेको ल्याण्डफिल साईटका साईट ईन्चार्ज शिव लामिछाने बताउँछन । उक्त साईटमा ३० जना कर्मचारी रहेको बताउने लामिछानेलाई पंक्तिकारले फोहोर संकलन गरिसकेपछि बर्गिकरण हुने नहुने बारेमा बुझ्दा उनी भन्छन् –शुरुवाती चरणमा मेसिनबाटनै बर्गिकरण गर्दै आएपनि हाल कर्मचारीहरुले हातले बर्गिकरण गर्दै आएका छन् ।

३२ बर्ष सम्म प्रयोग गर्न मिल्ने गरी बनाएको ल्याण्डफिल साईटमा ४ वटा बडेमानका खाडल रहेकोमा एउटा खाडर भरिएर फोहोरको चुचुरो बनिसकेको छ भने ३ वटा खाडल खालि रहेको ईन्चार्ज लामिछानेले बताए ।

बर्गिकरण गर्ने मेसिन ठेक्कामा दिएको र ठेकेदारले शुरुको एक बर्ष सम्म सञ्चालन गरी फोहोर बर्गिकरण गर्दे आएपनि हाल ठेकेदारले उक्त मेसिन सञ्चालन नगर्दा बडेमानको मेसिन खिया लागेर थन्किएको अबस्थामा पुगेको छ ।

जसले गर्दा फोहोर बर्गिकरण नगरी गाडीबाट सिधै खाडलमा हाल्ने गर्नाले सोही फोहोरको डंगुरमा कुकुर बिरालो स्याल र चराचुरुङ्गीले टाढा टाढा सम्म लग्ने भएकाले पनि वाताबरण दुर्गन्धीत भएको स्थानीयहरुको गुनासो आएपछि दैनिक आएका गाडीहरुको फोहोरको रेकर्ड राख्ने कर्मचारी पुर्णिमा रोकायालाई सोध्दा बर्गिकरण नगर्ने गरेको स्विकार्छिन् । भन्छिन् –कोरोना कालदेखी बन्द भएको यो मेसिन बन्द भएकाले मानब शक्ति प्रयोग गरेरनै बर्गिकरण गर्ने गर्दछौं ।

भबिष्यमा वाताबरणीय प्रभाव पर्न सक्ने असरहरुका बारेमा नेपालगञ्ज उपमहानगरपालिकाको योजनाका बारेमा बुझ्दा वाताबरण शाखाका प्रमुख प्रकाश डिसी यस बारे उपमहानगर सचेत रहेको बताउँछन् ।

फोहोर थुपारएिको ठाउँमा अली अली गन्ध आएपनि त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा उपमहानगर लागिरहेको उनले बताए । उपमहानगरपालिका उक्त ल्याण्डफिल साईटको बाहिरी वाताबरणका साथै भित्र काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यमा पर्न सक्ने असरहरुको बारेमा आफै फिल्डमा गएर अनुगमन गर्दै आएको डिसीले बताए ।

बाहिर गन्ध नआओस् भनेर बर्गिकरण गरेर राखेको कुहिने फोहोरमा गन्ध मार्ने केमिकलका साथै त्यहाँ काम गर्ने हरेक कर्मचारीहरुलाई काम गर्दा (पिपिइ ) प्रयोग गर्नुपर्ने ब्यवस्था छ भने कर्मचारीहरुको सवास्थ्य बिमा देखी हरेक छ महिनामा उनीहरुको स्वास्थ परीक्षण हुने गरेको डिसीले बताए ।

समग्रमा नेपालगञ्जमा सञ्चालन गरिएको नमुना ल्याण्डफिल साईटलाई प्रभाकारी रुपमा अगाडी बढाउनुका साथै ल्याण्डफिल साईटको दुर्गन्धले वाताबरण र मानिसहरुमा पर्न सक्ने असरका बारेमा उपमहानगरपालिकाका साथै जनप्रतिनिधिहरु बेलैमा सचेत हुन जरुरी देखिन्छ भने नागरिकहरुले पनि आफ्नो घरबाट संकलन हुने फोहोरको बर्गिकरण अर्थात कुहिने या नकुहिने फोहोरको पहिचान गरी अलग गरी टोलमा पुग्ने उपमहानगरपालिकाको गाडीमा राख्न सकेमा फोहोर ब्यवस्थापनमा सहयोग मिल्ने देखिन्छ । यस बारे सम्वन्धित निकायको ध्यान जाओस् ।

  • २१ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech