नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा आइतबार बाँकेको नेपालगञ्जमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा सन् २०२६ लाई दिगो विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक वर्षका रूपमा मनाउने सन्दर्भमा विश्वव्यापी रूपमा सञ्चालन भइरहेको ‘क्लिन वर्ल्ड अभियान’ (Clean WORLD Movement) अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा करिब १५० जना स्वयंसेवकको सहभागिता रहेको थियो।

रत्न राजमार्गअन्तर्गत धम्बोझी चोकबाट सुरु भएको सरसफाइ अभियान कारकाँदो चोकसम्म करिब १.५ किलोमिटर सडक क्षेत्र आसपास सञ्चालन गरिएको थियो। अभियानका क्रममा सडक तथा आसपासका क्षेत्रमा सरसफाइ गर्नुका साथै वातावरण संरक्षण र फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गरिएको थियो।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले गरेका थिए। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य तथा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री अहिरले वातावरण सरसफाइ अरूका लागि नभई आफ्नै स्वास्थ्य र जीवनका लागि आवश्यक रहेको बताए। वातावरण सफा भएमा मात्रै नागरिक स्वस्थ रहन सक्ने उल्लेख गर्दै उनले सरसफाइलाई प्रत्येक नागरिकले आफ्नो दायित्वका रूपमा लिनुपर्ने धारणा राखे। अभियानमा निःस्वार्थ भावले सहभागी भएका स्वयंसेवकप्रति आभार व्यक्त गर्दै उनले यस्ता अभियानले नागरिकमा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरे।

संयुक्त राष्ट्रसंघले सन् १९८५ देखि हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ। स्वयंसेवकहरूले समाज र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको सम्मान गर्नु, स्वयंसेवी भावनाको प्रवर्द्धन गर्नु तथा सरकार र नागरिक समाजबीच सहकार्य अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो।

यसै सन्दर्भमा सञ्चालन गरिएको क्लिन वर्ल्ड अभियानले वातावरण संरक्षण, सरसफाइ र दिगो विकासका लागि नागरिक सहभागिताको महत्त्वलाई उजागर गरेको आयोजकले जनाएको छ। पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगञ्जलाई सफा, सुन्दर तथा प्लास्टिकमुक्त बनाउने उद्देश्यले स्थानीय सरकार, प्रशासन र समुदायसँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।

‘आमाको प्रेमलाई विश्वभर बाँडौँ’ भन्ने मूल मन्त्रका साथ मानवीय सेवा तथा वातावरण संरक्षणमा क्रियाशील अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले विश्वका विभिन्न स्थानमा क्लिन वर्ल्ड अभियान सञ्चालन गर्दै आएको छ। अभियानले वातावरणीय स्वयंसेवालाई प्रोत्साहन गर्दै स्थानीय तहमा सरसफाइ तथा वातावरण संरक्षणका गतिविधिलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

  • ७ मंसिर २०८३, आईतवार प्रकाशित

  • Nabintech