उनी वेतबाँसबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको धारणा राख्नुहुन्छ । नगरप्रमुख डगौंरा भन्छन्, ‘हामीले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएका छौँ । यसले हाम्रो कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रचारप्रसारमा ठूलो सन्देश दिएको छ ।’ ‘कामदारलाई कामका आधारमा पारिश्रमिक दिने गरेको छु । एक जनाले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्ने गर्दछन्’, विश्वकर्माले सुनाए । वेतबाँसका फर्निचर बनाउन आवश्यक पर्ने कच्चापदार्थ टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ । २५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वनका रूपमा परिचित छ । वि.सं २०५१ देखि संरक्षण गर्न थालिएको वेत कटानबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गर्ने गरिएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए । यसले स्थानीय समुदायको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले सुनाए । वेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म वेत काट्ने गरिन्छ । वेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १० का दरले पारिश्रमिक पाउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए । त्यस अवधिमा एक जनाले दैनिक रु एक हजारदेखि दुई हजारसम्म कमाउने गरेको उनको भनाइ छ । वेत चारदेखि पाँच वर्षमा तयार हुने गर्छ । स्थानीय र बाह्य बजारमा समेत वेतबाँसबाट उत्पादित सामग्रीको उच्च माग भएकाले सामुुदायिक वनले विगतदेखि नै वेतको संरक्षण र सदुपयोग गर्दै आएको छ । ‘हामीले सुरुदेखि नै वेत संरक्षण गरिरहेका छौँ । पछिल्लो समय टीकापुरलगायत पालिकाले वेतबाँसका सामग्रीलाई प्रोत्साहन गरिरहेका छन् । यसले संरक्षण प्रयासमा सकारात्मक योगदान पुगेको छ’, अध्यक्ष चौधरीले भने । नगरपालिकाले स्थानीय वेतबाँसबाट उत्पादित फर्निचरलाई प्राथमिकता दिई प्रयोगमा ल्याएकामा आफूहरू उत्साहित भएको वेतबाँस फर्निचर उद्योग सञ्चालक विक बताउँछन् । टीकापुर नगरपालिकाले वडा नं ७ मा समेत वेतबाँसबाट बनेका फर्निचरलाई प्राथमिकता दिएको छ । नगरपालिका स्थानीय सीप र उत्पादन प्रवर्द्धनका लागि प्रमुख अभिभावक पनि भएकाले आगामी दिनमा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइने नगरप्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।











