घोडाघोडी (कैलाली), १७ साउन
सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षण र व्यवस्थापनका अतिरिक्त आर्थिक र सामाजिक रूपान्तरणका क्षेत्रमा पनि प्रभावशाली भूमिका खेल्न थालेका छन् । पछिल्लो समय कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित सुनपाल सामुदायिक वनलाई उदाहरणका रूपमा हेर्न सकिन्छ । महिलाहरूलाई आत्मनिर्भर तर्फ उन्मुख गराउनका लागि ४५ दिने ब्युटिसियन तालिम प्रदान गरेको छ । वनले जुम ब्युटी पार्लर मार्फत तालिम सञ्चालन गरेकाे थियो । तालिममा २० जना महिलाहरू सहभागी रहेको पार्लर सञ्चालक श्रीदेवी चौधरीले जानकारी दिनुभयो । सामुदायिक वनले प्रदान गरेको तालिमले आत्मनिर्भरका लागि ऊर्जा थपेको सहभागी सुस्मा भुलले बताउनुभयो । गएको वैशाख १४ गते देखि सुरु भएको तालिमको शुक्रवार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय मसुरीयाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले राज्यले बहन गर्नुपर्ने दायित्व सामुदायिक बनले गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
यो उहाँले तालिममा सिकेको सिपलाई आर्थिक आत्मनिर्भरताको को पाटो बनाउन सहभागीलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, आत्मनिर्भर भयो भने जुनसुकै अवस्थामा पनि अगाडी बढ्न सकिन्छ नभए तालिमको लगानी खेर जान्छ ।
सामुदायिक वनले तालिम सुरु गरेको देखेर वडा बाट पनि चालु आर्थिक वर्षमा ब्युटिसियनको तालिमका लागि बजेट छुट्याएको गौरीगङ्गा ८ का वडा सदस्य कल्पना देवी रोका मगर बिक बताउनु भयो ।
उहाँले आर्थिक अवस्था एकदमै कमजोर भएकालाई सिप सिकेपछि आवश्यक पर्ने सामाग्री दिनका लागि योजना बनाइरहेको पनि बताउनुभयो ।
ब्युटिसियन सँगै सामुदायिक वनले ४५ दिने ड्राइभिङ तालिम, ३ महिने कम्प्युटर बेसिक तालिम, सिलाई कटाई तालिम, टायल मार्बलिङ र प्लम्बिङ तालिम दिएको सुनपाल सामुदायिक वनका अध्यक्ष राम बहादुर कामीले बताउनु भयो ।
सुनपाल सामुदायिक वनमा गौरीगङ्गा ७ र ८ का उपभोक्ताहरू रहेका छन् । समूहमा आबद्ध उपभोक्ता घरधुरी मध्येबाट इच्छुक युवा युवतीहरूलाई तालिम प्रदान गरिएको अध्यक्ष कामीले बताउनुभयो ।
वन ऐन अनुसार सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आयबाट कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी रहेको रकमको कम्तीमा पचास प्रतिशत रकम सम्बन्धित स्थानीय तह सँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार सिप मूलक तालिम दिन थालिएको अध्यक्षले बताउनु भयो ।
अध्यक्ष कामीका अनुसार आर्थिक वर्ष २०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिलाई कटाइका लागि २ लाख १० हजार, ड्राइभिङका लागि ४ लाख, ब्यूटिसियनका लागि १ लाख ७० हजार, कम्प्युटर बेसिकका लागि १ लाख २५ हजार ,प्लम्बिङका लागि २ लाख ५० हजार र टायल मार्ब फिटिङ तालिमका लागि २ लाख गरी जम्मा १३ लाख ५५ हजार रकम छुटयाईको थियो ।
रोजगारका लागि जुन सुकै ठाउँमा गए पनि सहजै रोजगारी र राम्रो ज्याला पाउन भन्ने उद्देश्यका साथ तालिम दिइरहेको वनका अध्यक्ष कामीले बताउनु भयो ।
उहाँले भन्नुभयो “हामीले तालिमको आयोजना आफ्नै ठाउँमै रोजगारीको सम्भावना बढाउनका लागि पनि गरेका हौँ। यदि विदेश जानुपर्ने भए पनि सीप सिकेर जान सकियोस् र काम खोज्न कठिनाइ नहोस् भन्ने सोचले यो तालिम सुरु गरेका हौँ ।”
तालिममा एकल महिला र विपन्न परिवारहरूलाई प्राथमिकतामा राखिएको छ । तालिम सँगै सुनपालले परम्परागत पेसा व्यवसाय संरक्षणका लागि अनुदान दिने निर्णय समेत गरेको छ ।
उपभोक्ताहरूलाई रोजगार तर्फ उन्मुख गराउन प्रयास गरिरहेको सुनपालले गौरीगङ्गामा रहेको खप्तड बहुमुखी क्याम्पसलाई कम्प्युटर सेट र पाठ्य पुस्तक खरिद गरेको थियो ।









