सँगैकी काली भीरबाट खसेपछि…

मन भण्डारी

कुरा २०५८ सालतिरको हो । मैले ८ कक्षाको परीक्षा दिएर बसेको थिएँ । त्यतिबेला विद्यालय विद्या थियो । लामो समयको विद्या भएकाले मेरो दिनचर्या गाई/भैँसी चराउनमा बितिरहेको थियो । घर भन्दा अलि टाढा लेखमा मेरो बारी र गोठ थियो । त्यही कोठमा भैँसी बाँध्ने गरिएको थियो । भैँसीलाई फुकाएर चराउने, घाँसपात गर्ने, पानी खुवाउने र सम्पूर्ण रेखदेख गर्ने मेरो हरेक दिनको दैनिकी थियो । लामो समयदेखि विद्यालय बन्द भएकाले साथीहरु कसैसँग भेटघाट हुन सकिरहेको थिएन । विद्यालयमा साथीहरुसँग भलिबल खेलेको, बाटोमा रमाइलो गर्दै विद्यालय गएको, विद्यालय नगएर बाटोमै लुकेर बसेको, साथीहरुसँग झगडा गरेको, केटीहरुसँग जिस्किएको, विभिन्न खेलहरु खेलेको यादहरुले सताइरहेको थियो । गोठ घरभन्दा टाढा भएकाले म एक्लै गोठमै बस्थे । मेरो उमेर पनि परिपक्क भएको थिएन म केटाकेटीनै थिएँ । तर मेरो जिम्मेवारी र काम भने परिपक्क थियो । आफूले खाने खाना आफैले पकाउनु पथ्र्यो, भैँसीको दुध आफैले दुहुनु पथ्र्यो, घाँसपात आफैले गर्नु पथ्र्यो । मानौँ सबै काम आफैले गथ्र्ये । मेरो नत छिमेकीसँग भेटघाट हुन्थ्यो, नत घरपरिवारका व्यक्तिहरुसँग नै । मेरो साथी थिए काली भैँसी, तारे पाडो र फुर्के सानो भैँसी । उनीहरुसँगै रात दिन बितिरहेका थिए ।

हरेक दिन बिहान घाँसपात गर्ने र दिउँसो भैसी चराउने मेरो काम हुन्थ्यो । कहिले चुर्तुने, कहिले मालुने, कहिले अँध्यारी खोला त कहिले निकालगडा खोला (ठाउँको नाम) भैँसी चराउन जान्थे । त्यतिबेला वैशाखको महिना थियो । जंगलमा काफल, र ऐसालु पाकेर लटरम्म भएको थियो । कहिलेकाँही काफ्ल खान र घाँस काट्नलाई अर्को गाउँका केटीहरु आउने गर्थे । उनीहरु आएको दिनमा मन खुसीले गदगद हुने गथ्र्यो र समय बिताउन पनि सजिलो हुने गथ्र्यो । उनीहरुसँग बसेर काफल, तिर्खुला ऐसेलु खाँदै गफ गरेका दिनहरु अहिले पनि ताजै जस्तो लाग्छ । जब हरेक दिन रातपछि बिहान हुन्थ्यो बिहानैदेखि मेरो नजर उनीहरु आउने बाटोमा हुन्थ्यो, आज आउँछन् कि आउँदैनन् भनेर कौतुहुल्ता हुन्थ्यो । बाटोमा डोको बोकेर कोही आएको देखेपछि मनभित्र खुसी छाउथ्यो भने नआएको दिनमा आकाशमा बादल लागे जस्तो हुन्थ्यो । कुनै दिन पूरै जंगलनै सुनसान र अन्धकार हुन्थ्यो, जंगलमा म बाहेक अरु कोही हुँदैन्थ्यो ।

