दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई सन्तानको मृत्यु, एक छोरा गम्भीर घाइते

असल शासन प्रतिनिधि

दैलेख /दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा आमा र दुई सन्तानको मृत्यु भएको छ भने एक छोरा गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ९ः३५ बजे स्थानीय ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मामाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चारै जनालाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु नगर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले बिहान ११ः१० बजे १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिस्मालाई मृत घोषणा गरेका थिए।

दुल्लु अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रेफर गरिएका मनिषाको दिउँसो २ः१० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते ६ वर्षीय छोरा मिलनको भने सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर दूरीमा रहेको घटनास्थलबाट बन्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

  • ६ मंसिर २०८३, शनिबार प्रकाशित

  • Nabintech