नेपालगन्ज/ नक्कली डीएसपी बांके प्रहरीको फन्दामा परेका छन् ।
बाँके र यस आसपासका क्षेत्रमा आफुलाई डीएसपी हुँ भन्दै असुली गर्ने दैलेखका नैनसिंह बि.क. प्रहरी फन्दामा परेका हुन् ।
बिभिन्न सरकारी कार्यालय तथा सर्वसाधारणलाई कहिले सीआईबी, कहिले अनुसन्धानको डीएसपी भन्दै ठगी गर्ने दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय नैनसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नो नाम समेत नवीन शाही भनेर ढाँट्दै आएको प्रहरीको भनाई रहेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, सरकारी कार्यालयहरुमा गएर बि.क.ले कार्यालय प्रमुख, कर्मचारी र सर्वसाधारणलाई आफू सीआईबी र अनुसन्धानको डीएसपी भन्दै धम्क्याउने गरेको जानकारीका आधारमा उनलाई पक्राउ गरिएको हो । विकलाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेको हो ।
बांके प्रहरीले उनीबाट ठगिएकालाई सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेको छ ।