डोल्पा /दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यसहित डोल्पोबुद्ध गाउँपालिकाको धोमा इलाका प्रशासन कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
सरकारले धोमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको करिब ११ महिनापछि कार्यालयको उद्घाटनसँगै सेवा प्रवाह सुरु भएको हो। सरकारले २०८२ पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट डोल्पाको धोसहित देशका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।
कार्यालय सञ्चालनमा आएसँगै माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकाका नागरिकलाई नागरिकता तथा अन्य प्रशासनिक सेवाका लागि ४२ किलोमिटर टाढा रहेको जिल्ला सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।
कार्यालय उद्घाटनकै दिन तीन जना नागरिकले नागरिकता प्राप्त गरेका छन्। नागरिकता प्राप्त गर्नेमा डोल्पोबुद्ध गाउँपालिकाका दुई जना र शे–फोक्सुण्डो गाउँपालिकाका एक जना रहेका छन्। कार्यालय उद्घाटनसँगै सेवा प्रवाह सुरु गर्ने प्रतिबद्धता व्यवहारमै कार्यान्वयन भएको हो।
यस कार्यालयको स्थापनाले भौगोलिक विकटताका कारण राज्यका आधारभूत प्रशासनिक सेवाबाट टाढा रहन बाध्य माथिल्लो डोल्पाका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी नागरिकता, प्रशासनिक सिफारिस तथा अन्य सरकारी सेवा लिन लाग्ने समय, खर्च र यात्राको कठिनाइ कम हुने विश्वास गरिएको छ।
धोमा इलाका प्रशासन कार्यालय स्थापना तथा सञ्चालनका लागि तीनवटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीहरू, प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा डोल्पोबुद्ध गाउँपालिकाका कर्मचारीलगायतको निरन्तर पहल, समन्वय र सहयोग रहेको जनाइएको छ।
यो कार्यालय स्थापना हुनु एउटा प्रशासनिक संरचना थपिनु मात्र नभई दुर्गम क्षेत्रका नागरिकको घरदैलोमै राज्यको उपस्थिति र सेवा विस्तार हुनु पनि हो। साझा प्रयास र समन्वयबाट सम्भव भएको यस पहलले माथिल्लो डोल्पाको सेवा पहुँच विस्तारमा नयाँ आधार तयार गरेको छ।









