नेपालगञ्ज/मंसिर ०७
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का एक सय महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ ।
एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो ।

महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्रि भएको किट व्याग प्रदान गरिएको हो ।
सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले महिलाहरुलाई अति आवश्यक स्वास्थ्य सामाग्रि प्रदान गर्नु महत्वपूर्ण रहेको बताए ।
महिलाहरुको स्वास्थ्यमा योगदान पुर्याउने हेतुले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड सहितको सामाग्रि प्रदान गरि बासले सामुदायिक महिलाहरुका लागि ठूला योगदान पुर्याएको उनले बताए ।

उनले पालिकाहरुबाट बर्षेनि सेनेटरी प्याड बितरणका नाममा लाखौं रकम खर्च गरेको उल्लेख गर्दै एक पटक लगानी गरेर लामो समय प्रयोग गर्न मिल्ने गुणस्तरिय कपडाको प्याड बितरणका लागि आगामी दिनमा सबै पालिकाहरुसँग छलफल गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले वडा नम्वर ७ का बादी समुदायका महिला र पछाडी पारिएका, परेका बर्गका महिलाहरुको उत्थानका लागि फ्रिडम व्याग प्रदान हुनु अत्यन्तै सकारात्मक रहेको बताए ।
महिलाहरुको स्वास्थ्यका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी हुने धारणा उनले राखे ।
कार्यक्रममा वडा सदस्य नुर अहमद, कल्पना नेपाली, बास नेपालका केन्द्रीय सदस्य द्वय बसन्ती रोकाय र बब्लु शेष लगायतको उपस्थिती थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले वडाको बिभिन्न टोलका बादी, मुस्लिम, मधेशी लगायतका किशोरी, महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरेका थिए ।
कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए ।

फ्रिडम किट व्याग प्राप्त गरिसकेपछि प्रतिकृया दिदै सहभागिहरुले खुशी व्यक्त गर्दै महिनावारी स्वच्छदाका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी भएको बताए ।
के हो फ्रिडम किट व्याग भनेको ?
महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड ईन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर प्रुफ पर्स लगायत पेन्टि, साबुन रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भईरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको छ । यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्न गर्दछ । पाटेघरको क्यान्सर र बाझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट व्याग्स उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ ।
पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार बर्ष सम्म नकुहिने, बाताबरण प्रदुषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग बाताबरण मैत्री छ ।
यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका ब्यक्तिहरुको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत बर्ग समुदायलाई प्राथमिकतामा राखेर बितरण निःशुल्क बितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा १५ सय पर्न जान्छ । जुन ३ बर्ष सम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।









