नेपालगञ्ज/ बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच (सार्वजनिक मन्तव्य) प्रतियोगिताको सेमिफाईनल आज सम्पन्न भएको छ ।
बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
बास नेपालको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको अडिसन राउण्डबाट छानिएका २९ जना बिद्यार्थीहरुले सेमिफाईनलमा सहभागिता जनाएका थिए । अडिसन राउण्डमा ४२ जना सहभागि थिए ।
बास नेपालका कार्यक्रम संयोजक अशोक रावलले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रमको समापन बास नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।
प्रतियोगिताको अडिसन राउण्डबाट छनौट भएका प्रतिष्पर्धीहरुलाई बिषयबस्तु दिईएको थियो । सहभागिहरुले राष्ट्र र राष्ट्रियतामा युवाको भुमिका, समृद्ध नेपालका लागि सुशासन, लैंगिक हिंसा रहित समाज, सामाजिक सञ्जालले पारेको प्रभाव, लागुऔषध बिरुद्ध युवा बिषयमा सहभागिहरुले बक्तव्य दिएका थिए जसको लागि ५ मिनेटको समय दिईएको थियो । २९ जना सहभागिहरु मध्येबाट उत्कृष्ट बक्तव्य दिने २० जना प्रतियोगिहरु फाईनलका लागि छनौट भएका छन् ।
निर्णायकको भुमिकामा राष्ट्रव्यापी बक्तृत्वकला प्रतियोगिताका लागि नेपाल प्रथम, कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयका अधिकृत सन्तोष खड्का, मध्यपश्चिम क्षेत्रिय खेलकुद बिकास समितिका निबर्तमान अध्यक्ष भीम वली र साहित्यकार दिला शाह रहेका थिए । निर्णायक खड्काले प्रतियोगिताको नतिजा नियम सुनाएका थिए भने अर्का निर्णायक बलीले नतिजा सार्वजनिक गरेका थिए । निर्णायक शाहले प्रतिष्पर्धी प्रतियोगीहरुलाई पृष्टपोषण दिएका थिए ।
फाईनल राउण्ड २०८१ फाल्गुण २५ गते हुनेछ । सेमिफाईनलबाट छनौट भएका सहभागिहरु फाईनल राउण्डमा प्रबेश गर्नेछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तोना हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने रु. २० हजार नगद सहित पब्लिक च्वाईस अवार्ड प्रदान गरिनेछ ।
फाईनल राउण्डका सहभागिहरुलाई प्रतियोगिताका लागि ५ मिनेटको समय दिईनेछ ।