नेपालगन्ज/ नेपाल सरकारले गैरसरकारी संस्थाहरुलाई सम्पत्ति बेचबिखन गर्न रोक लगाएको छ । तत्कालिन समयमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले गैससहरुको सम्पत्ति बिबरण संकलन गर्ने भन्दै समिति बनाएर केही समयका लागि बेचबिखन रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्र बमोजिम गृहले गैससहरुलाई सम्पत्ति बेच्न रोक लगाएको लामो समय बितिसक्दा समेत न सम्पत्ति बिबरण एकिन गरियो न यो निर्णयनै बदलियो । तर बाँकेको एक यस्तो संस्था छ, जसलाई यो सरकारी नियम त लागु भएन, भएन, सो संस्थाका अध्यक्षले करोडौं पर्ने संस्थाको घरजग्गा आफ्नी श्रीमतिको नाममा गराईदिए । यो भन्दा ठूलो भ्रष्टाचार अरु के हुन सक्ला ?
कुरा बाँकेमा बादी समुदायका लागि काम गर्दै आएको सोसियल अवेरनेस फर एजुकेसनल (सेफ) को हो । जुन संस्थाका पूर्ब अध्यक्ष शुकलाल नेपाली (बादी) ले नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोड बढी मूल्य पर्ने कार्यालय भवन सहितको जग्गा श्रीमतीलाई बिक्री गरेको देखाएर हिनामिना गरेका छन् ।
पूर्वअध्यक्ष बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको कागजात प्राप्त भएको छ ।
बाँकेको पुराना गैससहरु मध्येको एक हो सेफ नेपाल । जसका संस्थापक अध्यक्ष दिलिप परियारलाई पाखा लगाई शुकलाल अध्यक्ष बनेर एक दशक बढि समय एकछत्र राज गरेका थिए । प्लान, सेभ द चिल्ड्रेन लगाएतका बैदेशिक संस्थाहरुको करोडौं सहयोग भ्रष्टाचार गरेर संस्थालाईनैं बदनाम गराई बिभिन्न मुद्धा, मामिलामा फसेका शुकलालले संस्था बन्द भएको दशक पछि नबिकरण गरेर पुनः आफु अध्यक्ष भएका थिए ।
आफु अध्यक्ष भएको बेला जग्गा र कार्यालय भवनलाई सुकलालले मालपोत कार्यालयसँग मिलेर आफ्नी श्रीमतीको नाममा पास गरिदिए ।
श्रोतका अनुसार, शुकलालकी श्रीमतीले एनआईसी एसिया बैंकको कम्दी शाखामा धितो राखेर ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा १ करोड ५० लाख रुपैयाँ एनआईसी एसिया फास्ट ट्रयाक व्यवसाय कर्जा लिएको पाइएको छ ।
संस्थाका अध्यक्ष सुकलालले २०७५ असार २१ मा नेपालगन्ज–७ फुल्टेक्राको एकतानगरमा रहेको ११ ‘क’ कि.नं. १३०२ को ४ कठ्ठा जग्गा २७ लाख रुपैयाँमा बिक्री गरेको देखिएको छ ।
सेफ नेपालको हालका अध्यक्ष अभिषेक नेपालीले पदभार ग्रहण गरेको लामो समय बित्दा पनि जग्गा र घरको लालपुर्जा भेटेनन् । उनले भने –यस बारे पटक–पटक पूर्वअध्यक्ष सुकलाललाई सोध्दा, बुझ्दा उनले आनाकानी गरेपछि आफुलाई शंका लागेर खोजतलास गर्दा संस्थाको भवन र जग्गा अनियमित तवरले नामासारी गरेको पाईयो ।
अध्यक्ष नेपालीले मालपोतमा गएर बुझ्दा बर्दिया पाताभार–२ की ४६ वर्षीया रिना बादीलाई राजीनामा गरिदिएको राजीनामा पत्र फेला परेपछि यो अनियमितता र भ्रष्टाचारको पोल खुलेको हो । २७ लाख रुपैयाँमा संस्थाको उक्त जग्गा बिक्री गरिएको देखिए पनि रकम संस्थाको खाता वा अन्य कुनै ठाउँमा जम्मा नभएको अध्यक्ष अभिषेक नेपालीले बताए ।
उनका अनुसार, मालपोत कार्यालय नेपालगन्जमा २०७५ असार २१ मा जग्गाको राजीनामा रजिस्ट्रेसन भएको देखिन्छ । रजिस्ट्रेसनमा संस्थाको चलानी नं. ९३ मा संस्थाका प्रतिनिधि (सुकलाल नेपाली) खटाई २७ लाख रुपैयाँमा किनबेच गर्ने २०७५ जेठ २ को संस्थाको माइन्युट, चलानी नं ११८४२, २०७४ वैशाख २० मा करचुक्ता तथा २०७५ वैशाख १६ मा २०७४÷७५ सालको तिरो तिरेको रसिद नम्बर ९१५६ उल्लेख गरिएको छ । साक्षीमा सुर्खेत छिन्चु–७ बस्ने जिउली बादी, नेपालगन्ज–१३ का हेमन्त सिंह साउँद र नेपालगन्ज–५ का हेमबहादुर रावत रहेका छन् ।
उक्त जग्गामा घर तथा बाटो पनि नभएको व्यहोरा रजिस्ट्रेसनका लागि सिफारिस गरिदिएको पाइएको छ । जबकि, उक्त जग्गामा दुईतले भवन पहिले नै निर्माण भएको थियो भने बाटो पनि रहेको छ ।
२०७५ जेठ २ मा बसेको संस्थाको बैठकबाट जग्गा बिक्री गर्ने निर्णय भएको देखिन्छ । उक्त निर्णयमा पनि अधिकांशको कीर्ते हस्ताक्षर छ –अध्यक्ष नेपाली भन्छन् –संस्थाको नाममा रहेको घरजग्गा व्यक्तिका नाममा मालपोतले कसरी नामासारी गर्यो । बैंकले कुन आधारमा ऋण दियो ? वडाले कसरी सिफारिस ग¥यो भन्ने बिषयमा आफुहरु अचम्मित छौं, कानुनी कार्वाहीको प्रकृयामा अघि बढेका छौं ।
अध्यक्ष नेपालीले संस्थाको जग्गा कीर्ते हस्ताक्षर गरेर श्रीमतीको नाममा बिक्री गर्ने सुकलालमाथि छानबिन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी बाँकेमा मंगलबार ठगी मुद्दा दर्ता गराएका छन् ।
उनले सामाजिक संस्थाको सम्पत्ति कोही, कसैले हिनामिना गर्न नपाउने बताउँदै यस बारे कानुनी लडाईं लड्ने उद्घोष गरे ।