कैलालीमा रखौना-रखौनी

खगेन्द्र गिरी कोपिला

कैलालीमा घोडाघोडी ताल मात्र होइन रखौना रखौनी ताल पनि छ। तर यसको समुचित प्रचार प्रसार हुन सकेको छैन।
घोडाघोडी ताल महेन्द्र राजमार्गमा पर्ने भएकोले धेरै चर्चामा आयो। रखौना रखौनी ताल भने पञ्चकोसवा भन्ने वसन्ताको घना वनभित्र पर्ने भएकोले त्यति चर्चामा आउन सकेको छैन।

रखौना रखौनी ताल कैलालीमा भजनी र हसुलियाको माझमा वसन्ताको वनभित्र अवस्थित छ। हुलाकी राजमार्गबाट २ किमि जति उत्तरतिर लाग्यो भने त्यहाँ पुग्न सकिन्छ।

घोडाघोडी तालको प्राकृतिक वातावरण पिकनिक खानेहरुले गरेर जाने फोहोरले गर्दा निकै प्रदुषित भैसकेको छ। त्यसको अनुपातमा रखौना रखौनी ताल सफा नै देखिन्छ। यहाँको खुला र ऐकान्तिक वातावरण मनमोहक छ।
हामी पुग्ने बेलामा भने हुस्सुको सेतो बर्को ओढेर पौषको जाडोमा निमग्न भएर सुतेको थियो रखौना रखौनी ताल। ललितभाइले खिचेको सेल्फिमा रखौना रखौनीको पूर्ण चित्र समेटिन सकेन। सौन्दर्य भन्ने कुरा आँखाले हेरेको र मनले अनुभव गरेजत्तिको सुन्दर त चित्रमा कहाँ देखिन्छ र? भन्दै हामी सकुञ्जेल नेत्रपान गरेर फर्कियौं ।

रखौना रखौनीसंग जोडिएको मिथक पनि निकै रमाइलो रहेछ । मेरो साथी विजयराज श्रेष्ठ भन्दै थियो:- रखौना रखौनी थारु संस्कृतिसंग जोडिएको शब्द हो। थारु समाजमा प्रेम गर्नुलाई “मन रख्ना” (मन राखिदिनु) भनिन्छ। यसरी मन राखिदिने केटालाई “मन रख्ना” र मन राखिदिने केटीलाई “मन रख्नी” भनिन्छ। उहिलेउहिले केटाकेटीहरु एक अर्काको मन राखिदिनको निम्ति कहिले खर काट्ने त कहिले सालका पात टिप्ने निहुँ गरेर यही तालको घना वनमा आउने गर्थे। त्यसरी एक अर्काका राग अनुरागहरुको मन राखिने ऐकान्तिक ठाउँ भएकोले यसलाई रखौना भन्न थालिएको हो रे!

तालका दुई ओटा खण्ड छन् । उनै अज्ञात मनरख्ना र मनरख्नीहरुको अज्ञात प्रेमलाई सम्झेर यो ताललाई पनि युगल बनाएर रखौना रखौनी भन्न थालिएको हो रे!

पूर्व प्रधानमन्त्री डा. केआई सिंहको गाउँ केआई सिंह फाँटा पनि यहाँबाट ३ किलोमिटर पूर्वतिर पर्छ। उहाँका छोरा भोगेन्द्रजीत जसलाई मुन्ना भनेर पनि चिनिन्छ। आजभन्दा ५० वर्ष अघि मुन्ना र एकजना थारु समुदायकी रुपसी युवतिको प्रेमका मुना पनि यति तालको छेउछाउमा अङ्कुरित भएका थिए रे! पछि उहाँहरु प्रेमविवाह गरेर भारतको सिंगाहीतिर लाग्नु भो । तर आजभन्दा ५० वर्षअघि गोत्र र जातमात्रै मिलाएर बिहे गरिने कट्टर समयमा भएको उहाँहरुको त्यो प्रेम र विवाहका कथाहरु अझैंसम्म त्यतातिर निकै स्मरण गरिदा रहेछन्। थारु भाषामा भागेर गरिने प्रेमविवाहलाई “उर्राउर्रि भ्वाज” भनिन्छ।

हसुलिया निवासी कवि तीलक बोहरा “समर्पण” भाइले पनि “दाजु म रखौना रखौनी तालमा कुनै दिन एउटा साहित्यिक कार्यक्रम गर्छु गर्छु” भनेर गरेको वाचा म सम्झिरहेको छु।

उसो त यहाँको ऐकान्तिक वातावरण ध्यान, योग र काव्य साधना गर्नेहरुको लागि पनि निकै सुहाउँदो छ।

 

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech