गुराँस गाउँपालिकाको सामाजिक परीक्षण अन्र्गत प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा गरिएको सामाजिक परीक्षण अन्र्तगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतिकरण कार्यक्रम २०८२ असार २० गते सम्पन्न भएको हो ।
स्थानीय सरकारले हरेक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसको सामाजिक उपलब्धि तथा कार्यसम्पादनको लेखाजोखाका लागि बर्षमा एक पटक सामाजिक परिक्षण गर्नु पर्ने प्राबधानलाई कार्यन्वयन गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १० को दफा ७८ को उपदफा ५ बमोजिम एक आर्थिक बर्षमा समग्र सामाजिक जिम्मेवारी पुरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्न, सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्य सम्पादनको लेखाजोखा गर्ने प्रक्रियालाई कार्यन्वयन गर्नका गुराँस गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न भएको योजना तथा कार्यक्रमको सामाजिक परीक्षण भएको हो ।
बास नेपालका कार्यक्रम प्रबन्धक तथा सामाजिक परीक्षक मन भण्डारीले सामाजिक परीक्षणको क्रममा गरिएको सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, संकलन, सूचनाहरुको संकलन तथा विश्लेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार गरिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रारम्भिक प्रतिवेदन प्रस्तुत पछि खुला छलफल भएको थियो । पालिकाका राम्रा अभ्यासहरु, मुख्य उपलब्धिहरु, समस्या तथा चुनौतीहरु, पालिकाले आगामी दिनमा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरु प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि.सी. ले सामाजिक परीक्षणबाट प्राप्त तथ्यहरु र सुझाबलाई आधारमा आगामी योजना तर्जुमा गर्न सहज भएको उल्लेख गर्दै तत्काल कार्यान्वयन गर्न सकिने सुझावलाइ तत्काल र अन्य सुझावलाई आवश्यक्ताको आधारमा क्रमिक रुपमा कार्यान्वयन गर्ने बताएका थिए । सामाजिक परीक्षणले औल्याएका विषयगत शाखाहरुसंग सम्बन्धित समस्याहरुलाइ सुधार गर्न शाखाप्रमुखहरु र सम्बन्धित सरोकारवाला ब्यक्तिले ध्यान दिनुपर्ने अध्यक्ष बि.सी. को भनाइ थियो । पालिकाबाट सम्पादन भएका हरेक कार्यक्रम तथा योजनाहरुको शाखागत पालिकाको एककिृत प्रतिवेदन तयार गरी अभिलेखीकरण हुनु नसक्नु कम्जोरी भएको बताउदै अध्यक्ष बि.सी. ले भने “आगामी दिनमा हरेक विषयको चस्तदरुस्त अभिलेख राख्ने गरी सबैले अनुशासन पुर्वक काम गर्नुपर्दछ । नागरिकहरुबाट कुनै किसिमको गुनासो नआउने गरी काम गर्न कर्मचारीहरुलाइ बि.सीले निर्देशन दिएका थिए । प्रतिवेदनले पालिकाको समग्र क्षेत्रलाइ समेटेको बताउदै राम्रा विषयलाइ थप सुधार गर्नुपर्ने र सुधार गर्नुपर्ने विषयलाइ सुधार गर्नतर्फ सबैले जिम्मेवार भएर लाग्नुपर्ने अध्यक्ष बि.सी. को भनाइ थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले सामाजिक परीक्षणका माध्यमबाट गाउँपालिकालाई महत्वपूर्ण सुझाव प्राप्त भएको बताएका थिए । यस्ता बिधिहरुले स्थानीय सरकारको सेवा, योजना र कार्यक्रमको पारदर्शिता, जवाफदेहीता र सुशासन कायम गर्न मदत गर्ने र सेवाप्रदायकलाई थप जिम्मेवार बनाउने पौडेलको भनाइ थियो । पालिकाले धेरै कामहरु गरेको भएपनि अभिलेखिकरणमा समस्या भएको बताउदै पौडेलले आगामी दिनमा कामको अभिलेखिकरणमा विशेष जोड दिन कर्मचारीहरुलाइ निर्देशन दिएका थिए ।
गाउँपालिका अध्यक्ष टोप बहादुर बि.सी.को अध्यक्षतामा भएको प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि शाखा प्रमुखहरु, गैसस प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।