नेपालगञ्ज । प्रविधिमा आधारित नवीन सोच, सिर्जनशीलता र समस्या समाधान गर्ने सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा तीनदिने ‘ह्याकफेस्ट २०२६’ ह्याकाथन कार्यक्रम आयोजना हुने भएको छ।
Cyberium Technologies Pvt. Ltd. को आयोजनामा आगामी २०८३ साल पुस ९ देखि ११ गतेसम्म लुम्बिनी प्राविधिक विश्वविद्यालय (LTU), नेपालगञ्जमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
ह्याकाथनमा विद्यार्थी, युवा डेभलपर तथा प्रविधिमा रुचि राख्ने युवाहरूले समूह बनाएर सहभागिता जनाउनेछन्। सहभागीहरूले समाजमा देखिएका विभिन्न वास्तविक समस्याहरूको पहिचान गरी प्रविधिको प्रयोगमार्फत नवीन तथा व्यावहारिक समाधान विकास गर्ने अवसर पाउनेछन्।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीहरूले आफ्ना प्रारम्भिक अवधारणालाई परियोजनाका रूपमा विकास गर्ने, प्राविधिक मार्गदर्शन तथा सहयोग प्राप्त गर्ने र अन्तिम चरणमा तयार पारिएका परियोजना निर्णायकहरूसमक्ष प्रस्तुत गर्नेछन्।
कार्यक्रमको मुख्य उद्देश्य युवाहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै नवप्रवर्तन, सिर्जनशीलता, सहकार्य र समस्या समाधान गर्ने सीपको विकास गर्नु रहेको छ। साथै, युवाहरूमा रहेका नवीन विचारलाई व्यावहारिक परियोजना तथा प्रविधिमा आधारित समाधानका रूपमा रूपान्तरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
युवा पुस्तालाई प्रविधिको क्षेत्रमा सिर्जनात्मक रूपमा अघि बढ्न, नयाँ सम्भावनाको खोजी गर्न र समाजका समस्याको समाधानमा योगदान दिन प्रेरित गर्ने ह्याकफेस्ट २०२६ ले नेपालगञ्जमा प्रविधि तथा नवप्रवर्तनको वातावरण विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।









