नेपालगन्ज । तिहारको समयमा अनावश्यक रुपमा प्रयोग हुने पटका, झिरझिरे, आतिशबाजी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गरिएको छ ।
बास नेपालले आज बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाललाई ज्ञापन पत्र बुझाउदै तिहारको समयमा हुनै यस्ता कार्यहरु नियन्त्रण गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा नेपालीहरुको महान पर्ब तिहार नजिकिनै गर्दा खुला सिमानाका कारण पटका, झिरझिरे लगायत पट्काउने, बाल्ने, आतिशबाजि गर्ने कार्य विगतका बर्षहरुदेखि ब्यापक रुपमा हुने गरेको र यस बर्ष समेत आम नागरिकहरु आतंकित हुने गरी सो कार्य हुन सक्ने भन्दै उक्त ध्यानाकर्षण गराएको हो । भारतीय खुला सिमानाको फाईदा उठाउदै गैरकानुनी रुपमा भित्र्याईने यस्ता सामाग्रीहरुको बिक्रि वितरणमा रोक लगाउन माग गरिएको छ ।
विगतको समयमा लुकिछिपी बिक्रि वितरण हुने गरेकोमा पछिल्लो समय खुल्लम खुल्ला बिक्रि हुनुका साथै पट्काउने गरीएको उल्लेख छ । केही ब्यक्तिको मनोरन्जन र आत्मरतिका नाममा बालवालिका, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुलाई पर्न सक्ने शारिरिक, मानसिक असरलाई मध्यनजर गर्दै प्रशासनलाई गम्भिर बन्न अनुरोध गरिएको छ ।
प्रहरी प्रशासनको सक्रियता विना यस्ता गैरकानूनी क्रियाकलापले प्रषय पाउने भएकाले यथासक्य सो क्रियाकलापहरुको नियन्त्रणका लागि सार्वजनिक सुचना जारी गर्न र कडा निगरानी सहित पूर्ण रुपमा पटाका लगायतका पदार्थहरुमा प्रतिबन्ध लगाउन अनुरोध गरिएको छ । सार्वजनिक सूचना जारी गर्दा गर्दै यस्ता कार्यहरु गर्ने जो कोहीलाई पनि मूलुकी अपराध संहिता २०७४ को बिष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तरगत कार्वाही गर्न समेत अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले प्रशासनले यस्ता कार्यमा कडाईकासाथ निगरानी गर्ने प्रतिबद्धता गरेका छन् । बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले प्रजिअ रिजाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । सो क्रममा प्रजिअ खगेन्द्र प्रशाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी दत्त राज हमाल, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी र शोभा थापा मगरको उपस्थिती रहेको थियो ।