हरेक सहरका कथा हुन्छन । सहरका कथा भन्ने बक्ता हुन्छन । त्यस्तै एकपात्र हुन महाजन गुप्ता । उनको नजरबाट कोहलपुरको कथा सुन्नुको मज्जा बेग्लै छ ।
म बितेका तेत्तीस बर्षदेखी उनलाई देखिरहेको छु । मैले देख्दा कोहलपुरमा उनको साईकल पसल थियो । अक्सर मानिसहरु सुनाउथे, उनी राम्रा मिस्री थिए । महाजन जत्तिको सिपालु साईकल मिस्री कोहलपुरमा अर्को कोहि छैन भन्थे । उनको घुम्टीमा मानिसहरु बिहान साईकल छोडेर जान्थे । फर्किँदा उनले साईकल बनाएर राखिदिएका हुन्थे ।
कसैसँग साईकल हुनु प्रतिष्ठाको बिषय मानिने जमानामा एउटा राम्रो साईकल बनाउने कालिगडको बेग्लै महत्व हुनु स्वभाविकै हुन्थ्यो ।
उनको घुम्टिको छानोमा माईक हुन्थ्यो । घुम्टिभित्र बेट्री र लाउड स्पिकर हुन्थ्यो । उनि लैला मजनु टाईपका गित सुन्दै काम गर्थे ।
महाजन गुप्ता कुनै बेला महाजन थिए । कुमारी गुप्तालाई उनले पिपरा कपुरबाटै दोस्री श्रीमतीको रुपमा भित्र्याएका हुन । उनिहरुको जोडि लैला मजनु झैँ थियो ।
महाजनले श्रीमतीलाई साईकलको डन्डिमा राखेर कैयौंपटक नेपालगन्ज रुपैईडिहा बहराईच सम्म पुर्याउथे ।
बुढाबुढिको झगडा परालको आगो भन्छन । उनिहरु मिल्नलाई झगडा गर्थे या झगडा गर्नलाई मिल्थे, कसैले मेसो पाउदैनथे । न मिल्न बेर लाग्थ्यो न झगडिन समय लाग्थ्यो । उनिहरुका झगडा कैयौंपटक सडकमै छताछुल्ल पोखिन्थे । उनिहरुको सम्बन्धमा डेलिको झगडा , डेलिको मेलमिलाप सामान्य मानिन्थ्यो ।
जिन्दगी जिउन उनले अनेक कर्म गरे ? सामान लिन एकदिन रुपैईडिहा जान्थे । अर्को दिन त्यहि सामान बेच्न गाउँ पुग्थे । यसक्रममा उनि कहिले कचनापुर पुग्थे, कहिले ढकेरी पुग्थे । कहिले शम्शेरगन्ज त कहिले मदुई पुग्थे । आलु, प्याज, नुन सँग अनाज साट्थे ।
उनी गज्जबका साईकल चालक थिए । उनले साईकल कुदाएका अनेकन स्मृतिहरु कोहलपुरका मानिसहरुका स्मृतिमा ताजै छन ।
महाजन गुप्ता पछिल्लो समय पिउने मामलामा अलिक बदनाम छन ।
हिँजोआज बजारमा कवाड बटुल्दै हिँडेका देखिन्छन । उनकि श्रीमती कुमारी गुप्ता साईकलमा तरकारी डुलाउदै बेचिरहेकी देखिन्छिन् ।
जिन्दगी भन्नू बाँचुन्जेललाई मात्र हो । ज्यानमा श्वास रहुन्जेल बाँच्ने आश रहन्छ ।
साँच्चै हो रहेछ , पढेको मान्छेले भन्दापनि जिन्दगी सँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन् पनि ।