सधै झैँ एक दिन भैँसी चराउन निकालगडाको खोलामा लगेर गएको थिएँ । अरु दिन भन्दा फरक ठाउँमा लगेको थिएँ त्यो दिन भैँसी मैले । खोलाको किनारमा भैँसी चरिरहेका थिए, मैले अंग्रेजी डिक्सनेरी पढिरहको थिएँ । वन सुनसान थियो, अरु दिन जस्तो अरु मान्छेहरु पनि कोहि थिएनन् । भैँसीहरु ठूलो भीरको माथितिर चरिरहेका थिए । म माथि माथि सार्थे भैँसीहरु फेरि तलतल भीरतिर जान्थे, म काफ्लको रुखको फेदमा अडेस लागेर पढिरहेको थिएँ भैँसीहरु मज्जाले चरिरहेका थिए । केहि समय मेरो पूरै ध्यान पढाइमै थियो भैँसीतिर ध्यान दिनै बिर्सेछु । एकछिनमा के को आवाज आए जस्तो भयो, मैले कुनै चाल गरेन, फेरि अलि ठूलो आवाज आयो । म झस्याङ्ग भए र भैँसी भएको ठाउँतिर हरेको त काली भँैसीका पछाडिका दुइटा खुट्टा भीरतिर र अगाडिका दुइटा खुट्टा माथि अडिकेको अवस्था देखें । म आत्तिएर हत्तपत्त भैँसी भएको ठाउँमा गएँ । भैँसी माथि आउने कोसिस गरिरहेको थियो तर सकिरहेको थिएन, भैँसीले मलाई बचाउ भन्ने संकेत दिइरहेको थियो, आँखाभरि आँशु निकालेको थियो, माथि आउने र बच्ने हर कोसिस गरिरहेको थियो । मैले भैँसीको सिङ समातेर तान्ने कोसिस गरे म केटाकेटी मान्छेले भँैसीलाई तान्न सक्ने कुरा पनि भएन । अरु कसैलाई बोलाउ भने म बाहेक अरु कोहि थिएन त्यो ठाउँमा । एकछिनपछि भैँसीले आफू माथि आउन र बच्नलाई गरेको कोसिसले काम नगरेपछि भैँसीले चारै खुट्टा छाड्यो र भँैसी त्यो ठूलो भीरबाट खस्यो । त्यति बेला मेरो मुखबाट कुनै आवाज निस्किन सकिरहेको थिएन, म बेहोस जस्तै भए, भैँसी धेरै तल खसिसकेको थियो । आवाज मात्रै सुनिन्थ्यो भैँसी लडिरहेको । त्यो ठाउँमा जानलाई अर्कै बाटो भएर जानु पथ्र्यो धेरै टाढाबाट । भैँसी लडेको देखेर कालीसँगै भएका अरु दुइवटा पाडो अथवा साना भैँसी त्यही ठाउँमा हाम फाल्न खोजिरहेका थिए । मलाई बचाउन धौधौ भयो । आफ्नै भाषामा काली भैँसीलाई बोलाइरहेका थिए भैँसीका बच्चाले । धौधौ त्यो ठाउँबाट बचाएर उनीहरुलाई गोठसम्म पुर्‍याएँ ।

पाडोलाई गोठमा छाडेर अनि म काली लडेको ठाउँमा गएँ । मलाई त्यतिबेलासम्म अलिअलि आश थियो भैँसी जिउँदै होला भनेर । जब म भैँसी भएको ठाउँमा पुगे भैँसीको त टाउको एकातिर अरु शरीर अर्कोतिर भएको थियो । बाँच्ने त कुरै भएन हेर्न सकिने अवस्थाको पनि थिएन । म रुँदै फर्किनु बाहेक अरु कुनै उपाय थिएन । आँखाभरि आँशु निकाल्दै रुँदै गोठमा पुगेँ । ती भैँसीका बच्चाहरु मलाई हेर्दै कराइ रहेका थिए । तिनीहरुलाई देखेर मेरो मन झन भक्कानियो । केही समय एक्लै रोएर बसें, दुख पोख्ने अरु कुनै मान्छे थिएनन् त्यो ठाउँमा । एकातिर भैँसी लडेर मरेको पिर मनभरि थियो भने अर्कोतिर घरमा के भन्ने र घर कसरी जाने भन्ने डर थियो । गोठबाट अलि तल जोरले बोलेपछि आवाज सुनिने ठाउँमा माइलो दाइ र भाउजू गहुँ टिप्दै गरेको देखे अनि डरैडरले रुँदै भैँसी मरेको कुरा भने । त्यसपछि दाइले भैँसीका बच्चालाई ल्याएर घरमा आउने भन्नु भयो । मैले सबै सामानसहित ती दुइवटा साथीलाई घरमा लगेर गएँ ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech