सुर्खेत/ फागुन २१ गते पञ्चपुरी नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत इन्सेक कर्णाली प्रदेशको आयोजना, पञ्चपुरी मानव अधिकार समुह र डिभिजन वन कार्यालय भेरी बाबियाचौरको समन्वयमा स्थानीय स्तरमा वातावरण अधिकार सम्बन्धी कार्यशालामा आफ्ना भनाई राख्दै पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले मानवलाई बाँच्नका लागि वन आवश्यक भएको बताएका छन् ।
वन डढेलोका कारण प्रत्यक्ष रुपमा मानव जीवनमा असर पर्ने हुँदा हरेक नागरिक स्वच्छ वातावरणमा बाँच्न पाउने हक छ ,वन संरक्षणका लागि कानुन जति कडाई भए पनि वन संरक्षण गर्न नसकेको बताए ।
वन संरक्षण नहँुदा पानीका मुहानहरु सुक्दै जानु, वर्षामा समस्या भोगीरहनु परेको छ, वन संरक्षण गर्नु सबैको दायित्व रहेको र अब तत्कालरुपमा पालिकाले पनि वातावरण संरक्षणको विषयमा वनसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
यस्तै कार्यक्रमा बोल्दै कर्णाली प्रदेश मानव अधिकार समुह संयोजक इन्द्रा विसीले वन भन्ने बित्तिकै वातावरणसँग जोडिने कुरा हो वातावरण मानव स्वास्थ्यसँग जोडिने कुरा हो र यो मानव अधिकारको सवाल हो । वातावरण संरक्षण गर्नु भनेकै मानव अधिकारको संरक्षण गर्नु हो । त्यसैले वन तथा वातावरण संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य हो । नागरिकलाई यो सम्बन्धी सचेत पार्न आवश्यक भएको बताएकी छन ।
यस्तै कार्यक्रमको खुल्ला छलफलमा बोल्दै पञ्चपुरी नगरपालिकाका कृषि शाखा प्रमुखले वातावरण संरक्षणको सवालमा सबै नागरिक सचेत रहनुपर्ने र जनचेतनामुलक काम गर्नुपर्ने बताए ।
यस्तै पञ्चपुरी मानव अधिकार समुहका संयोजक अमर कार्कीले पञ्चपुरी बर्खामा अधिकरुपमा वनमा डढेलो लाग्ने हुँदा त्यसले वन विनास सँगै मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पार्ने गदर्छ ,समयमै यसको नियन्त्रण आवश्यक रहेको बताउदै यसको जिम्मेवार निकाय स्थानीय तह,सवडिभिजन वन कार्यालय,वन उपभोक्ता समिति र डिभिजन वन कार्यालय रहेको बताए ।
यस्तै यस वातावरण अधिकार सम्बन्धी कार्यशालामा वातावरण संग वन किन जोडिएको हुन्छ र वन संरक्षणले वातावरणलाई कसरी सहयोग गर्छ र कानुनी प्रावधान के रहेको छ भन्ने विषयमा डिभिजन वन कार्यलय भेरीका वरिष्ठ वन अधिकृत शेर बहादुर रोकायाले सहजीकरण गरेका थिए भने यस कार्यक्रमको संचालन इन्सेक कर्णाली प्रदेश कार्यक्रम अधिकृत ललिता बि.क.ले कार्यक्रम संचालनसंगै कार्यक्रमको उद्देश्यबारे प्रकाश परेकी थिइन ।
कार्यशाला कार्यक्रममा पञ्चपुरी मानव अधिकार समुहका समितिहरु,विद्यालयका प्रधानाध्यापक,शिक्षा शाखा प्रमुख,महिला विकास शाखा प्रमुख,कृषि शाखा प्रमुख,विपद व्यवस्थापन शाखा प्रमुख र बाल अधिकार समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।