नेपालगन्ज /बाँकेको नेपालगन्जमा मेयर कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा बुद्ध युवा क्लब नेपालगन्ज–१२ को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख विष्टले खेलकुदले युवाको प्रतिभा प्रस्फुटन, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्य विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गरे।
बुद्ध युवा क्लब का अध्यक्ष तेज विक्रम शाहको अध्यक्षतामा भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा फुटबल खेलको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने र खेलकुदमार्फत आपसी सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लब का अध्यक्ष तेज विक्रम शाहले बताए।









