नेपालगन्ज । लैंगिक तथा जलवायु न्याय क्लबमा आबद्ध भएपछि बालिकाहरुको बानी ब्यवहारमा सकारात्मक परिवर्तन भएको अभिभावकहरुले बताएका छन् ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकाको जनसेवा माबि र बैजनाथको जनता आदर्शमा भएको अभिभावक भेलाका सहभागि अभिभावकहरुले यस्तो बताएका हुन् ।
जलवायु न्याय क्लबको हाल सम्मको प्रगति बारे अभिभावकलाई जानकारी दिने, क्लबका गतिविधिहरुको प्रभाव र परिणामका बारेमा छलफल गर्ने, अभिभावकलाई जलवायु न्यायका पहल र कार्यमा थप संलग्न गराउने र बालबालिकाहरुको हौसला बढाउन अभिभावकलाई उत्प्रेरित गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा कार्यक्रम र जलवायु न्याय क्लबको प्रभावकारीताका बिषयमा छलफल गरिएको थियो । छलफलको क्रममा सहभागि अभिभावकहरुले जलवायु न्याय क्लबमा आवद्ध भएपछि बालिकाहरुले वातावरण संरक्षण, फोहोर ब्यवस्थापन, प्लाष्टिकको प्रयोग कम गर्ने लगायतमा काम गरिरहेको र घरपरिवारमा समेत गर्न उत्प्रेरित गर्ने गरेको बताए । क्लबमा आबद्ध भएपछि सरसफाई र वातावरण संरक्षणमा बिशेष ध्यान दिने गरेको उनीहरुले बताए । जलवायु क्लबमा आबद्ध बालिका र अन्य छोराछोरीहरुको ब्यवहार र काम गराईमा निकै फरक पन रहेको बताउदै बालिकाहरुको ब्यवहारमा परिवर्तन गर्न बालिका शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा रुम टु रिड र बास नेपाललाई धन्यबाद ज्ञापन गरे । जलवायुको सन्देस बालिका मात्रै नभएर बालकमा समेत दिन जरुरी रहेको भन्दै उनीहरुले कार्यक्रम निरन्तरताको अपेक्षा गरेका थिए । बैठकको अन्तमा सहभागिहरुले नौ बुदें प्रतिबद्धतामा सामुहिक हस्ताक्षर गरेर जलवायु न्यायमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।
बैठकमा बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले जलवायु परिवर्तनमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले प्रतिबद्धतालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे । बैठकमा बास नेपालका शोभा थापा मगरले जलवायु न्याय क्लबको हाल सम्मको प्रगति, क्लबका गतिविधिको प्रभाव र परिणामका बारेमा प्रस्तुतीकरण गरेकी थिईन् । बैठकमा जलवायु परिवर्तनको अनुकूलन र अल्पिकरणमा अभिभावको भूमिकाका बिषयमा समुह केन्द्रीत छलफल र प्रस्तुतीकरण गरिएको थियो । बैठकमा २५ जनाको सहभागिता रहेको थियो ।
यसैगरी आज नै श्री जनता आदर्श माबि बैजनाथमा अभिभावक बैठक सम्पन्न भएको छ । बास नेपालका शोभा भण्डारीले जलवायु न्याय क्लबको हाल सम्मको प्रगति, क्लबका गतिविधिको प्रभाव र परिणामका बारेमा प्रस्तुतीकरण गरेकी थिईन् । बैठकमा ३२ जना अभिभावको सहभागिता रहेको थियो ।