एउटा मान्छेलाई मान्छे भएर पनि मान्छे सरह भएर बाँच्न नदिने कारणहरु संसारमा धैरे हुन्छन् । जस्तो जातीय विभेद । यो जातीय विभेदको कुरा हाम्रो समाजमा मात्रै किन ?
मान्छे भएर मान्छेको दर्जामा नराख्ने भएर होला हाम्रो जाती विकास तर्फ होइन विनासतर्फ गइरहेको देखिन्छ । जातीय विभेद जसले गर्छ, त्यो मानव होइन, दानव हो । त्यो मान्छे मूर्ख पनि हो । संसारमा हाम्रो जुनसुकै जात भएपनि जातीय विभेदको अन्त्य गर्नुपर्छ । नत्र भने जातीय विभेदका कारणले गर्दा जातीय युद्धहरु हुन सक्छन् । अहिलेको समयमा पनि जातीय विभेद देख्दा दुःख लाग्छ ।
अन्तरजातीय विवाहको निहुँमा जुम्ला तातोपानी ४ मा एक घर जल्यो, घरसंगै हजारौ मन जले । एक नव विवाहित जोडीको प्रेम, सपना र भविष्य जल्यो । घर जलेर खरानी भए पनि उनीहरुको मनमा कहिल्यै ननिभ्ने डडेलो लाग्यो ।
जातीय विभेदको अन्त्य गरौं । हामी मान्छे हौं, मान्छे भएकाले एकले अर्कालाई प्रेम गरौं, आदर सम्मान गरौं । जातीय भेदभावका कुरा मनैबाट हटाऔं । अब धनी होस्, चाहे गरिब होस्, मान्छे सबै एउटै हो । त सानो जातको म ठूलो जात भन्ने सोच हटाउनु पर्छ । हामी मानव हौं मानव भएर जिउन सिकौं, दानव झैं व्यवहार नगरौं । उही पुरानै कुसंस्कार र कुरितिहरुलाई हटाएर सबैलाई सम्मान दिने वातावरण र संस्कारको विकासमा लाग्नु पर्छ । यस्ता किसिमका भेदभाव र छुवाछूत न्यूनीकरण गर्न राज्यले विशेष कानुनहरु निर्माण गर्नुपर्छ र बनिसकेका कानुनहरुको निष्पक्ष ढंगबाट पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ । कानुनको उल्लंघन भै जातीय भेदभाव सम्बन्धि कुनै पनि घटना समाजमा देखापरे ब्यक्ति ,समाज र राष्ट्र एकजुट बनि लाग्नुपर्दछ ।
अनि मात्र जातमा घमण्ड गर्नेहरुलाई व्यवहारमा हामीले गतिलो झापट लगाउन सक्छौ । यस्ता अपराध प्रति विषयगत निकायको ध्यानाकर्षण भई कानूनी उपचारको तत्काल ब्यबस्था हुन जरुरी छ । विश्व कहाँबाट कहाँ पुगिसक्यो तरपनि हाम्रो नेपाली समाजका मानिसहरुको सोचमा कुनै परिवर्तन आउन सकेको छैन । आखिर किन हुन्छ मानिस–मानिस बीचमा विभेद ? कहिलेसम्म ?
लाग्छ जब सम्म प्रत्येक जाती, धर्म वर्णका मानिसहरुको लागि मन्दिरका तालाहरु खोलिदैनन्, पानी पधेँरोमा समानता ल्याईदैन, काममा श्रमको सम्मान गरिदैन तबसम्म यो भेदभावको अन्त्य हुदैन । यि जातीय भेदभाव र छुवाछूत दलित मात्रको मुद्दा होईन,यो एउटा सिङ्गो समाजको मुद्धा हो । यसकारण समाजमा बस्ने हामी सबै लागेर यो जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नु पर्छ । यस्ता विभन्न घटनाहरुले गर्दा कयौ गरिब, अशिक्षित, दविएका र अन्यायमा परेका दलित परिवारमा जन्मिएका ब्यक्तिहरुले यसरी दलित भएर बाँच्नु भन्दा त बरु नजन्मिएकै भए बेस भन्दै सोच्न बाध्य हुन पुगेका छन् । मान्छेलाई मान्छे जसरी व्यवहार गरियोस् । बोलिमा मात्र नभएर व्यवहारमा पनि जातीय विभेदको अन्त्य गरियोस् ।
जातीय भेदभाव र छुवाछुत पुर्ण रुपमा अन्त्य गर्नका लागि जातको बिनास अनिवार्य छ । यही जातीय विभेदका कारण हो जातीय भेदभाव जस्ता कुप्रथाको अन्त्य हुन नसकेको । यस्तो कुकार्यमा संलग्न हँु हुने कोहीलाई कडा भन्दा कारबाही गरिनुपर्छ । कस्तो समाज, कस्तो सोच हामी अझै कति पिछडिएका छौं भन्ने उदाहरण कसैको पसिनाले कमाइले बनाएको घरलाई आगो लगाउन कसरी हात उठायो होला, दलित भएकै कारणले उसले कथित उच्च जातका भनिएका चेलीबेटीसँग माया प्रेम गर्न नपाइने हो भने यदि उसले माया प्रेम गरे वापत उसको घर जलाउने, समाज देखि भाग्नु पर्ने हो भने यो लोकतान्त्रिक गणतन्त आएपछि घोषणा गरेको संबिधानलाई खरानी बनाउनु बाहेक अर्काे विकल्प नै छैन ।
स्कुलमा सामाजिक शिक्षा पढाउने शिक्षक होस वा शिक्षिका जसले पनि समाजमा जातीय विभेद गर्नुहुदैन भन्छन् । तर जब आफुलाई सो घटना घट्छ तब यो हाम्रो पुर्खौ देखि चलि आएको चलन हो भनेर जातजातिका नाममा बिभेद गर्छन । यसरी विभेद केहो भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । यो मानव जगतमा सबैले मान्छे बनेर बाँच्न पाउनुपर्छ । सर्बप्रथम मानिस उसको सोच बिचार व्यबहारले मात्र फरक देखिने हो अन्य कुराले होइन भन्ने ज्ञानको बोध हुनुपर्छ अनि मात्र यस्ता कुकर्महरु समाजमा अन्त्य हुन्छन् ।
नेपालको संविधानले पनि छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको छ । जातीय विभेद कसुर सजाए ऐन २०६८ ले पनि त्यसलाई निषेध गरेको छ । हुन त दलित समुदायको ठुलो आन्दोलन पछि मात्र नेपालमा यो कानुनहरु आएका हुन् । तर कानुन आउनु मात्र ठुलो कुरा होइन, त्यसको कार्यान्वयनको पाटो पनि बलियो हुन जरुरी छ ।
यस्ता कानुनहरुको कार्यान्वयन नहुनु खाली दलितको मात्र समस्या होइन, यो त केवल सिङ्गो राष्ट्रको र समाजको पनि समस्या हो । नेपालमा राजनितिक परिवर्तन, राज्य संरचना र व्यवस्थाहरुमा थुप्रै परिवर्तन भएको देखिन्छ । तर समाजको चरित्र र मानसिकतालाई परिवर्तन गर्न सकिएको छैन भन्ने कुराको पुष्टि दलित माथी भएको जातीय भेदभाव, अन्याय र अत्याचारले प्रष्ट देखाउँछ । नेपाललाई जातीय विभेद मुक्त राष्ट्र घोषणा गरिएको २०६३ जेठ २१ नेपालका दलित समुदायका लागि एक ऐतिहासिक दिन थियो तर कार्यान्वयन हुन सकिरहेको छैन ।